बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पर्यटकको रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग, होमस्टे बनाउने योजनामा गाउँपालिका

images
मंगलबार, वैशाख ३० २०८२
images
पर्यटकको रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग, होमस्टे बनाउने योजनामा गाउँपालिका

स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी जगदीश राईले बताउँछन्।

images
images

बैशाख- भोजपुरको रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ। प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिएपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो। लालीगुराँससँगै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ।

images
images
images

स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी जगदीश राईले बताउँछन्। पदमार्ग निर्माणले यहाँको व्यापार व्यवसायसँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि टेवा पुगेको उनले बताए। ‘डाग्बुङ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ। स्थानीय परिकारको स्वाद लिँदै प्राकृतिक मनोरञ्जन लिन मानिस यहाँ आउने गरेका छन्’, उनले भने।

images
images

किरात भाषामा डाग्बुङ अर्थात् गुराँस भनेर यो पदमार्गको नामकरण गरिएको हो। यहाँबाट सगरमाथा, मकालु कञ्चनजंगालगायत ठूला हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। पदमार्ग निर्माणले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेकाले व्यापार व्यवसाय बढ्दै गएको स्थानीयको भनाइ छ। यहाँबाट अग्ला हिमशृंखलासँगै तराईका सुन्दर भू-भागको अवलोकन गर्न सकिन्छ।

images
images

यो क्षेत्रमा रहेको राष्ट्रिय फूल लालीगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको वडा नम्बर १ का अध्यक्ष जोगेन्द्र राईले बताउँछन्। यसलाई मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण भइरहेको उनको भनाइ छ। आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाएर आर्थिक स्रोतका रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राईले बताए।

यो पदमार्ग निर्माणका लागि हालसम्म करिब ७० लाख रुपैयाँ बजेट खर्च भएको छ। ‘गुँरासको संरक्षणसँगै यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने उद्देश्यले पदमार्ग निर्माण गरिरहेका छौँ’ वडा अध्यक्ष भन्छन्, ‘यो प्राकृतिक रूपमा निकै सुन्दर क्षेत्र रहेकाले यसको विकासमा जोड दिएका छौँ। यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ।’

नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। रामप्रसादराई गाउँपालिका-१ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। हाल ओख्रे बजारबाट करिब ७ किलोमिटर पदमार्ग निर्माण भएको छ।

पदमार्गलाई वडा नम्बर ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना छ। पर्यटकलाई लक्षित गरेर यहाँ करिब एक सय रोपनी क्षेत्रमा चियाखेती विस्तार थालिएको छ। ‘लालीगुँरासको संरक्षणसँगै यो क्षेत्रको बृहत्तर पर्यटन विकासमा जुटेका छौँ’ उनी भन्छन्, ‘हाम्रो पालिकामा धेरै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र छन्। यी क्षेत्रलाई पर्यटनसँग जोडेर आर्थिक स्रोतका रूपमा विकास गर्ने योजना छ।’

यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) निर्माण गरिने, यसलाई बृहत मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिए। यो डाग्बुङ पदमार्गलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने लक्ष्यका साथ काम गरिरहेको उनको भनाइ छ। रासस 


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend