काठमाडौं- नेपाल वायुसेवा निगम व्यवस्थापनले कमिसनको लोभले संस्थालाई कसरी डुबाइरहेका छन् त्यसको एउटा प्रमाण बनेको छ न्यारोबडी जहाजको इन्जिन मर्मत र भाडा प्रकरण।
निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको कलसाइन 'नाइन एन-एकेएक्स' जहाज ५ सय ९२ दिनदेखि भाडाको इन्जिनमा उडिरहेको छ। बिग्रिएको इन्जिन मर्मतका लागि पठाइएकोसमेत ३ सय ७९ दिन भइसकेको छ।
इन्जिन मर्मतको काम गरिरहेको कम्पनीले इन्जिन मर्मत भएको जानकारी पठाएको पनि २ सय ४ दिन भइसकेको छ। तर निगम व्यवस्थापन अझै इन्जिन लिन गएको छैन।
इन्जिन भाडामा लिएर जहाज उडेको दिनदेखि आजसम्म इन्जिन मर्मत र भाडामा तथा जहाज ग्राउन्डेड हुँदाको समयमा निगमले गर्ने सामान्य आम्दानीसमेत जोड्दा सवा पाँच अर्ब रुपैयाँभन्दा बढी घाटा भइसकेको छ।
भाडाको इन्जिन प्रयोग भएको जहाजमा अहिले उडान भए पनि नभए पनि प्रतिदिन २ हजार डलर खर्च भइरहेको छ। यसैगरी भाडाको इन्जिनको प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल (एक टेकअफ र एक ल्याण्डिङ) को २ सय ३९ डलर खर्च भइरहेको छ।
यस्तो छ जहाज ग्राउन्डेडदेखि भाडाको इन्जिनको भरमा उडाइएको नालिबेली
निगमको 'नाइन एन-एकेएक्स' जहाजमा २०२३ को जुन २० मा इन्जिनमा समस्या देखिपछि ग्राउन्डेड भयो। इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने विषयमा इन्जिन निर्मता कम्पनीले जानकारी गरायो। तर निगमसँग जगेडा इन्जिन थिएन।
इन्जिन बिग्रनासाथ मर्मतका लागि दिने र जहाज उडानका लागि इन्जिन भाडामा लिन कम्पनी छनोट भएको थिएन। जसका कारण जहाज एक सय दिन ग्राउन्डेड भयो। सन् २०२३ को सेप्टेम्बर २८ मा मात्रै जहाज उडानमा फर्कियो। उक्त समय भाडाको इन्जिन राखेर जहाज उडानमा आएको थियो।
जहाज उडानमा आउनुभन्दा अगाडि त्यहीबीचमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले बढी कमिसनका लागि सेटिङमै जुन कम्पनीलाई इन्जिन मर्मत गर्न दिइन्छ त्यही कम्पनीसँग भाडाको इन्जिन लिने गरी कम्पनी छनोट गरेका थिए। अधिकारीले इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई इन्जिन मर्मत गर्न दिने र उसैसँग इन्जिन भाडामा लिने गरी कम्पनी छनोट गरे।
सन् २०२३ को जुन २० मा इन्जिन ब्रिग्रिएर ग्राउन्डेड भएको जहाजको इन्जिन २०२३ को सेप्टेम्बर २८ मा मर्मतका लागि इजरायल एरोस्पेस इन्डस्ट्रिज कम्पनीलाई हस्तान्तरण गरियो। इन्जिन मर्मतका लागि दिँदै भाडाको इन्जिन राखेर जहाज उडानमा फर्काइयो। ६५ दिनमा इन्जिन मर्मत गरेर दिन प्रतिवद्धतासँगै इन्जिन मर्मतमा छोडिएको थियो। यो काम फत्ते हुँदासम्म जहाज एक सय दिन ग्राउन्ड भएको थियो।
सामान्यत: न्यारोबडी जहाजको दैनिक आम्दानी १ अर्ब १५ करोड हो। यही हिसाबमा एक सय दिन जहाज ग्राउन्डेड हुँदामात्रै निगमले १ अर्ब १५ करोड रुपैयाँ आम्दानी गुमाएको थियो। जहाज उडानका फर्किएको दुई महिनामै फेरि ग्राउन्डेड भयो। जहाजको अर्को इन्जिनमा समस्या देखियो। समस्या देखिएको इन्जिन पनि मर्मत नगरी जहाज उडान गर्न नमिल्ने भयो। २०२३ को नोभेम्बर ३० मा जहाज ग्राउन्डेड भयो।
इन्जिन मर्मतको काम गरिरहेको कम्पनीले सेप्टेम्बर २८ मा मर्मतका लागि लिएको इन्जिन नै मर्मत गरिसकेको थिएन। कम्पनीले जनाएको प्रतिवद्धताअनुसार ६५ दिनमा इन्जिन मर्मत गरेर दिन सकेन। साथै अर्को भाडाको इन्जिनसमेत दिन सकेन।
जहाज ग्राउन्डेड भएको विषयमा विरोध सुरु भएपछि इन्जिन मर्मत नै नहुँदै मर्मत भइसकेकाले इन्जिन राख्न भन्दै जहाज इजरायल लगियो। जहाज इजरायलमा चार महिनाभन्दा बढी समय ग्राउन्डेड भयो।
कम्पनीले जहाज ग्राउन्डेड भएको १ सय ५० दिनपछि मात्रै २०२३ को सेप्टेम्बर २८ मा इन्जिन मर्मत गरेर दियो। सेप्टेम्बरमा मर्मतका लागि दिएको इन्जिन कम्पनीले २०२४ को अप्रिल २८ मा दिएपछि २०२३ को नोभेम्बर ३० मा बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर मर्मत भएको इन्जिन राखेर जहाज उडानमा फर्कियो। तर सेप्टेम्बर २८ मा भाडामा लिएको इन्जिनलाई निरन्तरता दिँदै जहाज उडानमा आयो। जुन अहिले पनि निरन्तर नै रहेको छ। इन्जिन भाडामा लिएको ५ सय ९२ दिन भइसकेको छ।
सन् २०२४ को अप्रिल २८ मा मर्मतका लागि इन्जिन छोडिएको ३ सय ७९ दिन भइसकेको छ। तर इन्जिन नेपाल आउन सकेको छैन।इन्जिन मर्मत भएको भन्दै इजरायल एरोस्पेस इन्डस्ट्रिजले २०२४ को अक्टोबर २० मै सबै रकम भुक्तानी गरेर इन्जिन लैजान र भाडामा लिएको इन्जिन फिर्ता गर्न ईमेल पठाएको थियो।
कम्पनीले ईमेल पठाएको पनि २ सय ४ दिन भइसकेको छ तर इन्जिन भाडाको कमिसन लिइरहेका निगम कार्यकारी अध्यक्ष अधिकारी र उच्च व्यवस्थापनका कर्मचारीहरूको मिलेमतोमा इन्जिन ल्याउन खोजिएको छैन। जसका कारण भाडाकै इन्जिनमा दैनिक १० लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको छ।
क्षतिपूर्तिको कुरा उठाउँदै भाडाको इन्जिनबाट कमिसन खाँदै
कार्यकारी अध्यक्ष अधिकारीले अहिले भाडाको इन्जिनबाट आइरहेको कमिसनकै लागि इन्जिन मर्मतमा इजरायल एरोस्पेस इन्डस्ट्रिजले लापरबाही गरेको र जहाज ग्राउन्डेड भएको समयको आम्दानी बराबरको रकम तिर्नुपर्ने विषय उठाइरहेका छन्। त्यसरी अधिकारीले भाडाको इन्जिनकै प्रयोग हुने समय बढाइरहेका छन्।
अधिकारीले भनेजस्तै कम्पनीबाट क्षति भएको हो भने उससँगको सबै सम्झौता खारेज गरेर नयाँ कम्पनीसँग किन इन्जिन मर्मतको काम गरिएन त? नयाँ कम्पनी नखोजी उसैलाई २०२४ को अप्रिलमा इन्जिन मर्मतका लागि किन दिइयो?
सन् २०२३ को सेप्टेम्बर २८ मा नै मर्मतका लागि दिएको इन्जिन समयमा नै मर्मत नभइ जहाज पाँच महिनासम्म ग्राउन्डेड भयो र २०२३ को सेप्टेम्बरमा मर्मतका लागि दिइएको इन्जिन २०२४ को अप्रिलमा आएरमात्र पाएपछि फेरि पनि अर्को इन्जिन मर्मतका लागि दिने काम गरिएको छ। त्यसबाट के पुष्टि हुन्छ भने भाडाको इन्जिनबाट कमिनस खाने खेल चलाउनकै लागि अहिले यो विषय उठान गरिएको हो।
पहिलो इन्जिन मर्मतमा लापबाही गरेपछि पनि दोस्रो इन्जिन मर्मत गर्न नदिइ भाडाको इन्जिन कम्पनीलाई बुझाउँदै अर्को व्यवस्थाबाट इन्जिन भाडामा लिने आँट किन अधिकारी तथा उनका सहयोगीहरूबाट भएन? जसरी क्षतिपूर्तिको विषय उठान भएको छ त्यो सबै कमिसनका लागि भएको निगम स्रोतको दाबी छ।
निगमले सन् २०२३ को नोभेम्बर ३० देखि २०२४ अप्रिल २८ सम्म जहाज ग्राउन्डेड हुँदा हुने आम्दानीको क्षतिको विषय उठान गरिरहेको छ। यो विषय २०२४ को फेब्रुअरीमा नै उठेको विषय हो। क्षतिपूर्तिको विषय उठाउँदै फेरि उही कम्पनीलाई इन्जिन मर्मत गर्न दिने र भाडामा लिने कामबाट यो सबै 'कमिसनका लागि चलाइएको नाटक' भएको निगमका एक सञ्चालकले बताए।
'क्षतिपूर्ति रकम माग्दै त्यही कम्पनीलाई फेरि काम दिनुका पछाडि केही रहस्य छ' ती सञ्चालकले भने, ' तत्काल इन्जिन मर्मतदेखि भाडामा लिने प्रक्रियामा सहभागी सबैलाई निलम्बन गरेर छानबीन गर्न आवश्यक छ। तर विभागीय मन्त्री तथा मन्त्रालयका उच्च तहकै कर्मचारीले चासो नदिँदा समस्या आएको छ।'
जहाज ग्राउन्डेड हुँदा गुमेको आम्दानी तथा इन्जिन मर्मत र भाडामा निगमले गरेको खर्चको हिसाब
जहाज ग्राउन्डेड हुँदा गुमाएको आम्दानी
सन् २०२३ को जुन २० देखि २०२३ को सेप्टेम्बर २८ सम्म निगमको 'नाइन एन-एकेएक्स' जहाज एक सय दिन ग्राउन्डेड भएको थियो। सामान्य अवस्थामा निगमले न्यारोबडी जहाजबाट दैनिक १ करोड १५ लाख रुपैयाँ आम्दानी गर्छ। यही हिसाबमा एक सय दिन जहाज ग्राउन्डेड हुँदा निगमले न्यूनतम पनि १ अर्ब १५ करोड रुपैयाँ आम्दानी गुमाएको थियो।
यसैगरी समयमा नै इन्जिन मर्मत नहुँदा र भाडाको इन्जिन व्यवस्थापन नहुँदा जहाज २०२३ को नोभेम्बर ३० देखि २०२४ को अप्रिल २८ सम्म पाँच महिनामा १ सय ५० दिन जहाज ग्राउन्डेड भएको थियो। दैनिक १ करोड १५ लाख रुपैयाँ आम्दानीकै हिसाबमा निगमले दोस्रोपटक पाँच महिना जहाज ग्राउन्डेड हुँदा न्यूनतम १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ आम्दानी गुमाएको थियो।
सम्रगमा उक्त जहाज २०२३ को जुन २० देखि २०२४ को अप्रिल २८ सम्म आइपुग्दा २ सय ५० दिन ग्राउन्डेड भयो। जसबाट निगमले न्यूनतम नै हिसाबमा २ अर्ब ८७ करोड ५० लाख रुपैयाँ आम्दानी गुमायो।
इन्जिन भाडामा खर्चिएको रकम
निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग एउटा इन्जिन भाडामा लिएको ५ सय ९२ दिन भएको छ। इन्जिन भाडामा लिएको ५ सय ९२ दिनमध्ये १ सय ५० दिन भने जहाज ग्राउन्डेड भएर बसेको थियो।
इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने कम्पनीले १ सय ५० दिनको इन्जिन भाडाबापतको रकम नलिने जानकारी निगमलाई गराइसकेको निगम स्रोतको दाबी छ।
इन्जिन मर्मतमा समस्या भएको र भाडाको इन्जिन व्यवस्थापन गर्न नसक्दा जहाज ग्राउन्डेड भएको भन्दै कम्पनीले रकम नलिने बताएको हो। तर १ सय ५० दिन जहाज ग्राउन्डेड हुँदा आम्दानी गुमेको भन्दै निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति चाहिने विषय १५ महिनादेखि उठाइरहेको छ। तर त्यसमा कुनै निर्णय भएको छैन।
५ सय ९२ दिनमा जहाज ग्राउन्डेड भएको १ सय ५० दिन कटाएर निगमको जहाजले सरदर ४ सय ४२ दिन भाडाकै इन्जिनमा जहाज उडान गरेको छ। अहिले पनि भाडाकै इन्जिनको भरमा जहाज उडिरहेको छ।
निगमले भाडामा लिएको इन्जिनको भाडाबापत तीनवटा शीर्षकमा रकम भुक्तानी गर्नुपर्छ। पहिलो त जहाज उडे पनि नउडे पनि प्रतिदिन २ हजार डलर तिर्नुपर्ने छ। दोस्रो प्रतिसाइकलको २ सय ३९ डलर तिर्नुपर्छ। यसैगरी तेस्रो शीर्षक हो, जहाज प्रतिघण्टा उडानको आधारमा २ सय ७८ डलर तिर्नुपर्छ।
सोही आधारमा ४ सय ४२ दिनको प्रतिदिन २ हजार डलरको हिसाबमा निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई ८ लाख ८४ हजार डलर तिर्नुपर्छ। नेपाल राष्ट्र बैंकले बैशाख २८ गते आइतबारका लागि तोकेको सरदर प्रतिडलर १३६ रुपैयाँको हिसाबमा यो रकम १२ करोड २ लाख रुपैयाँभन्दा बढी हुन्छ।
यसैगरी न्यारोबडी जहाजको सरदर दैनिक चार साइकल उडान हुन्छ। निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई प्रतिसाइकल २ सय ३९ डलर भुक्तानी गर्नुपर्छ। सोही हिसाबमा ४ सय ४२ दिन जहाज उडानमा रहँदा प्रतिदिन ४ साइकलको हिसाबमा ५ करोड ७४ लाख ६७ हजार रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ।
यसैगरी निगमको न्यारोबडी जहाजको दैनिक उडान घण्टा सरदर १२ हो। ४ सय ४२ दिनमा सरदर निगमको न्यारोबडी जहाज सोही हिसाबमा ५ हजार ३ सय ४ घण्टा उडिसकेको छ। निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई भाडाको इन्जिनबापत प्रतिघण्टा उडानको २ सय ७८ डलर भुक्तानी गर्नुपर्छ। सोही हिसाबका इन्जिनको प्रतिघण्टा उडानको खर्चमात्रै २० करोड ५ लाख रुपैयाँभन्दा बढी भइसकेको छ।
मर्मतमा १ अर्ब हाराहारीकै बिल
इजरायल एरोस्पेस इन्डस्ट्रिजले इन्जिन मर्मतको लागि दुईपक्षीय सम्झौता हुँदा गरेको अनुमानित लागत खर्चभन्दा बढी बिल दिने गरेको छ। इन्जिन मर्मतमा अनुमानित लागतभन्दा करिब २५ करोड रुपैयाँ बढीको बिल पठाएको थियो।
सन् २०२३ को सेप्टेम्बरमा मर्मतका लागि दिइएको इन्जिनको बिल नै ९५ करोड रुपैयाँ हाराहारीमा पठाएको थियो। पछि विरोध भएपछि केही रकम घटाएको थियो।
अहिले मर्मत भएर कारखानामा नै रोकिएको इन्जिनको मर्मत खर्च नै एक अर्ब रुपैयाँ हाराहारीमा रहेको छ। जब कि नयाँ इन्जिन नै १ अर्ब ७० करोडदेखि १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी नपर्ने निगमकै इन्जिनयरहरू बताउँछन्। दुईवटा इन्जिन मर्मतमा दुई अर्ब रुपैयाँकै हारहारीमा खर्च भएको छ।
'नाइन एन-एकेएक्स' जहाजका दुईवटा इन्जिन मर्मत र भाडामा लिने खेलमै ५ अर्ब
निगमले दुईवटा इन्जिन मर्मतमा सम्रगमा कम्पनीलाई तिर्ने रकमदेखि व्यवस्थापन खर्चमा २ अर्ब रुपैयाँ खर्च गरेको छ।
यसैगरी भाडाको इन्जिन प्रयोगमा ३८ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ भने २ सय ५० दिन जहाज ग्राउन्डेड हुँदा सामान्य आम्दानीमात्रै हिसाब गर्दा पनि २ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गुमाइसकेको छ।
यो सबै जोड्दा निगमको खर्च ५ अर्ब २५ करोड रुपैयाँ देखिन्छ। यो तीनवटा नयाँ इन्जिन नै आउने रकम हो। तर विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले अधिकारीलाई कुनै कारबाही गर्न सकेका छैनन्। पछिल्लो सयम त मन्त्री पाण्डेले सार्वजनिक कार्यक्रममा निगम नेतृत्वको विषयमा बोल्नसमेत छाडेका छन्।
निगम कार्यकारी अध्यक्ष अधिकारी २०७९ को असोजदेखि सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर पदमा बसिरहेका छन्। त्यसपछिको कुनै पनि बेन्च नबसी मुद्दाको पेसी सर्दै आएको छ। त्यसम अधिकारीले सर्वोच्चलाई समेत प्रभावमा पारेका छन्।
कार्यकारी अध्यक्ष अधिकारीको चार वर्षे कार्यकाल २०८२ को कात्तिक ६ गते सकिँदै छ। तर उनले अहिले पुन: दुईवटा वाइडबडीको चारवटै इन्जिन मर्मतका लागि कम्पनी छनोटमा कमिसनका लागि काम गर्न खोजिरहेका छन्। आफूअनुकूल कम्पनी छनोटका लागि उनी हरेक साताजस्तो सिंगापुर भ्रमण गरिरहेका छन्। टेकअफ