युनिलिभर लामो विरासत बोकेको पुरानो बेलायती कम्पनी हो। नेपालमा विगत ३२ वर्षको यात्रा सफल र फलदायी रहेको छ। एउटा उत्पादनबाट सुरु गरेको नेपाल यात्रा हाल १६४ वटा उत्पादनमा पुगिसेकको छ। यी उत्पादन गुणस्तरको हिसाबले अरुभन्दा अब्बल छन्।
युनिलिभरले गुणस्तरमा कहिल्यै सम्झौता गर्दैन। नेपालमा पनि युनिलिभर उद्योग उत्कृष्टमध्येकै हो। प्रक्रिया, गुणस्तर र दक्षताको हिसाबले युनिलिभरका दक्षिण एसियाली ३२ वटा उद्योगमध्ये नेपालको उद्योग चौथो स्थानमा छ।
विश्वभर हामीले युनिलिभरमा जुन गुणस्तर कायम गरेका छौँ त्यही गुणस्तर नेपालमा पनि रहेको छ। अन्तर्राष्ट्रिय मापदण्ड पालन गरेर हामीले हाम्रो व्यापारिक गुणस्तर एकसाथ कायम गरिरहेका छौँ। यसलाई भविष्यमा पनि कायम नै राख्नेछौँ।
नेपाली पुँजी बजारमा पनि हामी सफल कम्पनीका रुपमा दरिएका छौँ। नेप्सेमा सूचीकृत कम्पनीहरूमा हामी शीर्ष स्थानमा नै छौँ। हाम्रो सेयर मूल्य उच्च रहेको छ। सबैभन्दा राम्रो लाभांश पनि दिँदै आएका छौँ। यी सबै उदाहरणीय ढंगले अघि बढिरहेका काम हुन्। अन्य कर्पोरेट र विदेशी कम्पनीहरूले पनि युनिलिभरबाट सिक्नुपर्छ भन्ने लाग्छ।
युनिलिभरले जस्तै गुणस्तरमा ध्यान दिन सकियो भने नाफामूलक व्यवसाय फस्टाउन सक्छ भन्ने सन्देश पनि हामीले दिइरहेका छौँ। यो सबैमा उपभोक्ताको स्थान सबैभन्दा माथि रहन्छ। हामीले उपभोक्तालाई बेवास्ता गर्नु हुँदैन। नेपाली उपभोक्ताले युनिलिभरमार्फत विश्वस्तरीय गुणस्तरु भएका उत्पादन प्रयोग गर्दै आएका छन्। सबै कम्पनीले गुणस्तरमा ध्यान दिँदा सफल भइन्छ भन्ने पाठ युनिलिभरमार्फत लिन सकिन्छ।
प्रविधिमा भएको विकाससँगसँगै चल्न सक्नु पनि युनिलिभरको सफलता हो। चाहे वित्तीय सञ्चालनमा होस् या मार्केटिङका हिसाबले होस् हामी हरेक क्षेत्रमा संसारभर परिष्कृत नयाँ प्रविधि प्रयोग गर्दै आएका छौँ। प्रविधिको सही प्रयोगमार्फत हामीले गुणस्तरीय उत्पादन उपभोक्तासमक्ष फस्किँदै आएका छौँ।
नेपालमा लगानी गर्न इच्छुकहरूले प्रविधिसहित दक्ष जनशक्ति लिएर काम गर्नुहोस् भन्ने सुझाव दिन चाहन्छु। यद्यपी नेपालमा लगानी गर्न विभिन्न समस्याहरू पनि छन्। मुख्य समस्या भनेको यहाँको जटिल कर प्रणाली हो। नेपालले विदेशी लगानी आकर्षित गर्ने हो भने विश्वभर भइरहेका प्रगतिशील कर प्रणाली अपनाउनु पर्छ।
नेपालमा अर्को समस्या भनेको बहुराष्ट्रिय कम्पनीलाई दिनुपर्ने रोयल्टी भुक्तानी हो। यदि बहुराष्ट्रिय कम्पनी यहाँ सञ्चालन गर्छन् भने रोयल्टी तिर्नुपर्ने हुन्छ। ती रोयल्टी अभिभावक कम्पनीलाई दिनुपर्ने हुन्छ। प्रविधि र दक्ष जनशक्ति प्रयोग गरेर गुणस्तरीय उत्पादन प्रदान गरेबपात बहुराष्ट्रिय कम्पनीको अभिभावक कम्पनीलाई रोयल्टी तिर्छौँ। यसमा कुनै सम्झौता हुन सक्दैन, किनभने यो संसारभर चलिआएको हो र नेपालमा पनि यही हुनुपर्छ। त्यसैले यसलाई खर्चको रूपमा लिनुपर्छ, नाफाको रूपमा होइन। किनभने यो कर नलाग्ने आय हो।
नेपालमा उत्पादन गर्न उद्योगशक्तिको अभावका कुराहरू पनि सुनिरहेका हुन्छौँ। तर नेपालमा हाम्रो उद्योगमा कोभिडको समयपछि श्रम उत्पादकव वृद्धि निकै नै राम्रो भएको पाएका छौँ। हाम्रो उद्योगमा एक व्यक्तिले गर्ने काम एक घण्टाको समयमा पूरा गर्न सक्नेगरी संरचनाहरू बनेका छन्। जुन विश्वका धेरै ठाउँमा सम्भव नहुन सक्छ। यो नेापली श्रमिकहरूले नै सम्भव बनाएका हुन्। नेपाल सरकारका अधिकारीहरूले सम्भव बनाएका हुन्। हामी सबै मिलेर यो सम्भव बनाएका हौँ। त्यसैले यदि युनिलिभरले गर्न सक्छ भने नेपालमा जुनकुनै कम्पनी आएर सफलरुपमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्छ।
युनिलिभरले नेपालमा विभिन्न अनुसन्धान तथा विकासका काममा साथै उत्पादन विस्तार गर्ने योजना राखेको छ कि छैन भन्ने जिज्ञासा पनि धेरैले राख्नुभएको छ। नेपालजस्तो देशका लागि अनुसन्धान र विकासको ओचित्य के छ? यस विषयमा बुझ्नुपर्ने पहिलो कुरा के हो भने युनिलिभर 'मध्यम वर्गीय मानसिकता'मा विश्वास गर्छ।
हामी प्रत्येक रुपैयाँ किन खर्च गरिरहेका छौँ र त्यो खर्चको प्रभावकारिता के छ भनेर सावधानिपूर्वक मूल्यांकन गर्छौँ। नेपाललाई के चाहिन्छ भने गुणस्तर नियन्त्रण, अनुसन्धान तथा विकास नै हो। किनभने यदि तपाइँ हाम्रो उद्योगमा जानुहुन्छ भने धेरैजसो उत्पादनको प्रक्रिया नै यस्तो छ कि कामदारले हातले छुनै पर्दैन। हाम्रो उत्पादन प्रक्रिया 'नो टच प्रोडक्सन' हो।
हामीले नेपालमा विगत तीन वर्षमा नै लगभग ७ मिलियन पाउन्ड लगानी गरिसकेका छौँ। हाम्रो उद्योगलाई आधुनिकीकरण गर्न र विश्वस्तरीय उत्पादन गुणस्तर कायम गर्न नै लगानी थप गरिरहेका हौँ।
हाम्रो हरेक उत्पादन उत्पादित समयमा नै वास्तविक जाँच गरिन्छ। गुणस्तर मापनका लागि परीक्षण केन्द्रमा पठाइन्छ। यदि परीक्षण पास भयो भनेमात्र प्याकेजिङ गरिन्छ। यदि पास भएन भने उपभोक्ताकोमा ती सामान पठाइँदैन।
युनिलिभरले नेपालकै लागि भनेर छुट्टै अनुसन्धान र विकासमा काम गर्नुपर्छ भन्ने चाहिँ लाग्दैन। किनभने छिमेकी भारतमा उही उपभोक्ताका लागि अनुसन्धान र विकासमा विभिन्न विशाल कामहरू भइरहेका छन्। नेपाल र भारतको उपभोक्ता रूचिमा त्यस्तो ठूलो भिन्नता छैन। हामी हाम्री आविष्कार यहाँ नै हुनुपर्छ भन्ने मान्यता राख्दैनौँ। जुन प्रविधि विश्वभर परीक्षण भएर प्रभावकारी साबित भइसकेका छन्, तिनै प्रविधिहरू नेपालमा पनि लागु गर्छौँ।
नेपालमा प्रविधिको प्रयोग कत्तिको प्रभावकारीरूपमा भइरहेको छ भन्ने एउटा उदाहरण दिन चाहन्छु। हामीले नेपालभर ५५ हजार खुद्रा पसलहरूमा उत्पादन वितरण गर्छौँ। यीमध्ये ९५ प्रतिशत जीपीएस ट्यागिङ भएका छन्। प्रतिनिधिहरूले हाम्रो बिक्री वास्तविक रुपमा ती स्थानहरूमा पुगेको पुष्टि गर्न सक्छन्। हामी 'एआई' प्रयोग गरेर मागहरूको पूर्वानुमान पनि गर्छौँ। बिक्री भएको तथ्यांकको आधारमा पसल सञ्चालकहरू कति उत्पादन अर्डर गर्ने भन्ने सुझाव पनि दिन्छौँ।
नेपालमा इन्टरनेटको पहुँच पनि अत्यन्त राम्रो छ। हाम्रा ७७ प्रतिशत उपभोक्ता इन्टरनेटमा जोडिएका छन्। त्यसैले हामी प्रविधि केवल कुन सामानको प्रयोग कस्तो छ भन्ने जान्नका लागिमात्र प्रयोग गर्दैनौँ, आवश्यक मात्रामा हरेक क्षेत्रमा प्रविधि अपनाउँछौँ।
नेपालको भूगोल र जनसंख्या विचार गरेर आवश्यक प्रविधिहरू नेपालमा प्रयोग गर्नुपर्छ। प्रविधि चयन गर्दा यहाँको आवश्यकतालाई विशेषरुपमा बुझ्नुपर्छ। नेपालमा लगानी, सञ्चालन र प्रविधि व्यवस्थापन सन्तुलितरुपमा गर्न सकिन्छ।
('नेपाल-युके बिजनेस फोरम २०२५' मा युनिलिभर नेपालका कार्यकारी निर्देशक अम्लन मुखर्जीले राखेका विचारको सम्पादित अंश।)