शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाल टेलिकमले ल्यायो 'एसईई अफर २०८१', २० रूपैयाँमै सिमकार्ड पाइने

बुधबार, चैत १३ २०८१
नेपाल टेलिकमले ल्यायो 'एसईई अफर २०८१', २० रूपैयाँमै सिमकार्ड पाइने

सिमकार्ड एक्टिभेट गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन्।

काठमाडौं- नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि 'एसईई अफर २०८१' उपलब्ध गराउने भएको छ।

यसअन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरुलाई २० रूपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ।

एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ।

उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ। सिमकार्ड एक्टिभेट गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन्।

पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरु उपभोग गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।

नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने ९.८० रूपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्। यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस र ५ सय एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स सोही दिनका लागि मात्र कायम रहनेछ।

नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।

साथै सिमकार्ड एक्टिभेट गर्नका लागि *१४१४# डायल गर्नुपर्नेछ। सोपश्चात् अफर प्राप्त गर्नका लागि *१६००# डायल गरी त्यसअनुसार निर्देशन फलो गर्नुपर्नेछ।

यस अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रूपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५ सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न  र ५० वटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ।

रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ।


प्रकाशित : बुधबार, चैत १३ २०८११७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend