काठमाडौं- बंगलादेशको नेशनल बोर्ड अफ रेभेन्यु (एनबीआर) ले नेपाल, भारत र भुटानबाट आयात हुने केही वस्तुमा प्रतिबन्ध लगाएको छ।
गएको आइतबार जारी गरिएको नयाँ व्यवस्थाअनुसार धागो, पाउडर दूध, सुर्ती, न्यूजप्रिन्ट, विभिन्न प्रकारका कागज र कागज बोर्ड लगायतका सामग्रीमा आयातमा प्रतिबन्ध लगाइएको बंगलादेशी सञ्चार माध्यमले जनाएको छ। सूचनाअनुसार नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका सबै वस्तु आयात गर्न पाइनेछ तर धागो र आलु भने आयात गर्न पाइने छैन।
भारतको सन्दर्भमा प्रतिबन्धित सामग्रीको सूची फरक छ। जसमा डुप्लेक्स बोर्ड, न्यूजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, पाउडर दूध, सुर्ती, रेडियो र टिभी पार्ट्स, साइकल र मोटर पार्ट्स, फोर्मिका सिट, सिरामिक सामग्री, स्यानिटरी सामग्री, स्टेनलेस स्टिलका सामग्री, मार्बल स्ल्याब र टाइल्स तथा मिश्रित कपडाहरू समावेश छन्।
यद्यपि भ्याट दर्ता भएका बिडी (स्थानीय चुरोट) उत्पादक उद्योगहरूले कच्चा सुर्तीका डाँठ आयात गर्न पाउने व्यवस्था सूचनामा उल्लेख गरिएको छ।
उक्त प्रतिबन्ध स्थानीय उद्योगहरूलाई संरक्षण गर्न तथा अवैध पुनः निर्यात वा वस्तुहरूलाई अन्य मार्गबाट पठाउने कार्य रोक्नका लागि लगाइएको उल्लेख गरिएको छ। विशेष गरी कपडा, कागज र सेरामिकजस्ता घरेलु उद्योगहरूलाई प्रतिस्पर्धी बनाउन खोजिएको बंगलादेशले उल्लेख गरेको छ।
यसअघि भारतले बंगलादेशलाई निर्यात गर्नका लागि आफ्ना भूमि प्रयोग गर्ने ट्रान्ससिपमेन्ट सुविधा रद्द गरेको थियो। अहिलेको बंगलादेशको निर्णय त्यसैप्रति लक्षित देखिएको छ।
सन् २०२० को जुन महिनामा भारतले बंगलादेशलाई आफ्नो भूमि सीमाहरू हुँदै तेस्रो मुलुकहरूमा निर्यात गर्न ट्रान्ससिपमेन्ट सुविधा प्रदान गरेको थियो। यस सुविधाले बंगलादेशी निर्यातकर्ताहरूलाई भारतीय भूमि हुँदै भारतीय बन्दरगाहहरू वा विमानस्थलहरूमा सामान पठाउन अनुमति दिएको थियो। जसले ढुवानी समय र लागतमा कमी ल्याएको थियो। भारतीय केन्द्रीय अप्रत्यक्ष कर र सीमा शुल्क बोर्ड (सीबीआईसी) ले २०२५ अप्रिल ८ मा जारी गरेको नयाँ परिपत्रअनुसार २०२० को उक्त परिपत्रलाई रद्द गरिदिएको थियो।
भारतले बंगलादेशलाई बन्द गरिदियो ट्रान्ससिपमेन्ट सुविधा, निर्यातमा भारतीय भूमि प्रयोग गर्न रोक