बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

एनसेल फाउन्डेसनसँगको सहकार्यमा सातै प्रदेशमा आईसीटी ज्ञान सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३ २०८२
एनसेल फाउन्डेसनसँगको सहकार्यमा सातै प्रदेशमा आईसीटी ज्ञान सम्पन्न

काठमाडौं- आईसीटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त सहकार्यमा सातै प्रदेशमा आईसीटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ। 

सातै प्रदेशमा डिजिटल साक्षरता फैलाउने उद्देश्यले गत जेठ १६ गतेदेखि डिजिटल साक्षरतामूलक कार्यक्रम आईसीटी ज्ञान सुरू भएको थियो। 

सातै प्रदेशका विभिन्न ठाउँमा आयोजना भएको कार्यक्रममा डिजिटल साक्षरता कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विज्ञ, स्थानीय लगायत २ हजार बढीको सहभागीता रहेको थियो। 

कार्यक्रम कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सर्लाही, बागमतीको दोलाखा, गण्डकीको स्याङ्जा, लुम्बिनीको प्युठान, कर्णालीको सल्यान र सुदूरपश्चिमको कैलालीमा आईसीटी ज्ञान सञ्चालन भएको थियो।

कार्यक्रममा ओटीपी कोड सेयर गर्नु नहुने, जुन पायो त्यही मोबाइल एप चलाउन नहुने, वेबसाइट आधिकारिक हो कि होइन यकिन गर्नुपर्ने, कसैले भनेको वा सोधेको आधारमा आफ्नो विवरण सेयर नगर्ने, फ्री वाईफाई प्रयोग गरेर डिजिटल कारोबार नगर्ने, विशेष क्यारेक्टरको प्रयोग गरेर सजिलै अनुमान गर्न नसकिने पासवर्ड राख्ने, बेला बेला पासवर्ड परिवर्तन गर्ने, अकाउन्टहरूमा टु फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने, नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य परिचय खुल्ने विवरण सामाजिक सञ्जालमा सेयर नगर्ने, आफ्नो नामको मोबाइल नम्बर प्रयोग गर्ने जस्ता साक्षरता प्रदान गरिएको थियो। 

साक्षरता कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा स्थानीय जनप्रतिनिधिहरूले पनि अझै धेरै ठाउँमा यस्ता डिजिटल साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए।

प्रविधिको विकास र विस्तारसँगै डिजिटल साक्षरतामा देखिएको खाडँललाई कम गर्न एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आईसीटी ज्ञान सुरू गरिएको थियो। 

सुगमदेखि गाउँगाउँसम्म डिजिटल साक्षरता फैलाउन प्रदेशस्तरीय कार्यक्रमको रूपमा आयोजना भएको आईसीटी ज्ञानमा साइबर सुरक्षा, डिजिटल टुल, विद्युतीय सुशासन, वित्तीय प्रविधि जस्ता विषयमा विषय विज्ञले साक्षरता प्रदान गरेका थिए भने त्यसको बारेमा अभ्यास समेत गराइएको थियो। 

आईसीटी ज्ञान कार्यक्रमले डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। 


प्रकाशित : मंगलबार, असार ३ २०८२१४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend