शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च, विश्व व्यापारमा अनिश्चितता बढ्दा सुनमा बढ्दैछ आकर्षण

सोमबार, चैत १८ २०८१
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च, विश्व व्यापारमा अनिश्चितता बढ्दा सुनमा बढ्दैछ आकर्षण

विश्वमा बढ्दै गएको अनिश्चितताका कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक बिन्दुमा पुगेको छ। सुनको मूल्य हालसम्मै उच्च भएको छ।

काठमाडौं-  अमेरिकी राष्ट्रपतिको आयातमा कर बढाउने नीतिका कारण विश्वमा भूराजनीतिक अनिश्चितता थप बढेको छ। कोभिड महामारीले बिथोलेको विश्वको व्यापार तथा आपूर्ति श्रृंखला लयमा फर्किन नपाउँदै फेरि बिथोलिने जोखिम बढेको छ। 

सन् २०२४ मा लयमा फर्किने संकेत विश्व व्यापारमा देखिएपनि २०२५ भने फेरि अर्को अनिश्चितताको त्रासमा विश्व बजार देखिएको छ। विशेषगरी अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिका रुपमा फेरि फर्किएपछि यो त्रास बढेको हो।

अमेरिकाले पछिल्लो समय चीनमात्र होइन आफ्नै सहयोगी देशविरुद्ध पनि कर बढाइदिएको छ। यसले गर्दा विश्व व्यापारको अर्डर नै धर्मराउने विश्लेषण भइरहेको छ। 

विश्वमा बढ्दै गएको अनिश्चितताका कारण सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक बिन्दुमा पुगेको छ। सुनको मूल्य हालसम्मै उच्च भएको छ। 

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔन्स ३ हजार १ सय ११ अमेरिकी डलर पुगेको छ। यो हालसम्मकै उच्च हो। 

पछिल्लो समय सुनको मूल्यले निरन्तर उचाइ हासिल गरिरहेको छ। पछिल्लो ३० दिनमै सुनको मूल्य ७ प्रतिशतले बढेको छ भने ६ महिनामा १६ प्रतिशतले। पछिल्लो एक वर्षमा सनुको मूल्य ३७ प्रतिशतले बढेको छ। 

सुनको मूल्यमा निरन्तरको वृद्धि अझै नरोकिने अन्तर्राष्ट्रिय संस्थाहरूले विश्लेषण गरेका छन्। अमेरिकाले आयातमा उच्च कर लगाउँदै जाँदा त्यसले मूल्यवृद्धिको त्रास झनै बढाएको छ।

त्यस्तै धेरैतिर संरक्षणवादले गर्दा अर्थतन्त्रमा जोखिम बढाउँदै गएको छ। यसले पनि सबैभन्दा सुरक्षित लगानी सुन भएकाले यसको मूल्य छिटै ३ हजार डलर पुग्ने अनुमान गरिएको छ। 

अर्कोतिर केन्द्रीय बैंकहरूले सुनको खरिदलाई झन तीव्रता दिन थालेका छन्। विशेषगरी ब्रिक्स मुलुकका केन्द्रीय बैंकले सुनको खरिदलाई रणनीतिक रुपमा अघि बढाएका छन्। डलरमाथिको निर्भरता घटाउनका लागि उनीहरूको सुनको खरिदलाई प्राथमिकता दिन थालेका छन्। 

पछिल्लो समय केन्द्रीय बैंकहरूले सुन खरिद बढाउँदा पनि मूल्यमा उछाल देखिएको छ। नेपाली बजारमा पनि सुनको मूल्य बढ्दै गएको छ। 


प्रकाशित : सोमबार, चैत १८ २०८११०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend