शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पोखरामा पनि खुल्यो स्काइवेलको फ्ल्यागसिप शोरुम

बुधबार, चैत १३ २०८१
पोखरामा पनि खुल्यो स्काइवेलको फ्ल्यागसिप शोरुम

जी मोटर्सले स्काइवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्रान्ड र नेपालमा जी मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको बताएको छ।

काठमाडौं- नेपाली बजारमा उपलब्ध लक्जरी एसयूभी स्काइवेलको आधिकारिक बिक्रेता जी मोटर्सले पर्यटन नगरी पोखरामा आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले नेपालमा पाइने विद्युतीय सवारी साधनहहरु मध्ये सबैभन्दा बढी ६ सय २० किलोमिटर रेन्ज भएको प्रिमियम एसयूभी स्काइवेल ईटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्र्याएको थियो।

प्रमुख अतिथि नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले एक कार्यक्रमबीच शोरुम उद्घाटन गरेका हुन्। उद्घाटनका अवसरमा स्काइवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्री म्यानेजर भिरा एवं जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल, कार्यकारी निर्देशक पारसमणी गेलाल तथा स्काइवेलको पोखरा वितरक इको मोटर्स प्रालिका सञ्चालक अर्जुन गिरीको उपस्थिति रहेको थियो।

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काइवेलले युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया, मिडल इस्ट, रसियासहित एसियामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ। स्काइवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काइवर्थको ब्रान्ड हो।

राम्रो फाइनान्सियल ब्याकअप, रिसर्च एन्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काइवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको बताइएको छ। भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काइवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयूभीको बिक्री सुरु गरेको थियो। नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्रान्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयूभीहरु नेपालमा बिक्री गरेको दाबी कम्पनीको छ।

जी मोटर्सले स्काइवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्रान्ड र नेपालमा जी मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको बताएको छ।

कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन्, ‘हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडी बिक्री गर्छौँ, उहाँहरु घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने महान् सोचका साथ उही लक्जरी प्राप्त हुने विकल्पको रुपमा स्काइवेलका एसयूभी चढ्न थाल्नुहुन्छ। त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहीँ कति पनि चुक्ने छैनौँ। हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौँ। हामीसँग यथेष्ठ स्पेयर पार्ट्स जगेडा छ।’

जी मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले भने, ‘स्काइवेल साधारण ईभीमात्र होइन, यो प्रिमियम एसयूभी ब्रान्डको खपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो। यो सवारी चढेर हिँड्ने हाम्रा ग्राहकले जति गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्रान्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो। त्यसमा हामी कहीँ चुक्ने छैनौँ।’

एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने स्काइवेलका एसयूभीको सुरुवाती भेरिएन्टको ४१० किलोमिटर रेन्ज भएको एसयूभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ। यसै वर्ष स्काइवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयूभी पनि लिएर आउने कम्पनीको भनाइ छ।

स्काइवेलको पोखरा वितरक इको मोटर्स प्रालिका सञ्चालक अर्जुन गिरीले स्काइवेलले पोखराका उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको बताउँदै बिक्री पश्चात ग्राहकसँग नयाँ सम्बन्धको सुरुवात हुने र बिक्री पश्चातको सेवामा अग्रणी रहने प्रतिबद्धता जाहेर गरे।


प्रकाशित : बुधबार, चैत १३ २०८११६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend