काठमाडौं- पछिल्ला ६ वर्षदेखि मुलुकमा पुँजी निर्माण निरन्तर कमजोर हुँदै आएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा पनि गत वर्षको तुलनामा कूल गार्हस्थ उत्पादनको तुलनामा खस्किने अनुमान गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार यो वर्षको अन्तिमसम्म कुल गार्हस्थ उत्पादनको २४.०७ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। गत वर्ष २४.३३ प्रतिशत पुँजी निर्माण भएको देखिएको छ।
एक वर्षभन्दा धेरै टिक्ने र आयआर्जनको सहयोगी हुने वस्तुदेखि भौतिक पूर्वाधारमा भएको लगानी वा त्यस्ता वस्तु तथा सेवाको उत्पत्ति यसमा पर्छन्।
अर्थतन्त्रको भावी विस्तारलाई पनि सहायता गर्ने मानिएको यस्तो वर्गको खर्च दश वर्षकै कमजोर देखिएको छ। आर्थिक वर्ष २०६९/७० मा २४.७३ प्रतिशत स्थिर पुँजी निर्माण भएको थियो। त्यसपछिका वर्षमा निरन्तर उकालो लागेको यस्तो पुँजी निर्माण पछिल्ला केही वर्षदेखि घटिरहेको छ।
यो वर्ष असारसम्म कुल १७ खर्ब करोड रुपैयाँ पुँजी निर्माण हुने अनुमान गरिएको छ।
स्थिर पुँजी निर्माणमा कमजोर हुनु भविष्यको आधारमा पनि प्रभाव पारेको छ। अर्थतन्त्रलाई सबल तथा दिगो बनाउनका लागि यस्तो पुँजी निर्माणमा हुने लगानी तथा खर्चलाई प्राथमिकता दिइन्छ। पुँजी निर्माण बढ्दै जाँदा आगाी वर्षहरूमा अर्थतन्त्रमा अवसर सिर्जना हुन्छ तर नेपालमा भने पछिल्लो समय यस्तो ट्रेन्ड घटिरहेको छ।
भएकै पुँजी निर्माण कमसल, आर्थिक विस्तारमा देखिएन योगदान
ऐतिहासिक रुपमा बलियो पुँजी निर्माणको रेकर्ड भएर नेपालको आर्थिक विकास भने पिछडिएको छ। फजुल खर्च तथा कमसल परिचालन संयन्त्रका कारण आर्थिक वृद्धिदरलाई भने पुँजी निर्माणले साथ दिएको छैन। आर्थिक वृद्धिदर विनाको पुँजी निर्माण जस्तो अस्वभाविक तथ्यांक नेपालको सन्दर्भमा देखिएको छ। पछिल्लो तीन दशकको तथ्यांकमा बांगलादेशभन्दा बढी र भारतकै दाँजोमा पुँजी निर्माणको रेकर्ड कायम गरेको नेपालले आर्थिक विकासमा भने पुछारमा रहेको छ।
कुनै पनि देशको पुँजी निर्माण जति धेरै हुन्छ उति नै आर्थिक वृद्धि बलियो र तीव्र रोजगारी सिर्जना हुने विश्वास गरिन्छ। तर नेपालको तुलनामा भने यो उल्टो देखिएको छ।
सन् १९९० को दशकमा नेपालको पुँजी निर्माण बांगलादेशको भन्दा धेरै र भारतको तुलनामा थोरै थियो। तर सन् २०१० को दशकमा भने औसतमा भारतकै सरह नेपालको पुँजी निर्माण भएको थियो। यो दशकमा नेपालको पुँजी निर्माण जीडीपीको ३३.३ र भारतको ३३.४ प्रतिशत थियो।
बांगलादेशमात्र होइन अतिकम विकसीत मुलुकहरूको औसत पुँजी निर्माणभन्दा नेपालको उच्च थियो र मध्यम आय भएका मुलुकको दाँजोमा पुँजी निर्माण भएको रेकर्ड रहेको थियो।
सन्तोषजनक पुँजी निर्माणले पनि किन अपेक्षित आर्थिक वृद्धि दिन सकेको छैन। नेपालमा सरकारमात्र होइन समग्र देश नै फजुल शैलीमा अघि बढ्दा यो अवस्था आएको छ। परिवार तहदेखि निजी क्षेत्रसम्म सबै पक्ष फजुल शैलीमा अघि बढ्दा पुँजी निर्माण राम्रो हुँदा पनि त्यसको प्रभाव आर्थिक विकासमा देखिएको छैन।