काठमाडौै- नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकमा गिलास हानाहान भएको छ।
कम्पनीको बोर्ड बैठकमा विवाद हुँदा बोर्डका अध्यक्षसमेत रहेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वतन्त्र सञ्चालकलाई गिलास प्रहार गरेका हुन्।
बैठकमा आर्थिक विषयमा एजेन्डा पेश भएको थियो। छलफलकै क्रममा एक सञ्चालकले छलफलबाट मात्रै विषय निवारण गर्नुपर्ने, भुक्तानीमा आर्थिक पारदर्शीता हुनुपर्नेलगायत विषय उठाएका थिए। सोही विषयमा एक्कासी अध्यक्ष घिसिङले सूचना चुहाउने गरेको भन्दै गिलासले प्रहार गरेका हुन्।
यसअघिको कम्पनीको बैठकमा घिसिङलाई केही सञ्चालक समिति सदस्यहरूले बहिस्कार गरेका थिए। आज बहुमत पुर्याउन निमित्त निर्देशकलाई बोर्ड सदस्य नियुक्त गरेर ५ः३० मा बैठक डाकेका थिए। ज्ञानेश्वरस्थित अपर तामाकोशीको कार्यालयमा बसेको बोर्ड बैठकमा घिसिङ निक्कै आक्रोसितरुपमा प्रस्तुत भएका थिए।
आफूलाई असफल बनाउन लागेको भन्दै बैठकमा सबैविरूद्ध घिसिङ आक्रामक भएका थिए। सोहीक्रममा स्वतन्त्र सञ्चाकलले आर्थिक पारर्दिशता र लाखौँ लगानीकर्ताको लगानी सुरक्षित हुने ग्यारेन्टीका विषयमा छलफल हुनुपर्ने भनेपछि कुर्चीबाट उठेर घिसिङ सञ्चालकमाथि गिलास बोकेर जाइलागेका हुन्। घिसिङले गिलास प्रहार गर्दै हातपातमा उत्रेपछि दुईजना सञ्चालकले घिसिङलाई बैठक कक्षबाट बाहिर लगेका थिए।
रामजी भण्डारी साथै प्राधिकरणका लोकहरि लुइँटेल अनिवार्य अवकाशमा गएपछि उनीहरूको ठाउँमा १२ औँ तहसमेत नभएका निमित्त उपप्रबन्ध निर्देशक (डिएमडी) मोतिलाल महतरा र राजनऋषी कँडेललाई आज बुधबार नै नियुक्त गरेर घिसिङले बैठक बोलाएका थिए।
गत माघ ८ गते बोलाएको बैठकमा बहुमत नपुगेपछि बैठक स्थगित भएको थियो। सोही कारण घिसिङले बुधवारनै निमित्त उपप्रबन्ध निर्देशक (डिएमडी) सञ्चालकमा नियुक्त गरेका हुन्।
सरकारले स्पष्टीकरण सोधेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत माघ ८ गते हतारहतार माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको बैठक बोलाए पनि बहुमत सदस्यले बहिस्कार गरेपछि स्थगित भएको थियो।
सरकारले यसअघि नै एक साता अवधि तोकेर घिसिङलाई स्पष्टीकरण सोधेको थियो। घिसिङले ऊर्जा मन्त्रालयले आफूलाई हटाउन नमिल्ने भन्दै गोलमटोल जवाफ दिएका थिए।
मन्त्रालयले स्पष्टीकरणको अध्ययन जारी राखेको बेला घिसिङले बैठक राखेको भन्दै यसअघि बहुमत सदस्यले बहिष्कार गरेका थिए। यसअघि गएको मंसिर १७ गते बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन।
तामाकोशीको अध्यक्षमा घिसिङ छन् भने सदस्यहरूमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, कर्मचारी सञ्चय कोषबाट दर्शन भट्टराई, नेपाल विद्युत प्राधिकरणकै मदन तिमिल्सिना रहेका छन्। त्यस्तै सृजना सुवेदी, राजन श्रेष्ठ, हरिप्रसाद भुर्तेल र दीपक कार्की पनि सञ्चालक सदस्य रहेका छन्। हेमन्त पोखरेल र भोलानाथ घिमिरे पनि नागरिक लगानीकोष र बीमा संस्थानबाट सदस्य रहेका छन्।