शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

एनओसी पाएको ११ महिनासम्म पनि सम्पर्कमै आएनन् भवन भट्ट, बीबी एयरवेजले ल्याउन सकेन जहाज

अपत्यारिलो वित्तीय विवरण पेश गर्दै राजनीतिक प्रभावमा लिइएको थियो एनओसी

images
बुधबार, माघ ३० २०८१
images
images
एनओसी पाएको ११ महिनासम्म पनि सम्पर्कमै आएनन् भवन भट्ट, बीबी एयरवेजले ल्याउन सकेन जहाज

एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले जहाज ल्याउन नसकेपछि बीबी एयरवेजको 'एओसी' पुनः निलम्बनमा संघारमा पुगेको छ। ६ महिनामा दुई ठूला जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गर्दै 'एनओसी' लिइएको थियो।

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट अध्यक्ष रहेको 'बीबी एयरवेज'ले जहाज ल्याउन 'एनओसी' पाएको ११ महिना पूरा भएको छ। एयरलाइन्स कम्पनीले 'एनओसी' पाएको एक वर्षभित्र जहाज ल्याएको अवस्थामा मात्रै उडानको लागि 'एओसी' पाउने छ।

images
images
images

'एनओसी' पाएको एयरवेजले एक वर्षमा दुईवटा जहाज अनिवार्य ल्याउनु पर्छ। तर भट्टले जहाज खरिदका लागि अहिलेसम्म कुनै प्रक्रिया नै सुरु नगरेको स्रोतको दाबी छ। अहिले भट्ट तथा बीबी एयरवेजका कुनै पनि प्रतिनिधि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पर्कमा छैनन्।

images
images

केही महिना अगाडिमात्रै जहाज ल्याउन लागेको भन्दै भट्टले झुटो प्रचार गरेका थिए। जब कि बीबी एयरवेजले वित्तीय व्यवस्थापनको विषयमा नै बनावटी कागजपत्र पेश गर्दै एनओसी लिएको थियो।

images
images
images

बीबी एयरवेजले एनओसीका लागि प्राधिकरणमा पेश गरेको प्रतिवेदनमा उल्लेख भएको वित्तीय व्यवस्थापनको विषय निकै कमजोर र लागु हुन नै नसक्ने थियो। तर भट्टले राजनिति शक्तिको आडमा प्राधिकरणबाट एनओसी लिएका थिए। उक्त एनओसी अन्तत: खारेज हुने अवस्थामा पुगेको छ।

भट्टको बीबी एयरवेजलाई प्राधिकरणले २०२४ मार्च १२ मा तीनवटा एयरबस खरिद तथा भाडामा ल्याउन अनुमति दिएको थियो।प्राधिकरणले उक्त अनुमति २०२५ को मार्च ११ सम्म लागु हुने उल्लेख गरेको थियो। अब बीबी एयरवेजले एक महिनाभित्र दुईवटा जहाज ल्याएको अवस्थामा मात्रै एओसी पाउने छ। तर जहाज ल्याउन नसकेको अवस्थामा सबै प्रक्रिया खारेज हुने छ। यस्तो अवस्थामा बीबी एयरवेजले एओसीका लागि पुन: सुरुवाती चरणबाट नै प्रक्रिया सुरु गर्नुपर्ने छ।

लगानीकर्ताबाट रकम उठाउन असफल

भट्टले जहाज ल्याएर उडान गर्नेभन्दा पनि बीबी एयरवेजको इजाजत नवीकरण गर्ने योजनाअनुसार काम गरेका थिए। लाइसेन्स नवीकरण भएपछि लगानीकर्ताबाट रकम उठाउनका लागि भट्टले स्रोतको सुनिश्चितता नै नभइ एनओसी लिएका थिए।

भट्टको वित्तीय तथा व्यावसायिक योजनामा लगानीकर्ताले विश्वास गरेका छैनन्। यसअघि नै भट्टको वित्तीय तथा व्यावसायिक योजनामा प्राधिकरणसमेत सन्तुष्ट थिएन। तर राजनितिक शक्तिको गलत प्रयोग गरेर भट्ट एनओसी लिन सफल भएका थिए।

भट्टले जहाज ल्याउन अनुमति पाएपछि विभिन्न नेपाली तथा विदेशी लगानीकर्तासँग वार्ता गरेका थिए। तर उनको योजनामा कसैले पनि चासो दिएनन्। जसका कारण भट्टले जहाज खरिद प्रक्रिया नै अगाडि बढाउन सकेका छैनन्।  

एनओसी पाएसँगै ६ महिनामा दुईवटा जहाज ल्याएर उडान सुरु गर्ने भट्टले बिजेनेस न्युजसँगकै कुराकानीमा बताएका थिए। तर ११ महिनासम्म भट्ट उड्डयन प्राधिकरणको सम्पर्कमा नै नआएको स्रोतको दाबी छ।

एनओसी पाएको एक वर्षमा जहाज नल्याए स्वत: एनओसी रद्द हुने प्राधिकरणले जनाएको छ। यस्तोमा भट्ट अहिले सम्पर्कभन्दा बाहिर रहँदै दुबई गएर बसिरहेका छन्। 

बीबी एयरवेजले पाँचवटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुरुप लाइसेन्स नवीकरण गर्दै 'एओसी'का लागि प्राधिकरणमा पत्र दिएको थियो।

२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान 'बोइङ ७५७-२००' सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो। तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी निलम्बनमा परेको थियो।

बीबी एयरवेजले सबैभन्दा पहिला लाइसेन्समा फ्लिट (जहाज) को प्रकार परिवर्तन गर्दै इजाजत नवीकरण गरको थियो। पहिले बोइङ ल्याएर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भन्दै लिएको लाइसेन्स बीबी एयरवेजले एयरबस जहाज ल्याएर उडान गर्नेगरी अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गरेको थियो।

एयरलाइन्स सञ्चालनको अनुमतिसँगै निलम्बनमा परेको एओसी ब्युँताउने प्रक्रिया एयरवेजले सुरु गरेको थियो। एयरवेजले एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गर्नासाथ एओसी ब्युँताउन प्राधिकरणमा निवेदन दिएको थियो। बीबी एयरवेजले प्रि-एप्लिकेसन, एप्लिकेसन र डकुमेन्टेसन चरण पार गरेको हो। डकुमेन्टेसन चरणमा नै बीबी एयरवेजको व्यावसायिक/वित्तीय व्यवस्थापनसम्बन्धी योजना स्वीकृत भएको थियो। सुरूमा दुईवटा एयरबसका न्यारोबडी जहाज ल्याएर उडान सुरू गर्ने योजना बनाएको बीबीले कुल लागत २ अर्ब ५३ करोड रुपैयाँ अनुमान गरेको थियो। यसमा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने अनुमान थियो।

लगानीको भरपर्दो आधारबिनै पाएको थियो एनओसी

भट्टले लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एयर अपरेटर सर्टिफिकेट (एओसी) माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका थिए। बीबी एयरवेजको नयाँ व्यावसायिक योजना विश्वसनीय र भरपर्दो नदेखिएको प्राधिकरणले गठन गरेको अध्ययन समितिले निष्कर्ष निकालेको थियो।

व्यावसायिक योजना स्वीकृत भएपनि जहाज चलाउनका लागि आवश्यक वित्तीय व्यवस्थापन नहुने अवस्था देखिएको समितिले ठहर गरेको थियो। तत्कालीन समयमा भट्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साथ रहेको थियो। जसका कारण प्राधिकरणले दबाबमा परेर एनओसी दिएको थियो। जुन विषय अहिले पुष्टि भइसकेको छ।

२ अर्ब ५३ करोड लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एओसी माग्दै भवन भट्ट २ अर्ब ५३ करोड लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एओसी माग्दै भवन भट्ट

तत्कालिन समयमा समितिले जहाज उडाउनेभन्दा पनि लाइसेन्सको कारोबार हुनसक्ने व्यवस्थालाई रोक्नका लागि भन्दै वित्तीय व्यवस्था भरपर्दो हुनुपर्ने पूर्वसर्त राखेको थियो। बीबी एयरवेजको वित्तीय व्यवस्थापन कमजोर देखिएको थियो। 

स्वपुँजीसँगै ऋण कहाँबाट ल्याउने भन्ने कुराको विश्वसनीय आधार बीबी एयरवेजको योजनामा प्रस्तुत नभएको समितिले नै ठहर गरेको थियो। साथै समितिले ऋणको लागत अनुमान पनि औसत १० प्रतिशत गरिएको र यो पनि भरपर्दो नभएको ठहर गरेको थियो। 

वित्तीय व्यवस्थालाई ख्याल नगरी योजना प्रस्तुत गरिएको तथा आम्दानी र खर्चको प्रक्षेपणमा तालमेल नभएको, जहाज लिज, संख्या र उडानपूर्वको तयारी पनि योजनामा नदेखिएको समितिको ठहर थियो। 

यसका साथै बीबी एयरवेजको बक्यौता पनि देखिएको र विश्वसनीय व्यावसायिक योजनाबिनै एनओसी दिन नहुने समितिले सिफारिस गरेको थियो। यस्तोमा राजनीतिक प्रभावमा एनओसी लिएका भट्टले अन्तत: जहाज नै ल्याउन नसक्ने देखिएको छ।

५ वटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्नेगरी तयार भएको बीबी एयरवेजको व्यावसायिक योजना स्वीकृत ५ वटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्नेगरी तयार भएको बीबी एयरवेजको व्यावसायिक योजना स्वीकृत  


प्रकाशित : बुधबार, माघ ३० २०८११०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend