काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहँदा नेपाली बजारमा पनि उकालोतिर लागिरहेको छ। मंगलबारको तुलनामा आज बुधबार सुन तोलामा ९ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ रहेको छ। यसअघि गएको बैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।
यस्तै बुधबार चाँदी प्रतितोला २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
*यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्य अंक फरक परेकाले सच्याइएको