काठमाडौं- कुमारी बैंक लिमिटेडको अगुवाइमा ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ।
गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी आयोजनामा बुधबार लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाख रूपैयाँको संयुक्त लगानीमा आयोजना निमार्ण हुनेगरी ऋण सम्झौता सम्पन्न भएको हो।
स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ। साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताएका छन्। यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेडमार्फत २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेको छ।
आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० कात्तिक १ गते विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भइ व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) २०८६ बैशाख २२ रहेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताएका छन्।
आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेसनमा २२०/१३२ केभीमा जोडिने छ।