आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्न सुरु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २४ २०७८
म्याग्दी खोला जलविद्युतको सुरुङ खन्न सुरु
फाइल तस्बिर

गलेश्वर- पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम आइतबारदेखि सुरु भएको छ। दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरुङ खन्न सुरु गरिएको हो।

नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरुङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ।

प्रवासी म्याग्देलीको मुख्य लगानी रहेको सो आयोजनाका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुवैतर्फ सुरुङ निर्माण सुरु हुने छ। 'अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ', इन्जिनियर रोकाले भने।

जलविद्युत् आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाइने बताए। 'टनेलमा उत्साहजनक प्रगतिसहित समयमै आयोजनाको काम सम्पन्न गर्नेछौँ, प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागिसमेत अवसर छ', अध्यक्ष कुँवरले भने। उनले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरी दुई सिफ्टमा हुनेसमेत बताए। म्याग्दी खोलाबाट विद्युत् निकाल्न प्रवासी म्याग्देली र स्थानीयवासीको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो।

मालिका–७ बिम र वडा नं ५ देविस्थान तथा धौलागिरि गाउँपालिका–७ को सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग रहनेछ। सुरुङमार्ग हुँदै ल्याइने पानीलाई सय मिटर हेडबाट रातोढुङ्गामा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ।

तीस प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ। आयोजना निर्माणमा पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रबन्ध निर्देशक इन्जिनियर हर्कमान घर्ती मगरले जानकारी दिए। 

आयोजनाबाट उत्पादन हुने विद्युत् बिमको सबस्टसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ। हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ।

आयोजनाको साइट कार्यालय, आवासगृहसहितका भौतिक संरचनासमेत तयार भइसकेको छ भने पहिलो र दोस्रो कोराना भाइरसकाका कारण निर्माणमा समस्या भए पनि अहिले जनशक्तिको व्यवस्थापन भएकाले तीव्र गतिमा अगाडि बढेको छ। रासस


प्रकाशित : सोमबार, माघ २४ २०७८०७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend