शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्लोबल आईएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

मंगलबार, वैशाख २३ २०८२
ग्लोबल आईएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- ग्लोबल आईएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ। बैंकले नेपालमा ई-कमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको हो।

यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्। ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहजरुपमा भुक्तानी लिन सक्नेछन्।

यो गेटवेको सुरुवातपश्चात् ई-कमर्स कारोबारहरु गर्ने जस्तै: ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटललगायतका व्यवसायहरु लाभान्वित हुने विश्वास लिइएको छ। ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरु प्राप्तिको लागि सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरुको व्यवसाय वृद्धिमा सहयोग पुग्नुका साथै यस पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत् हुने कारोबारहरु थप सुरक्षित हुने बैंकले जनाएको छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५४ शाखा कार्यालय, ३ सय ८५ एटीएम, २ सय २१ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend