तनहुँ- पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे) मार्फत पर्यटन प्रवर्द्धनमा जुटेका छन्।
प्रचारप्रासरको अभावमा म्याग्दे गाउँपालिका-६ स्थित मनपाङ गाउँ ओझेलमा परेपछि स्थानीय घरबास सञ्चालन गरी पर्यटकीय गतिविधिमार्फत् पर्यटन प्रवर्द्धनमा जुटेका हुन्। सुरुवाती चरणमा आठ वटा घरमा घरबास सञ्चालन गरिएको छ।
पृथ्वीराजमार्गस्थित थर्पुबाट २५ मिनेटको कच्ची बाटोमा यात्रा गरेपछि मनपाङ गाउँ पुगिन्छ। समुन्द्री सतहबाट एक हजार ५० मिटरमा उचाइमा अवस्थित मनपाङबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वीराजमार्गको सडक, सदरमुकामस्थित दमौली बजार, शुक्लागण्डकीका विभिन्न ठाउँका मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
गुरुङ बस्तीको मनपाङमा २० घर रहेकामा पहिलो चरणमा आठ वटाबाट घरबास सञ्चालनमा ल्याइएको मनपाङ सामुदायिक घरबासका अध्यक्ष सोनी गुरुङले जानकारी दिए। प्रर्यटनको सम्भावना भएर पनि ओझेलमा परेकाले प्रचारप्रसारसँगै घरबासमार्फत् आयआर्जन गर्ने उद्देश्यले पालिकाले प्रोत्साहन गरेपछि पहल थालिएको उनले बताए।
उनले भने, 'सहर र गाउँलाई जोड्न घरबास सञ्चालन गरेका छौँ। हालै सुरुवात भएकाले आन्तरिक पाहुना आउने क्रम भइरहेको छ। यहाँ पर्यटकीय पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धनका लागि पहल थाल्ने छौँ।'
गर्मीयाममा शितलताको अनुभवसँगै यहाँबाट देखिने दृश्यावलोकनले पाहुनालाई लोभ्याउने गरेको गुरुङले विश्वास व्यक्त गरे। उनले भने, 'यहाँबाट सुन्दर र रमणीय दृश्य देखिनुका साथै पर्यटकले स्थानीय परिकारका स्वादको अनुभूति पाउन सक्नुहुन्छ। सहरमा गर्मी हुँदा पनि मनपाङ गाउँ उक्लिएपछि शितलाको अनुभव लिन सकिन्छ।'
घरबासका सञ्चालक दिलबहादुर गुरुङले एक रात बसेको एक हजार २ सय रुपैयाँ निर्धारण गरिएको जानकारी दिए। उनका अनुसार राति आउने पाहुनालाई स्वागतसँगै गुन्द्रुक, भटमास, मकै दिने गरिएको छभने रातिको खाना, बास र बिहानको खाजाको व्यवस्था गरिएको छ। उनले भने, 'हामी घरबासलाई व्यवस्थित गर्दै पूर्वाधार थप्ने क्रममा छौँ। अहिले घरबासमा ३० जनाको क्षमता छ।'
म्याग्दे-६ का वडाध्यक्ष हिरालाल गुरुङले मनपाङ बाइसेचौबिसे राज्यको पालाको एउटा कोट भएकाले यसको प्रचारप्रसारसँगै प्रवर्द्धनका लागि पहल थालिएको बताए। उनले भने, 'यस ठाउँमा पर्यटक कसरी ल्याउने भनेर छलफल हुँदा घरबास उपयुक्त हुन्छ भन्ने लागेर सुरुवात गरेका छौँ। घरबास सञ्चालन गरेर यहाँ पाहुना भित्र्याउने र स्थानीयको आयआर्जन बढाउने तयारी गरिरहेका छौँ।'
मनपाङमा थानीमाई मन्दिर, कालभैरव मन्दिर छन्। धार्मिक रूपमा पनि यस ठाउँ प्रख्यात रहेको वडाध्यक्ष गुरुङको भनाइ छ। उनका अनुसार नवमीको दिनमा थानीमाई मन्दिरमा विशेष पूजा हुने गर्दछ। 'मनपाङबाट चारैतिरको दृश्य हेर्नका लागि तीन वटा दृश्यावलोकन बिन्दु बनाइएको छ। दृश्यावलोकन बिन्दुसम्म पुग्न ढुङ्गा छापेर पैदलबाटो निर्माण गरिएको छ', उनले भने।
मनपाङसम्म पुग्ने बाटो कच्ची भएकाले स्तरोन्नतिका लागि काम भइरहेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। पालिकाको समपुरक कोषबाट एक करोड बजेट विनियोजन गरी बाटोको स्तरोन्नति गरिरहेको उनको भनाइ छ।
उनले भने, 'मनपाङको सौन्दर्यताले पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालनमा ल्याएका छौँ। घरबाससँगै थप पर्यटन पूर्वाधार निर्माण गरेर यस ठाउँको प्रचारप्रसार र व्रवर्द्धनमा जुटेका हौँ।' रासस