काठमाडौं- नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला ३ हजार रूपैयाँले वृद्धि भएको छ। शुक्रबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता आइतबार तोलामा तीनसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले घटेको थियो। मंगलबार सुनको मूल्य दुई हजार रूपैयाँले घटेको थियो भने बुधबार प्रतितोला ५ सय रूपैयाँले वृद्धि भएको थियो।
बिहीबार पुन: सुनको मूल्य ३ हजार ५ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ८१ हजार ८ सय रूपैयाँ कायम भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ। महासंघका अनुसार शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँ तोकिएको छ।
यो साता बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको थियो।