शनिबार, असोज ५ गते २०८१    
images
images

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

images
शनिबार, माघ १५ २०७८
images
images
ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए।

images
images

बे‍नी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका-७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो। आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए।

images
images
images

'बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ', उनले भने, 'एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न सुरु गर्छौं।'

तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ। एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए। 

कुल तीन अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन्। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युतगृहको कामले गति लिएको छ। 

images

विद्युतगृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ। राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युतगृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताए।  

यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका-३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ। ठूलोखोला राहुघाटको सहायक नदी हो। विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन्। 

५.५ मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ। यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन्। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। 

तुदी पावर लिमिटेड प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो। प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा-७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ। बगरखोला पनि राहुघाटको सहायक नदी हो। 

रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ। कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले जनाएको छ। 

राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र संघीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। रासस


प्रकाशित : शनिबार, माघ १५ २०७८०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend