मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

चिनियाँ लसुन नेपाल हुँदै गएपछि आयातमै कडाइ गर्न भारतीय दबाब

बिहीबार , फागुन २९ २०८१
चिनियाँ लसुन नेपाल हुँदै गएपछि आयातमै कडाइ गर्न भारतीय दबाब

सीमा नाकामा दुई देशको संयन्त्रको चुस्त परिचालन र सघन बजार अनुगमनबाटै यसलाई न्यूनीकरण गर्न सकिने नेपाली पक्षले जवाफ दिइरहेको छ।

काठमाडौं- नेपाल हुँदै चिनियाँ लसुन आफ्नो देशमा अवैध बाटोबाट भित्रिएको भन्दै भारतीय पक्षले नेपाल सरकारलाई नियन्त्रणको आग्रहसहित निरन्तर दबाब दिँदै आएको छ। 

चालु आर्थिक वर्षको सुरुदेखि नै चीनबाट नेपालमा लसुनको आयात अस्वभाविक बढेको थियो। चीनबाट आयात बढेसँगै भारतीय नाकामा लसुनका ट्रक समातिन थालेका थिए। 

भारत आफैले चिनियाँ लसुनको आयातमा रोक लगाएपनि नेपालको बाटो हुँदै भित्रिएको भन्दै भारतीय प्रशासनले विभिन्न तहमा नेपाली पक्षलाई सचेत गराउँदै आएको थियो। पछिल्लो समय भने भारतले यसमा गम्भीर चासो दिएको अधिकारीहरूले बताएका छन्। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग (अर्थ मन्त्रालय), सीमा सुरक्षाको सन्दर्भमा सम्बन्धित संयन्त्र वा निकायमा भारतीय पक्षले चिनियाँ लसुनको आयात तथा व्यापारमा कडाइ गर्न आग्रह गरिरहेको छ। 

भारतीयहरूले नेपालको मागभन्दा धेरै लसुन आयात हुँदा पनि निर्वाध आयात हुन दिइरहेको सन्दर्भमा पनि चासो दिएका छन्। 

चालु वर्षको सात महिनामै ६ अर्ब २६ करोड रुपैयाँको लसुन आयात भएको छ। मूल्यमात्र नभएर परिणाम पनि उत्तिकै बढेको छ। यसअघिका वर्षमा बर्सेनि एक अर्ब हाराहारीको लसुन आयात हुँदा पनि पर्याप्त हुने बजारमा चीनबाट यो मात्राको लसुन आयात बढ्नु स्वभाविक देखिँदैन। वर्षको सुरुदेखि नै लसुनको आयातमा उछाल देखिएपछि अस्वभाविका भएको सरकारी अधिकारीहरूले बताउँदै आएका थिए। 

भारतले चीनको लसुन आयातमा रोक लगाएको र भारतीय बजारमा लसुनको मूल्य उच्च भएको मौका छोपेर नेपाली व्यवसायीले चीनबाट आयात गरी भारतमा बिक्री गर्ने गरेको विभिन्न श्रृंखलाबाट पुष्टि भएको छ।

अधिक विषादी तथा सस्तो मूल्यले भारतीय किसानलाई नोक्सानी हुने भन्दै भारतले चीनको लसुनमा रोक लगाएको छ। तर पनि नेपालका व्यवसायीले खुला सीमाको फाइदा उठाउँदै लसुन तस्करी गर्दै आएका छन्। यो तस्करीको व्यापारबाट मुलुकलाई लाभभन्दा हानी धेरै हुन्छ। भारतीय पक्षले यसमा निकै चासो देखाएको छ। लसुनको आयातमा कडाइ गर्न र सीमामा कडाइ गर्न भारतीय पक्षले निरन्तर पैरवी गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। त्यस्तै भन्सारसँग पनि भारतीय पक्षले निरन्तर चासो देखाएको छ। 

क्वारेन्टिन तथा अन्य केही उपायबाट चिनियाँ लसुनको आयातलाई केही मत्थर पार्न सकिएपनि रोक नै लगाउन भने सम्भव नभएको नेपाली पक्षले बताउँदै आएको छ। ‘हामीले यही भनिरहेका छौँ कि चिनियाँ लसुनलाई रोक लगाउन सकिँदैन। सामान्य माग पूर्तिका लागि पनि चीनसँगै निर्भर हुनुपर्ने बाध्यतामा हामी छौँ। यस्तोमा व्यापारजस्तो कुरामा निर्णय लिन कठिन हुन्छ’ वाणिज्य मन्त्रालयका एक अधिकारी भन्छन्। 

सीमा नाकामा दुई देशको संयन्त्रको चुस्त परिचालन र सघन बजार अनुगमनबाटै यसलाई न्यूनीकरण गर्न सकिने नेपाली पक्षले जवाफ दिइरहेको छ। 

नेपालमा चीनको लसुन ल्याएर भारतमा तस्करी, भूमिगत अर्थतन्त्रलाई मलजल नेपालमा चीनको लसुन ल्याएर भारतमा तस्करी, भूमिगत अर्थतन्त्रलाई मलजल


प्रकाशित : बिहीबार , फागुन २९ २०८१०९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend