मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

होटल सुविधा र पदमार्गको व्यवस्थापनले अन्नपूर्ण प्रथम आधार शिविरमा बढ्यो पर्यटकीय आवागमन

images
मंगलबार, असार १० २०८२
images
images
होटल सुविधा र पदमार्गको व्यवस्थापनले अन्नपूर्ण प्रथम आधार शिविरमा बढ्यो पर्यटकीय आवागमन

हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्ड ताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन्।

images
images

म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ। हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो।

images
images
images

हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए। हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो।

images
images

अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन्। पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल, होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए।

images
images
images

उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए। 'यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ। हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे। यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन्। अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ', गुरुङले भने।

अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए।

उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन्। यो याममा ६ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए।

विगतका वर्षमा खाना र बस्नका लागि आफैले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आएका माइकल परियारले बताए।

'दुईदिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दुरीमा सडकको पहुँच विस्तार भएको छ। हुमखोलाबाट १६ किमी दुरीमा पदमार्ग बनाइएको छ। हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ', उनले भने।

पदमार्गको प्रवेशबिन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई/दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्ड ताल परिसरमा होटल सञ्चालन गर्नुभएका अजित सेञ्चुरीले बताए।

पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिकरूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे।

पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन्। हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्ड ताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन्।

पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासी बताउँछन्। रासस


प्रकाशित : मंगलबार, असार १० २०८२११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend