बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानूनी मान्यता

images
बुधबार, वैशाख ३१ २०८२
images
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानूनी मान्यता

नियमावलीमा भएको व्यवस्थाअनुसार मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’ कम्पनीमा दर्ता हुन पाउने छन्। राइड सेयरिङ सेवाका लागि प्रदेश सरकारका इजाजत लिनुपर्ने व्यवस्था छ।

images
images

गण्डकी- गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ। अबदेखि निजी चार पांग्रे तथा दुईपांग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन्।

images
images
images

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानूनी मान्यता पाएको बताए। मंगलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो।

images
images

'सम्मानित सर्वोच्च अदालतको फैसलालाई समेत आधार मान्दै राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिइएको छ, नियमावलीमा भएको व्यवस्थाअनुसार यो छिट्टै कार्यान्वयनमा जान्छ', मन्त्री केसीले भने। सर्वोच्च अदालतले यसअघि पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारीजस्ता मौलिक हकसँग जोड्दै कानूनी व्यवस्था छिटो मिलाउन निर्देशनात्मक आदेश दिएको थियो।

images
images

अनधिकृतरूपमा सेवा दिइरहेका राइड सेयरिङ कम्पनीलाई लामो समयको प्रयासपछि कानूनी दायरामा ल्याइएको मन्त्रीले केसीले बताए।

नियमावलीका विषयमा यातायात व्यवसायीहरूसहित सरोकार भएका पक्षसँग चरणबद्ध छलफल गरिएको मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार रेग्मीले बताए।

'राइड सेयरिङका विषयमा यातायात व्यवसायीहरूका केही फरक मत छन्, तर व्यापक छलफल र तयारीपछि नियमावली ल्याइएको छ', उनले भने, 'यातायात व्यवस्थापन प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेकाले आवश्यक कानूनी प्रबन्ध गरेर राइड सेयरिङलाई वैधता दिइएको हो।'

यसअघि गत असारमा प्रदेश राजधानी पोखरामा अनधिकृतरुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्यलाई मन्त्रालयले रोक लगाएको थियो। यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै विरोध जनाएका थिए। प्रदेश सरकारले बनाएको नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ।

नियमावलीमा भएको व्यवस्थाअनुसार मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’ कम्पनीमा दर्ता हुन पाउने छन्। राइड सेयरिङ सेवाका लागि प्रदेश सरकारका इजाजत लिनुपर्ने व्यवस्था छ। दुईपांग्रे सवारीको अनुमति लिँदा २५ हजार रूपैयाँ र चारपांग्रेको ५० हजार रूपैयाँ र दुवै सेवा दिने कम्पनीले ७० हजार रूपैयाँ तिनुपर्ने जनाइएको छ। अनुमति लिँदाको कुल रकमको ५० प्रतिशत नवीकरणमा तिर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ।

राइड सेयरिङ कम्पनीले सवारीसाधन दर्ता गरेबापत यातायात व्यवस्था कार्यालयमा छुट्टै सेवा शुल्क पनि तिर्नुपर्ने मन्त्रालयले जनाएको छ। सवारी धनीले पनि छुट्टै शुल्क तिनुपर्ने व्यवस्था छ। बिनाइजाजत राइड सेयरिङ सञ्चालन गरेमा कानूनी कारबाही र जरिवानाको व्यवस्था गरिएको छ।

सेवाको अनुगमनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा छुट्टै समिति गठन हुने व्यवस्था नियमावलीले गरेको छ। नेपालमा पठाओ, इनड्राइभज, सजिलो, ट्याक्सीमाण्डुलगायत राइड सेयरिङ एप सञ्चालनमा छन्। रासस


प्रकाशित : बुधबार, वैशाख ३१ २०८२११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend