आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

अपर तामाकोशीको बैठकमा यसरी धम्की र हातपातसम्म पुगे कुलमान घिसिङ

images
बिहीबार , माघ २४ २०८१
images
images
अपर तामाकोशीको बैठकमा यसरी धम्की र हातपातसम्म पुगे कुलमान घिसिङ

विगतमा हरेक एजेन्डामा राम्ररी अध्ययन नै नगरी हस्तक्षर गर्ने सञ्चालकहरू यसपटकको बैठकमा भने चनाखो थिए। खरिदमा यसरी एकल कम्पनीलाई सुम्पिन नहुने र प्रतिस्पर्धामा अन्यलाई रोक्ने नीति लिनु गलत भएको उनीहरूले बताएका थिए।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हिजो बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सञ्चालक सदस्यबीच चर्किएको विवादले उग्र रुप लिएको थियो। विवाद चर्किँदा 'यो सरकार र बोर्ड उस्तै छ, दुवै मेरो बदनाम गर्न लागेका छन्' भन्दै घिसिङ एक सदस्यमाथि हातपातमै उत्रिएका थिए। 

images
images

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सबै सञ्चालक सदस्यहरूलाई बुधबार बिहान सूचना पठायो, 'बुधबार साँझ ५:३० मा २९५ औँ बैठक कम्पनीको कार्यालय ज्ञानेश्वरमा रहेकोले सोहीअनुसार उपस्थिति जनाएर छलफलमा भाग लिनु होला।' अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सचिव सुरेशराज खकुरेलले बैठक बस्नेबारे सबैलाई सूचना पठाएका थिए। कम्पनीको अध्यक्ष नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ हुन्।

images
images

बुधबार बिहानै कम्पनीको नयाँ सञ्चालकको रूपमा प्राधिकरणका निमित्त उपप्रबन्ध निर्देशक मोतिलाल महतरा र राजनऋषी कँडेललाई नियुक्त गरिएको नयाँ सूचना पनि सञ्चालकहरूलाई पठाइयो। निमित्तलाई सञ्चालकको रूपमा अध्यक्ष घिसिङले नियुक्त गरेपछि सञ्चालकबीच खैलाबैला सुरू भएको थियो।

images
images

भनिएको समयअनुसार नै बैठक बुधबार साँझ ५:३० मा सुरु भयो। यसअघिका बैठकमा ढिला गरेरमात्र उपस्थित हुने घिसिङ बुधबारको बैठकमा भने १५ मिनेटअघि नै पुगेका थिए। बहुमत पुर्‍याउनका लागि निमित्तलाई सञ्चालकको जिम्मेवारी दिएर आर्थिक भुक्तानीसँग जोडिएका विषयमा घिसिङलाई छिटो निर्णय गराउनु थियो। 

सोहीअनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद गौतमले बैठक अगाडि बढाए। बैठकमा नयाँ सदस्यसहित अधिकांश उपस्थित थिए। उपस्थित सञ्चालकलाई बैठकको एजेन्डा दिइयो। बोर्डको पदेन सदस्य नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी भने उपस्थित भइनन्। 

पहिलो एजेन्डाको रूपमा २०८१ असोज १२ मा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधस्थलमा आएको पहिरोका कारण सेटिङ बेसिन माथि रहेको पहिरो रोकथाम गर्ने कार्यको खरिद प्रक्रियाको सम्बन्धमा रहेको थियो। त्यस्तै दोस्रोमा २०८१ असोज ११ र १२ मा आएको अविरल वर्षाले २०८१ असोज २६ गते क्षति भएको गोंगर खिम्ति २२० केभी प्रसारणलाइनअन्तर्गतको टावरलाई स्थानान्तरण गरी स्थायी समाधानको परामर्श सेवाको लागि एनइए इन्जिनियरिङ कम्पनीबाट पेश भएको परिमार्जित आर्थिक प्रस्ताव स्वीकृत गरी सो कार्यको लागि बजेट विनियोजन गर्ने सम्बन्धमा थियो। तेस्रोमा विविध विषय राखिएको थियो।

विगतमा हरेक एजेन्डामा राम्ररी अध्ययन नै नगरी हस्तक्षर गर्ने सञ्चालकहरू यसपटकको बैठकमा भने चनाखो थिए। खरिदमा यसरी एकल कम्पनीलाई सुम्पिन नहुने र प्रतिस्पर्धामा अन्यलाई रोक्ने नीति लिनु गलत भएको उनीहरूले बताएका थिए। सोही समयदेखि नै आक्रोशित मुद्रामा थिए अध्यक्ष घिसिङ।

एजेन्डामा छलफल हुँदै गर्दा एक स्वतन्त्र सञ्चालक बैठकमा आए। बैठकमा ती सदस्यले पहिले सबै कुरा सुनेर बसेका थिए। उनलाई बोल्न समय दिइयो। त्यसपछि भने बैठकमा तनाव सुरू भयो। बैठकमा सहभागी एक सदस्यका अनुसार ती सदस्यले अध्यक्ष घिसिङलाई सम्बोधन गरेर सुझाव दिन सुरू गरेका थिए।

बैठकमा एकाएक नयाँ सदस्यलाई ल्याइएको तर त्यसलाई एजेन्डाको रुपमा नराखिएको विषयमा उनले कुरा राखेका थिए। 'बैठकमा पहिले त लिखितरुपमा बोर्ड सदस्यको रुपमा स्वागत गरिनुपर्दछ, तर यहाँ सिधै निर्णयमा सहभागी गराइएको छ। यस्तो किन भयो?' उनले प्रश्न गरेका थिए। 

खासगरी प्राधिकरणकै अन्य सहायक कम्पनीमा बैठककै एजेन्डाअन्तर्गत राखेर नयाँ सदस्यलाई स्वागत गरेपछि मात्रै निर्णयमा सहभागिता गराइने व्यवस्था छ। तामाकोशी कम्पनीकै हकमा पनि विगतमा सोहीअनुसार गरिएको थियो।

ती सदस्यले प्राधिकरणका तर्फबाट आएका सञ्चालक सदस्यहरू वैकल्पिक हो भने ठीकै छ, पूर्ण सदस्य हुन् भने त नियुक्तिको एजेन्डामा पनि कुरा गर्नुपर्ने विषय उठाएका थिए। ती सदस्यले नियुक्तिको रीत नपुर्‍याइकन कुनै निर्णयमा कसरी हस्ताक्षर गर्न मिल्छ भनेर प्रश्न गरेका थिए।

'आज कुनै निर्णयमा उहाँहरूले हस्ताक्षर गर्नुभयो, तर भोलि नियुक्तिको रीत नमिलेको भन्दै न्यायिक निकायले फैसला गर्‍यो भने उहाँहरूको हस्ताक्षरको बैधता के हुन्छ,' ती सदस्यले घिसिङसँग प्रश्न गरेका थिए। 'तर अध्यक्ष घिसिङ एकैपटक आक्रोशित हुनुभयो गाली गर्दै मुख छाड्नु थाल्नु भयो,' बैठकमा रहेका अर्का सदस्यले भने।

बैठकमा सहभागीहरूका अनुसार घिसिङ आक्रोशित मात्रै नभएर हातपातमै उत्रिए। घिसिङले अनादारार्थी शब्द प्रयोग गरेर अपमानजनक व्यवहार गरेपछि ती सदस्यले मुख नछाड्न र बैठकमा पदको मर्यादा राख्न चेतावनी दिएका थिए। तर पनि घिसिङले 'यो सरकार र बोर्ड उस्तै छ, दुवै मेरो बदनाम गर्न लागेका छन्' भन्दै नराम्रा शब्दहरू प्रयोग गरिरहे। 

बैठकमा घिसिङले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउँदै सञ्चालक समितिका सदस्यहरू हेराहेर गरिरहे। सीईओ मोहनप्रसाद गौतम पनि चुपपाच हेरिरहे।

त्यसपछि पनि थप आक्रोशित देखिएका अध्यक्ष घिसिङले उठेर अगाडि रहेको सीसाको गिलास प्रहार गर्न हात उठाए। उनको नजिकै रहेका नयाँ बोर्ड सदस्यहरू मोतिलाल महतरा र राजनऋषी कँडेलले घिसिङको हात समातेर उनलाई रोकेको बैठकमा सहभागीहरू बताउँछन्। 'ती दुई सदस्यले आक्रोशित नहुनु सर भन्दै पाखुरामा समातेर बाहिर लिएर गए' बैठकमा सहभागी एक सदस्यले बताए। 

सरकारले स्पष्टीकरण सोधेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत माघ ८ गते हतारहतार माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको बैठक बोलाए पनि बहुमत सदस्यले बहिस्कार गरेपछि स्थगित भएको थियो। सोही कारण घिसिङले बुधबार नै मोतिलाल महतरा र राजनऋषी कँडेललाई नियुक्त गरेर बैठक बोलाएका थिए।

सरकारले यसअघि नै एक साता अवधि तोकेर घिसिङलाई स्पष्टीकरण सोधेको थियो। घिसिङले ऊर्जा मन्त्रालयले आफूलाई हटाउन नमिल्ने भन्दै गोलमटोल जवाफ दिएका थिए। मन्त्रालयले स्पष्टीकरणको अध्ययन जारी राखेको बेला घिसिङले बैठक राखेको भन्दै यसअघि बहुमत सदस्यले बहिष्कार गरेका थिए। 

तामाकोशीको अध्यक्षमा घिसिङ छन् भने सदस्यहरूमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, कर्मचारी सञ्चय कोषबाट दर्शन भट्टराई, नेपाल विद्युत प्राधिकरणकै मदन तिमिल्सिना रहेका छन्। त्यस्तै सृजना सुवेदी, राजन श्रेष्ठ, हरिप्रसाद भुर्तेल र दीपक कार्की पनि सञ्चालक सदस्य रहेका छन्। हेमन्त पोखरेल र भोलानाथ घिमिरे पनि नागरिक लगानी कोष र बीमा संस्थानबाट सदस्य रहेका छन्।

अपर तामाकोशीको सञ्चालक समिति बैठकमा लफडा, अध्यक्ष कुलमान घिसिङ नै गिलास बोकेर उत्रिए हातपातमा


प्रकाशित : बिहीबार , माघ २४ २०८११८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend