सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

८ महिनामा ९ सवारीसाधन उद्योगमा ३ अर्ब ४० करोड लगानी प्रतिबद्धता, ब्याट्रीदेखि विद्युतीय सवारी बनाउने

images
शुक्रबार, चैत ८ २०८१
images
images
८ महिनामा ९ सवारीसाधन उद्योगमा ३ अर्ब ४० करोड लगानी प्रतिबद्धता, ब्याट्रीदेखि विद्युतीय सवारी बनाउने

देशका विभिन्न स्थानमा उद्योग स्थापना गर्न प्रस्ताव गरिएका ९ उद्योगल कुल ३ अर्ब ४० करोड ६ लाख ५३ हजार ३ सय ३३ रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामा नेपालमै सवारी उत्पादन तथा ब्याट्री उत्पादन गर्ने भन्दै ९ वटा उद्योग दर्ता भएका छन्। दुई पांग्रेदेखि चारपांग्रे विद्युतीय सवारी, विद्युतीय भ्यानदेखि लिथियम आयन ब्याट्री र चार्जरसम्म बनाउने प्रस्तावसहित उद्योग दर्ता भएका हुन्।

images
images

देशका विभिन्न स्थानमा उद्योग स्थापना गर्न प्रस्ताव गरिएका ९ उद्योगले कुल ३ अर्ब ४० करोड ६ लाख ५३ हजार ३ सय ३३ रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। यी उद्योगले वार्षिक करिब २० हजारभन्दा बढी विद्युतीय सवारी उत्पादन गर्ने योजना अघि सारेका छन्। 

images
images

नेपालमा विद्युतीय सवारीको माग बढ्दै गएकाले उद्योग खोल्न चाहने सबैले विद्युतीय सवारी उत्पादन/एसेम्बललाई प्राथमिकतामा राखेका छन्। सरकारले नेपालमै सवारी एसेम्बल गर्नेलाई सीकेडी आयातमा दुई तह कर सहुलियत दिँदै आएको छ। 

images
images

चालु आर्थिक वर्षको ८ महिनामा दर्ता भएकामध्ये सबैभन्दा ठूलो लगानी टीबीडी इन्फ्राटेकले गर्ने प्रस्ताव गरेको छ। गएको कात्तिकमा टीबीडी इन्फ्राटेकले मकवानपुरमा उद्योग स्थापना गरेर सवारी उत्पादन गर्नेभन्दै उद्योग दर्ता गरेको हो। ठूलो वर्गको उक्त उद्योगमा १ अर्ब ८९ करोड ४९ लाख २० हजार रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। उत्पादनमूलक उद्योगका रुपमा दर्ता भएको टीबीडी इन्फ्राटेकले उद्योग सञ्चालनमा आइसक्दा १ सय ३ जनालाई प्रत्यक्ष रोजगारी दिने जनाएको छ। 

टीबीडी इन्फ्राटेकले ठूलो संख्यामा सवारीसाधन उत्पादनको प्रस्ताव गरेको छ। यो उद्योगले दुई पांग्रेका साथै प्यासेन्जर कार र विद्युतीय भ्यानसमेत उत्पादन गर्ने बताएको छ।

टीबीडी इन्फ्राटेक वार्षिक ५ हजार वटा दुईपांग्रे विद्युतीय सवारी, विद्युतीय प्यासेन्जर कार ७ हजार वटा र विद्युतीय चारपांग्रे भ्यान २ हजार वटा उत्पादन गर्ने योजना अघि सारेको छ। उक्त उद्योगले वार्षिक कुल १४ हजार सवारी उत्पादन गर्ने प्रस्ताव गरेको हो। 

त्यस्तै उक्त उद्योगले विद्युतीय सवारीका लागि अत्यावश्यक चार्जर पनि उत्पादन गर्ने बताएको छ। टीबीडी इन्फ्राटेकले वार्षिक ५ हजार वटा ईभी चार्जर उत्पादन गर्ने प्रस्ताव गरेको हो।

टीबीडी इन्फ्राटेकपछि धेरै लगानी गर्ने प्रस्ताव साउथ एसिया ब्याट्रीले गरेको छ। यो उद्योगले विद्युतीय सवारीलाई प्रयोग हुने ब्याट्रीमात्र बनाउने छ। साउथ एसिया ब्याट्रीले बारा जिल्लामा उद्योग स्थापना गर्ने प्रस्ताव गरेको छ। ९२ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको यो उद्योगले ९१ जनालाई रोजगारी दिनेछ भने लिथियम आयन र लिड एसिड ब्याट्री उत्पादन गर्नेछ। उद्योगले वार्षिक १७ हजार वटा लिथियम आयन ब्याट्री र २० हजार वटा लिड एसिड ब्याट्री बनाउने बताएको छ। 

यी हुन् ८ महिनामा दर्ता भएका सवारी र सवारीजन्य वस्तु उत्पादन गर्ने उद्योग :

१. रुइ क्वीओ कम्पनी, काभ्रेपलान्चोकमा दर्ता। ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता, ५३ जनालाई रोजगानी र विद्युतीय सवारी एसेम्बल वार्षिक ५ सय ५० वटा। 

२. शुन्दा इलेक्ट्रिक भेहिकल कम्पनी, चितवनमा ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता, ५० जनालाई रोजगारी र वार्षिक २ सय ५० वटा तीन पांग्रे विद्युतीय सवारी, दुृई पांग्रे सवारी ५ सय ५० वटा। 

३. झोङशी केजी ललितपुरमा दर्ता, २ करोड रुपैयाँ लगानी प्रतिबद्धता, २५ जनालाई रोजगारी, वार्षिक ८ हजार वटा लिथियम आयन ब्याट्री उत्पादन गर्ने। 

४. लि हान ईभी इन्डस्ट्री ललितपुरमा दर्ता, ४ करोड १० लाख लगानी प्रतिबद्धता, ३० जनालाई रोजगारी र वार्षिक ६ सय विद्युतीय दुई पांग्रे सवारी एसेम्बल गर्ने। 

५. नेपाल फुगुई भेहिकल इन्डस्ट्री मकवानपुरमा दर्ता, २ करोड १४ लाख लगानी प्रतिबद्धता, ३० जनालाई रोजगारी र वार्षिक ३ सय ५० तीन पांग्रे विद्युतीय सवारी। 

६. साउथ एसिया ब्याट्री बारा जिल्लामा दर्ता, ९२ करोड रुपैयाँ लगानी प्रतिबद्धता, ९१ जनालाई रोजगारी, वार्षिक १७ हजार वटा लिथियम आयन ब्याट्री र २० हजार वटा लिड एसिड ब्याट्री। 

७. सन्नी लिड इन्डस्ट्रीज सुनसरी जिल्लामा दर्ता, ३३ करोड ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ लगानी प्रतिबद्धता, १ सय जनालाई रोजगारी र वार्षिक ५५ हजार वटा लिड एसिड ब्याट्री, लिड इनगट २ हजार ४ सय मट्रिकटन र ५ सय वटा लिथियम आयन ब्याट्री। 

८. डबल विङस इलेक्ट्रिक भेहिकल मकवानपुरमा दर्ता, ८ करोड रुपैयाँ लगानी प्रतिबद्धता, ४० जनालाई रोजगारी र वार्षिक ९ सय वटा विद्युतीय स्कुटर र मोटरसाइकल, २ सय ५ वटा विद्युतीय कार र ३ सय वटा विद्युतीय तीन पांग्रे उत्पादन गर्ने। 

९. टीबीडी इन्फ्राटेक मकवानपुरमा दर्ता, १ अर्ब ८९ करोड ४९ लाख २० हजार लगानी प्रतिबद्धता, १ सय ३ जनालाई रोजगारी र वार्षिक ५ हजार वटा दुई पांग्रे विद्युतीय सवारी, विद्युतीय प्यासेन्जर कार ७ हजार वटा र विद्युतीय चार पांग्रे भ्यान २ हजार वटा र ५ हजार वटा चार्जर बनाउने। 

नेपालमा सवारी एसेम्बल गर्न भन्दै ६ दर्जनभन्दा बढी उद्योग दर्ता भइसकेका छन्। विगतमा हुलास मोटर्सले विराटनगरमा नेपालमै सवारी उत्पादन गर्दै आएको थियो। तर सरकारले २०६९ मा युरो थ्री स्तरको सवारी प्रदूषण मापदण्ड कार्यान्वयनमा ल्याएपछि उक्त उद्योग पूर्णरुपमा बन्द भयो। हाल उक्त उद्योगले पनि तीनपांग्रे विद्युतीय सवारी एसेम्बल गर्दै आएको छ। 

त्यसपछि बजाजको मोटरसाइकल नेपालमै एसेम्बल सुरु गरेको थियो। त्यसयता नेपालमा मोटरसाइकल तथा स्कुटर आयात गर्ने सबैजसो कम्पनीले नेपामै एसेम्बल गर्दै आएका छन्। बजाज, टीभीएस, यामाहा, रोयल इनफिल्ड, सुजुकी, होन्डालगायत ब्रान्डले मोटरसाइकल तथा स्कुटर एसेम्बल गरिरहेका छन्। त्यस्तै चीनबाट विद्युतीय स्कुटर आयात गर्दै आएका कम्पनीहरूले पनि सानो स्केलमा सीकेडी आयात गरेर वर्कशपमै भएपनि एसेम्बल गरिहेका छन्। 

चारपांग्रे सवारी एसेम्बल भने हुन्डाईले सुरु गरेको हो। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले एक वर्षअघिबाट नवलपरासीको रामग्राममा प्लान्ट स्थापना गरेर हुन्डाईको भेन्यु कार नेपालमै बनाइरहेको छ।

त्यस्तै कम्पनीले हुन्डाईको क्रेटा र आईटेन कार पनि परीक्षण उत्पादन गरिसकेको र बिक्रीका लागि ल्याउने तयारीमा रहेको छ। अन्य धेरै कम्पनीले नेपालमै कार बनाउने भनेर उद्योग दर्ता गरेपनि हालसम्म हुन्डाईबाहेक अन्य ब्रान्डले ठोस काम गरेका छैनन्।


प्रकाशित : शुक्रबार, चैत ८ २०८१०६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend