सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

गभर्नर बन्ने चर्चामा रहेका गुणाकर भट्टले बुझाए राजीनामा

शुक्रबार, वैशाख ५ २०८२
गभर्नर बन्ने चर्चामा रहेका गुणाकर भट्टले बुझाए राजीनामा

काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। गभर्नर नियुक्तिमा उनको नाम चर्चामा रहिरहँदा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन्।

सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच सहमति बनेपछि भट्टले शुक्रबार बिहान राजीनामा बुझाएका हुन्। राष्ट्र बैंक ऐनमा कार्यकारी निर्देशकले राजीनामा बुझाउनुपर्ने अनिवार्य व्यवस्था नभए पनि कानूनी जटिलता र विवादरहित हुन भट्टले राजीनामा बुझाएका हुन्। 

राजीनामा दिएको पुष्टि गर्दै डा. भट्टले भने, 'राजीनामा दिइसकेँ, अब प्रक्रियामा जाला।'

डा. भट्टले राजीनामा बुझाएको र त्यो स्वीकृत हुने प्रक्रियामा रहेको राष्ट्र बैंक स्रोतले पनि जानकारी दिएको छ। उच्च राजनीतिक सहमति भएकाले भट्टको राजीनामाबारे छिटै निर्णय हुने स्रोतले बतायो। कायममुकायम गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेर राष्ट्र बैंकको मानव संशाधन विभागमा जानकारी गराउने तयारी रहेको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा अर्थशास्त्री विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराईसहितको गभर्नर सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्न बाँकी नै रहेको छ।

राष्ट्र बैंकमा १८ औँ गभर्नर नियुक्तिको विषय जटिल बन्दै गइरहँदा नेताहरूले मध्यमार्गी विकल्पमा डा. गुणाकर भट्टलाई अगाडि सार्ने सहमति गरेका हुन्। गभर्नर नियुक्तिको विषयले सत्ता गठबन्धनमै संकट परेको भन्दै प्रचारबाजी सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गएको मंगलबार छलफलसमेत भएको थियो। जसमा कांग्रेसलाई नचिढ्याउनेगरी देउवाको प्रस्ताव मान्न प्रधानमन्त्री ओली तयार देखिएका थिए। 

गभर्नरमा मध्यमार्गी विकल्प बन्लान् गुणाकर भट्ट? गभर्नरमा मध्यमार्गी विकल्प बन्लान् गुणाकर भट्ट?


प्रकाशित : शुक्रबार, वैशाख ५ २०८२१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend