बागलुङ- जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर बगैँचाको काम थाल्ने भएको छ। सत्रौँ नगरसभा तथा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी भएको उल्लेख गरेका छन्।
बाँदरकै कारण किसानले बस्ती छाडेर हिँडेका, उत्पादकत्व घटेको र किसानले जमिन बाँझै छाड्न थालेपछि यो काम थाल्ने नीतिमा नगरपालिका पुगेको हो। वडा नंं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माणको काम थाल्ने नीतिमा उल्लेख छ।
वन ऐन, वन्यजन्तुसम्बन्धी कानूनले बाँदर बगैँचा निर्माणको काम रोकिएको छ। बाँदरलाई संघ सरकारले कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि बाँदर बगैँचा बनाएर किसानको बाली संरक्षण गर्ने जैमिनीको नीति आएको हो।
किसानलाई प्रोत्साहन गर्न जैमिनीले पशुपालनतर्फ बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ। दुग्धजन्य परिकारलाई मूल्य शृङ्खलामा जोडेर बन्द रहेका फार्म पनि सञ्चालनमा प्रोत्साहन गरिने भएको हो। त्यसका लागि ‘निःशुल्क नश्ल सुधार, दूध उत्पादनको आधार’ भन्ने नारा तय गरिएको छ। दूध उत्पादन र बिक्रीमा नगरपालिकाले अनुदान पनि दिने भएको हो।
कृषि क्षेत्रमा आर्कषण बढाउन र किसानलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ। सबै किसानलाई सूचीकरण गरेर परिचयपत्र दिने भएको हो। जैमिनीलाई सबै किसान सूचीकरण भएको पालिका बनाइने नररप्रमुखको नीतिमा उल्लेख छ।
'सेरा जाऔँ केरा खाऔँ'को निरन्तरतासहित सुन्तला पकेट, बाख्रा जोनलगायत कार्यक्रम सञ्चालन गर्ने पनि नीति कार्यक्रममा उल्लेख छ। कृषि र पशुपालनमा धेरै किसान जोडिएकाले उनीहरूलाई दिने प्राविधिक सीप, अनुदान र बजारीकरणका लागि किसान सूचीकरण आवश्यक भएको पुनको भनाइ छ।
किसानकै लागि नीतिमा सबैभन्दा धेरै बुँदा समावेश छन्। यसअनुसार अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको उनले बताए। हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बंगुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातको लागि तयारी बनाउने जैमिनीको योजना छ।
गत वर्ष नै सुरु गर्ने भनिएको कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीतिसमेत आएको छ। उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार गर्ने, पशुलाई खोप लगाउने, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनलाई बजार पठाउने काममा नगरले किसानलाई साथ दिने भएको हो।
परम्परागत बालीको उत्पादन बढाउने नीति पनि नगरको छ। सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरोलगायत उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ।
शिक्षाको गुणस्तर बढाउन लिड स्कुलमार्फत पढाइ सञ्चालन गर्ने, सुत्केरी महिला, आकस्मिक बिरामी र जटिल दुर्घटनाका बिरामीलाई हेली उद्धार गर्न सबै वडामा हेलिप्याड बनाउने भएको हो। दश वडा रहेको जैमिनीमा अघिल्लो वर्ष नै तीनवटा वडामा पक्की हेलिप्याड बनाइएको छ।
छोरी जन्मेमा जन्मदर्ता गर्दा दुई हजार ५ सय रूपैयाँको खाता खोलिदिने नीति पनि नगरले ल्याएको छ। बजेटमा सुनिश्चितता गरेर उक्त नीति ल्याएको नगरउपप्रमुख हरिहर शर्माले बताए। १३ दिगो सडकलाई निरन्तरता दिने, बसपार्क निर्माण गरिने, अलपत्र परेको प्रशासकीय भवन सक्ने, सबै वडा कार्यालय निर्माण गरेर आफ्नै भवनबाट सेवा दिने नीति पनि लिइएको छ। रासस