म्याग्दी- २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेमा निर्माण भएको जलविद्युत आयोजनाको काम सकिए पछि परीक्षण उत्पादन गर्न लागिएको हो।
संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको उक्त आयोजनाको भौतिक संरचना र विद्युतगृहमा जडान भएका मेसिन तथा उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए। उनका अनुसार, बाँध, सुरुङ, विद्युतगृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ।
विद्युतगृहमा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनको भनाइ छ। आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन छ।
आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्उक्तहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। उक्त आयोजनाको बाँध कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा छ। आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानीलाई छरी स्थित रघुगंगा नदी किनारमा निर्माण भएको विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने छ।
उक्त आयोजनामा ३ हजार ३८२ मिटर लामो सुरुङ र ६ सय ३४ मिटर पेनस्टक टनेल छ। गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको उक्त आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ। ३ अर्ब ६० करोड रुपैयताँ लागत अनुमान गरिएको छ।
उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेका छन्। आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभीले ठेक्का लिएको थियो। त्यस्तै इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो। रासस