आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

भूमिहीन भएको चार दशकपछि १२० परिवारलाई लालपुर्जा वितरण

images
बिहीबार , जेठ १ २०८२
images
images
भूमिहीन भएको चार दशकपछि  १२० परिवारलाई  लालपुर्जा वितरण

पुस्तौँदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएको कोहलपुर नगरपालिका-१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले बताए।

images
images

बाँके- पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ। ४४ वर्षदेखि भूमिहीन अवस्थामा रहेका कोहलपुर नगरपालिका-१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा प्राप्त गरेपछि जीवनमा पहिलोपटक धेरै खुसी लागेको बताए।

images
images

‘सरकारले लालपुर्जा दिएर हाम्रो आत्मलाई खुसी बनाएको छ, अब मर्दा पनि सुखले स्वास जाने भयो’ उनले भने। कोहलपुर नगरपालिका-१ का १२० भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत प्रतिपरिवार ३४० वर्गमिटर अर्थात् करिब एक कट्ठा जमिनको जग्गाधनी पुर्जा वितरण गरिएको हाे।

images
images

स्थानीय लक्ष्मीबहादुर महतले पहिले भूमिहीन सुकुम्वासीका रूपमा रहेको आफ्नो पहिचान अब फेरिएको भन्दै खुसी व्यक्त गरे। ‘लामो समयसम्म भूमिहीन अवस्थामा थियौँ, अब जग्गा धनी भएका छौँ। हाम्रो लागि यो निकै खुसीको कुरा हो’ उनले भने, ‘सरकारले गरिबको पक्षमा काम गरेको अनुभूति भएको छ, सरकारले हाम्रो वर्षौंदेखिको माग पूरा गरेको छ। निकै हर्षित छौँ।’ 

images
images
images

पुस्तौँदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएको कोहलपुर नगरपालिका-१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले बताए। भूमिहीन वडावासीलाई लालपुर्जा वितरण गर्न पाउँदा आफूलाई समेत खुसी लागेको भन्दै उनले वडाका सबै भूमिहीन सुकुम्वासीलाई क्रमशः लालपुर्जा वितरण गर्नेगरी पहल भएको जानकारी दिए

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लामै पहिलोपटक कोहलपुर नगरपालिका-१ क्षेत्रका भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिएको बताए। उनका अनुसार वर्तमान सरकार गठनपछि बनेको भूमि समस्या समाधान आयोगमार्फत लुम्बिनी प्रदेशमै पहिलोपटक यहाँ लालपुर्जा वितरण गरिएको हो।

समग्र देशभरकै हिसाबमा बाँके चौथो जिल्ला हो। प्रदेशअन्तर्गत लुम्बिनी प्रदेशको पहिलो जिल्ला बाँके र बाँकेमा भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने पहिलो स्थानीय तह कोहलपुर बनेको छ। अध्यक्ष खनालले जेठको दोस्रो सातासम्म विभिन्न स्थानीय तहका थप ९३६ जनालाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको जानकारी दिए।

‘कोहलपुर नगरपालिका-२, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका-१९ र २०, राप्तीसोनारी गाउँपालिका-७ र वैजनाथ-६ मा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने तयारी भएको छ’ उनी भन्छन्, ‘हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ। आगामी असारभित्र ६ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य छ।’ रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend