मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपालमा चीनको लसुन ल्याएर भारतमा तस्करी, भूमिगत अर्थतन्त्रलाई मलजल

बुधबार, फागुन २८ २०८१
नेपालमा चीनको लसुन ल्याएर भारतमा तस्करी, भूमिगत अर्थतन्त्रलाई मलजल

चीनबाट आयात गर्दा मुलुकबाट विदेशी मुद्रा जाने तर त्यही रकमबाट आयात भएको लसुन तस्करीबाट भारत जाँदा त्यो मुद्रा मुलुकको खातामा प्रतिबिम्ब हुँदैन। यसले गर्दा मुलुकको अनौपचारिक व्यापारलाई सहयोग पुग्छ।

काठमाडौं- नेपालको आयात निर्यात व्यापारमा प्रत्येक वर्ष एउटा निश्चित वस्तु वा समूहको आयात व्यापक बढ्छ। नेपालमा उत्पादन नहुने भएपनि अर्को मुलुकबाट आयात बढ्ने गरेको छ। विगतका केही वर्षमा वनस्पतिको कच्चा तेलको आयात बढिरहेको छ। जुन अझै निरन्तर छ। यसमा पछिल्लो समय थपिएको छ लसुन। 

लसुन चालु आर्थिक वर्षको सात महिनामै ६ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ। मूल्यमात्र नभएर परिणाम पनि उत्तिकै बढेको छ। यसअघिका वर्षमा बर्सेनि एक अर्ब रुपैयाँ हाराहारीको लसुन आयात हुँदा पनि पर्याप्त हुने बजारमा चीनबाट यो मात्राको लसुन आयात बढ्नु स्वभाविक देखिँदैन।

वर्षको सुरुदेखि नै लसुनको आयातमा उछाल देखिएपछि अस्वभाविका भएको सरकारी अधिकारीहरूले बताउँदै आएका थिए। नेपालको बजारमा खपत हुने र मागका लागि यतिका मात्राको लसुन आयात भएको मान्न कोही पनि तयार छैनन्। तर यसको जवाफ कोहीसँग छैन। 

चीनबाट लसुन ल्याएर भारतमा तस्करी भइरहेको कुरा विभिन्न समयका घटनाक्रमले पुष्टि गरिसकेका छन्। यो आर्थिक वर्षको सुरुवातदेखि नै जतिबेला लसुनको आयात चीनबाट बढिरहेको थियो त्यतिबेला नै सीमा नाकामा नेपालबाट तस्करी हुँदै गरेको लसुन भारतीय सीमा सुरक्षा बलले कब्जा गरेको थियो। 

गएको भदौमा नेपालबाट भारतमा तस्करी हुँदै गरेको १६ टन लसुन जफत गरेर नष्ट गरिएको थियो। त्यस्तै असोज २ गते नवलपरासीमा नेपालको राजस्व अनुसन्धान विभागले ११ हजार किलो लसुन जफत गरेको थियो। 

त्यस्तै गएको मंसिर ५ गते सर्लाही प्रहरीले करिब १० टन लसुन भारत तस्करी हुँदै गरेको लसुन लोड गरिएको ट्रक समातेको थियो। भारतीय सुरक्षा निकायसँगै नेपाल प्रहरीले पनि सीमाबाट लसुन समातेको थियो। 

भारतले चीनको लसुन आयातमा रोक लगाएको र भारतीय बजारमा लसुनको मूल्य उच्च भएको मौका छोपेर नेपाली व्यवसायीले चीनबाट आयात गरी भारतमा बिक्री गर्ने गरेको यी श्रृंखलाबाट पुष्टि भएको छ। अधिक विषादी तथा सस्तो मूल्यले भारतीय किसानलाई नोक्सानी हुने भन्दै भारतले चीनको लसुनमा रोक लगाएको छ। तर पनि नेपालका व्यवसायीले खुला सीमाको लाभ उठाउँदै लसुन तस्करी गर्दै आएका छन्।

यो तस्करीको व्यापारबाट मुलुकलाई लाभभन्दा हानी धेरै हुन्छ। भारतीय पक्षले यसमा निकै चासो देखाएको छ। लसुनको आयातमा कडाइ  गर्न र सीमामा कडाइ गर्न भारतीय पक्षले निरन्तर पैरवी गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। त्यस्तै भन्सारसँग पनि भारतीय पक्षले निरन्तर चासो देखाएको छ। 

अर्कोतिर चीनबाट आयात गर्दा मुलुकबाट विदेशी मुद्रा जाने तर त्यही रकमबाट आयात भएको लसुन तस्करीबाट भारत जाँदा त्यो मुद्रा मुलुकको खातामा प्रतिबिम्ब हुँदैन। यसले गर्दा मुलुकको अनौपचारिक व्यापारलाई सहयोग पुग्छ। 

तस्करी भएको थाहा हुँदा पनि नियन्त्रण गर्न सकिने अवस्था नरहेको भन्सारकै अधिकारीहरू बताउँछन्। ‘हामीलाई थाहा छ कि यो राम्रो भइरहेको छैन, ठीक त्यसैगरी जसरी भारतबाट धेरै वस्तुको यसैगरी आयात हुँदा हामीलाई क्षति भइरहेको छ’ भन्सारका एक अधिकारी भन्छन्। 


प्रकाशित : बुधबार, फागुन २८ २०८१०९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend