शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कर्णाली प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट : आयोजनामा नयाँ विधि, पुँजीगत खर्चमा प्राथमिकता

सोमबार, असार २ २०८२
कर्णाली प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट : आयोजनामा नयाँ विधि, पुँजीगत खर्चमा प्राथमिकता

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री राजीव विक्रम शाहले योजनाको छनोट प्रक्रिया सुधार गर्दै नयाँ विधि अपनाइएको घोषणा गरे।

प्रस्तावित बजेट चालु आर्थिक वर्षको तुलनामा करिब पाँच प्रतिशतले बढेको हो। कुल बजेटमध्ये ७ अर्ब ७९ करोड रुपैयाँ चालु खर्चतर्फ छुट्याइएको छ, जुन कुल बजेटको २३.६४ प्रतिशत हो।

पुँजीगत खर्चतर्फ भने १९ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ। जसले कूल बजेटको ६०.५५ प्रतिशत हिस्सा ओगटेको छ। यसबाहेक, वित्तीय व्यवस्थापनतर्फ ६१ करोड ५० लाख र स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ५९ करोड ९८ लाख रुपैयाँको व्यवस्था गरिएको छ।

बजेटका स्रोत पक्षमा कर्णालीले आन्तरिक आयबाट ९६ करोड ७४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। चालु वर्ष खर्च नभई बचत हुने रकमबाट ५ अर्ब ६९ करोड रुपैयाँ उपयोग गरिनेछ।

संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १० अर्ब २७ करोड र समानीकरण अनुदानमार्फत १० अर्ब ५६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड, समपुरक अनुदानबाट ५३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ४६ लाख रुपैयाँ स्रोत परिचालन गरिने योजना छ।

मन्त्री शाहले बजेट प्रस्तुत गर्दै कर्णालीको विशेष भौगोलिक अवस्था, विकासको आवश्यकता र स्रोतको सीमालाई ध्यानमा राख्दै योजनाहरू छनोट गरिएको उल्लेख गरे। उनले प्रभावकारी खर्च र पारदर्शिता कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरे। 


प्रकाशित : सोमबार, असार २ २०८२०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend