काठमाडौं- खरिद मूल्य नै कम भएर आएको बीवाईडी डलफिनमा साइमेक्स इंक प्रालिले अहिलेसम्म मूल्य घटाएको छैन।
सामान्यत: ट्रेडिङ व्यवसायमा खरिद मूल्य नै घटेपछि त्यसको बिक्री मूल्य स्वतः घट्नु पर्ने हो। तर दुई महिनाभन्दा बढी समयदेखि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले डलफिनको उपभोक्ता मूल्य घटाएको छैन।
साइमेक्सले आयात गरेको मूल्य (सीआईएफ भ्यालु) को तुलनामा बिक्री मूल्य करिब ७ लाख रुपैयाँ घट्नु पर्ने देखिन्छ।
२०२५ को जनवरीमा साइमेक्स इंकले आयात गरेको बीवाईडी डलफिनको सीआईएफ मूल्य १ लाख १६ हजार ८ सय २८ युआन थियो भने मार्च र अप्रिलमा आएको सोही डलफिनको सीआईएफ मूल्य ९७ हजार ३ सय ७८ युआन छ।
७० किलोवाट मोटर पावरमा आयात भइरहेको बीवाईडी डलफिनको जनवरी र अप्रिलमा आयात भएको सीआईएफ मूल्य र त्यसको ल्यान्डिङ कस्ट हेरौँ-
२०२५ जनवरीमा आयात भएको डफिलनको लागत
सीआईएफ भ्यालु- १ लाख १६ हजार ८ सय २८ युआन
यसको नेपाली रुपैयाँ (प्रतियुआन १९ का दरले) मा मूल्य- २२ लाख १९ हजार ७ सय ३२
यसमा लाग्ने २० प्रतिशत भन्सार, अन्तःशुल्क, भ्याट र सडक मर्मत दस्तुरसमेत गर्दा डलफिनको मूल्य ३६ लाख ३४ हजार ५ सय २३ रुपैयाँ
यो मूल्यमा दर्ता शुल्क भन्सारदेखि काठमाडौंसम्म आउने ट्रान्जिन इन्स्योरेन्स, भन्सारबाट ल्याउने लागत र क्लियरिङ शुल्क र अन्य शुल्कसमेत गरेर ९३ हजार ५ सय खर्च
सबै खर्च जोडेर भन्सारको ल्यान्डिङ कस्टमा ९३ हजार ५ सय जोड्दा भ्याटसमेत डलफिनको कुल लागत ३७ लाख २८ हजार २३ रुपैयाँ
कुल मार्जिन- ३ लाख ८६ हजार ९ सय ७७ रुपैयाँ
अधिकतम खुद्रा बिक्री मूल्य- ४१ लाख १५ हजार रुपैयाँ
लागतमा ग्रस नाफा- १० प्रतिशत
एमआरपीमा ग्रस नाफा- ९ प्रतिशत
२०२५ अप्रिलमा आयात भएको डलफिनको लागत
सीआईएफ भ्यालु- ९७ हजार २ सय ७८ युआन
यसको नेपाली रुपैयाँ (प्रतियुआन १९ का दरले) मा मूल्य- १८ लाख ५० हजार १ सय ८२
यसमा लाग्ने २० प्रतिशत भन्सार, अन्तःशुल्क, भ्याट र सडक मर्मत दस्तुरसमेत गर्दा डलफिनको मूल्य ३० लाख २९ हजार ४ सय ३३ रुपैयाँ
यो मूल्यमा दर्ता शुल्क भन्सारदेखि काठमाडौंसम्म आउने ट्रान्जिन इन्स्योरेन्स, भन्सारबाट ल्याउने लागत र क्लियरिङ शुल्क र अन्य शुल्कसमेत गरेर ९३ हजार ५ सय रुपैयाँ
सबै खर्च जोडेर भन्सारको ल्यान्डिङ कस्टमा ९३ हजार ५ सय जोड्दा भ्याटसमेत डलफिनको कुल लागत ३१ लाख २२ हजार ९ सय ३३ रुपैयाँ
कुल मार्जिन- ९ लाख ९२ हजार ६७ रुपैयाँ
अधिकतम खुद्रा बिक्री मूल्य- ४१ लाख १५ हजार रुपैयाँ
लागतमा ग्रस नाफा- ३२ प्रतिशत
एमआरपीमा ग्रस नाफा- २४ प्रतिशत
बीवाईडी बिक्रेता साइमेक्स इंकले खरिद मूल्य नै १७ प्रतिशत घटेर आउँदासमेत नेपाली बजारमा उपभोक्ता मूल्य समायोजन गरेको छैन। यसको सोझो अर्थ सरकारबाट पाएको कर सहुलियत उपभोक्तामा हस्तान्तरण नहुनु हो।
वातावरणमा योगदान गरेको दाबी गर्दै प्रचारमा उत्रिएको बीवाईडी बिक्रेता साइमेक्स इंकले उपभोक्ताबाट भने चर्को नाफा असुल गरिरहेको छ। बीवाईडीको डलफिनमा खर्च गणना गर्दा उपभोक्तालाई दिइने एसी चार्जरको लागत ४० हजार रुपैयाँसमेत जोडिएको छ।
२०२५ जनवरीमा आएको बीवाईडी डलफिनको सबै खर्चसहितको ल्यान्डिङ कस्ट भ्याटसमेत ३७ लाख २८ हजार २३ रुपैयाँ र अप्रिलमा आयात भएको डलफिनको सबै खर्च र भ्याटसमेको ल्यान्डिङ कस्ट ३१ लाख २२ हजार ९ सय ३३ रुपैयाँ रहेको छ। दुई महिनाको अन्तरमा आएको एकै स्पेकका बीवाईडी डलफिनको ल्यान्डिङ कस्ट र एमआरपीबीचको अन्तर निक्कै धेरै रहेको छ।
जनवरीमा आएको ल्यान्डिङ र एमआरपीबीचको अन्तर ३ लाख ८६ हजार ९ सय ७७ रुपैयाँ छ भने अप्रिलमा आएको डलफिनमा ल्यान्डिङ र एमआरपीबीच ९ लाख ९२ हजार ६७ रुपैयाँ फरक रहेको छ।
यसरी हेर्दा जनवरीमा आएको डलफिनमा साइमेक्सले ३ लाख ८६ हजार ९ सय ७७ मुनाफा आर्जन गरेकोमा अप्रिलमा आयात भएको डलफिनमा ९ लाख ९२ हजार ६७ रुपैयाँ मुनाफा गरिरहेको छ। जनवरीमा आयात गरेको डलफिनमा लागतको १० प्रतिशत नाफा रहेकोमा अप्रिलमा आयात भएको डलफिलनमा लागतको ३२ प्रतिशत नाफा पाइरहेको छ। यो अवस्थामा पनि साइमेक्सले उपभोक्ता मूल्य घटाएको छैन।
यसरी सरकारबाट पाएको कर सहुलियत उपभोक्तामा हस्तान्तरण नहुँदा भन्सार विभाग र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले आवश्यक कदम चाल्नुपर्ने हो। तर हालसम्म यसबारेमा दुवै निकायले कुनै कदम चालेका छैनन्।
साइकेक्स इंकले २०१९ मा बीवाईडी ईसिक्स आयात दर्ता पनि बदमासी गरेको थियो। १० हजार डलरमा ईसिक्स खरिद गरेर ५० लाख रुपैयाँमा बिक्री गरेको थियो। यसबारेमा बिजनेस न्युजले श्रृंखलाबद्ध समाचार प्रकाशित गरेको थियो। परिणामतः भन्सार विभागअन्तर्गतको भन्सार जाँचपास परीक्षण कार्यालयले बीवाईडी बिक्रेता साइमेक्स इंकलाई १ करोड १२ लाख रुपैयाँ करछली भएको ठहर गरेको थियो।
त्यसविरुद्ध साइमेक्स इंक राजस्व न्यायाधीकरण पुगेको थियो। राजस्व न्यायाधीकरणबाट पनि साइमेक्सले मुद्दा हारेको थियो। केही उल्टी हुने फैसला आएपछि भन्सार जाँचपास परीक्षण कार्यालय सर्वोच्च अदालत पुगेको छ।
यसका साथै साइमेक्सले ५६ लाख रुपैयाँको बीवाईडी एटो थ्रीको मर्मत खर्च ५० लाख रुपैयाँ लागत उपभोक्तालाई थमाएको थियो। स्पेयर पार्ट्सको मूल्य चर्को तोकेर इन्स्योरेन्स कम्पनीलाई प्रभावित पार्नेगरी साइमेक्सले काम गरिरहेको छ।
साइमेक्स इंकले २०८१ को बजेटअघि आयात गरेको बीवाईडी एटो थ्रीको स्टक अझै क्लियर गर्न सकेको छैन। सोही स्टक कभर गर्नका लागि चीनबाट आउँदा नै मूल्य घटेर आएको डलफिनको मूल्य समायोजन नगरिएको आशंका धेरैले गरेका छन्।
यस्तो हो भने गत वर्ष नै राजस्व गुमाएको सरकारले यो वर्ष डलफिनमा पनि राजस्व गुमाइरहेको छ। कम मूल्यमा आयातकर्ता साइमेक्सले ल्याएको गाडीलाई उपभोक्ताले भने बढी मूल्य तिर्नुपरिरहेको छ।
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्