धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै सीमित स्रोतसाधनमा पनि प्रदेशको समग्र विकास र सेवा प्रवाहलाई सन्तुलनमा राख्ने प्रयास गरिएको बताए।
प्रस्तुत बजेटमा चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि १९ अर्ब ८३ करोड रुपैयाँको व्यवस्था गरिएको छ। चालु खर्चभन्दा करिब दोब्बर रकम पुँजीगत क्षेत्रमा छुट्याइएको यस पटकको बजेटले भौतिक पूर्वाधार र विकास निर्माणलाई प्राथमिकता दिएको बताए।
बजेटमा समेटिएका स्रोतहरू मध्ये सबैभन्दा ठूलो हिस्सा नेपाल सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडबाट आउने रकम रहेको छ। संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ९ अर्ब ८७ करोड र समानीकरण अनुदानमार्फत ८ अर्ब ९२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी चालु आर्थिक वर्षको बचत हुने भनिएको रकम ७ अर्ब ६६ करोड रुपैयाँ छ।
सशर्त अनुदानमार्फत प्राप्त हुने चार अर्ब रुपैयाँ, आन्तरिक राजस्व परिचालनबाट उठ्ने अनुमानित एक अर्ब ६५ लाख, संघीय समपुरक र विशेष अनुदान गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँले बाँकी आवश्यक खर्च पुर्याउने योजना बजेटमा उल्लेख गरिएको छ।
मन्त्री थापाले बजेट प्रस्तुत गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारी र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको जानकारी दिए। संघीय सरकारसँगको सहकार्य र सहजीकरणमार्फत पूर्वाधार विस्तार र सेवा प्रवाह सुदृढ बनाइने घोषणा समेत गरे।