सिन्धुपालचोक- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलामा आएको बाढीपीडितहरुको राहत तथा खोलाको तटबन्धको लागि ठेक्का आह्वान हुने भएको छ। उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वर्षायाम सुरु हुनु अगावै काम गर्नका लागि १६ करोड रकम बराबरको व्यवस्था गरी तत्काल ठेक्का खोल्न निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतको आग्रहमा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा मन्त्री खड्का बैशाख २९ गते सिन्धुपाल्चोक पुगेका थिए। उनीसहित राज्यमन्त्री खमबहादुर गर्वुजा, सिँचाई सचिव सरिता दवाडी, सिँचाई विभागका महानिर्देशक सन्जिव बराल, उपमहानिर्देशक सन्तोष कैनीलगायतको टोली पुगेको थियो।
२०७८ असार १ मा गएको विनाशकारी बाढी पछि मेलम्ची र हेलम्बु क्षेत्र मुख्य प्रताडित बनेको छ। बाढीले सिपाघाटसम्म क्षति पुर्याएको थियो। प्रधानमन्त्री, खानेपानी मन्त्रीदेखि भौतिक मन्त्रीहरु पटक-पटक मेलम्ची पुगेपनि कुनै काम हुन सकेको थिएन। तर, पहिलो पटक स्थलगत अवलोकनमा पुगेका ऊर्जामन्त्री खड्काले तत्काल वर्षायामबाट हुने क्षति रोक्न तत्काल १६ करोड बराबरको ठेक्का लगाएर काम गर्न निर्देशन दिएका हुन्।
सिँचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीले बाढी प्रभावित क्षेत्रमा तत्काल काम गर्न मन्त्रीले दिएको निर्देशन अनुसार केही दिनभित्रै १६ करोडको ठेक्का खोल्ने जनाएका छन्। सांसद मोहनबहादुर बस्नेतले मन्त्री खड्का जनताको पक्षमा शसक्त काम गर्ने मन्त्री भएको बताएका छन्।
‘अरु मन्त्री कुरा गर्छन, उहाँ एक्सन ओरिन्टेड हुनुहुन्छ, त्यसैले पहिलो पटक स्थलगत अवलोकनमा आउने वित्तिकै यो आउने वर्षाले थप क्षति नपुराओस भनेर १६ करोडभन्दा बढीको ठेक्का मेरै अनुरोधमा गर्न लाग्नुभएको छ’ सांसद खड्काले भने। साथै यो बजेटमा बाढी प्रभावित हेलम्बु, मेलम्ची र सिपाघाटदेखि भीमटार क्षेत्रमा करोडौं बजेट विनियोजन हुने बताए।
वर्षाअघि नै तटबन्धको लागि स्थानीय तहबाट माग भएको थियो। हेलम्बुका स्थानीयवासी एवं पत्रकार विष्णु खड्काले बाढी प्रभावित क्षेत्रमा सरकारले ध्यान दिने हो भने तत्काल पूर्ननिर्माण र तटवन्धको काम अगाडी बढाउनुपर्ने बताए। स्थलगत भ्रमणको ३ दिनभित्रै १६ करोडको ठेक्का खोल्ने मन्त्री खड्काको निर्देशनले वर्षायाममा हुने क्षति रोक्न यसले ठुलो सघाउ पुग्ने उनको भनाइ छ।
मेलम्चीको बाढीले तिम्बु बजार, किउल बजार, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्ची बजार नराम्ररी क्षति भएको थियो। हजारौं रोपनी जग्गा बगाएको थियो। अर्बौं धनजनको क्षति भएपनि सरकारले पर्याप्त ध्यान नदिदाँ बाढी प्रभावित क्षेत्रको विकासमा खासै काम हुन सकेको छैन।