शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै

images
बुधबार, माघ १६ २०८१
images
images
लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै

करिब तीनसय ५० जना अट्ने क्षमताको सभाहल रहेको छ। यहाँ विभिन्न संघसंस्थाको सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रम हुने गरेको छ। उनका अनुसार पर्यटकीय क्षेत्रमा दिनमा एक सयभन्दा बढी अवलोकन गर्न आउने गर्छन्।

images
images

पाल्पा- लौरेपालो शब्द अहिले कतै सुनिँदैन। यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ। लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग। पाल्पाको रामपुर नगरपालिका-५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ। तर अहिले लौरेपालेको चलन यहाँ छैन।

images
images
images

वनले नयाँ स्वरुप धारण गरेर एउटा पर्यटकीय केन्द्रको रुपमा विकसित बनेको छ। अहिले यहाँको पर्या-पर्यटनले पर्यटकलाई आकर्षित बनाएको छ। रामपुरको केन्द्र भागमा अवस्थित रहेकाले हराभरा, पर्यटक लोभ्याउने वनको दृश्यले मनलाई आनन्दमय बनाइरहेको हुन्छ।

images
images

पर्यटनको गहना बनेको राम्चेवन अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनेको देख्न पाउँदा खुशी छन्, ७४ वर्षीय नगिलाल पौडेल। उजाड नांगो डाँडोलाई स्थानीयवासीले संरक्षणमा जोड दिएकाले वनको शीतलता, स्वच्छ हावापानी उपभोग गर्न, पर्यटकीय विकासको रुपमा उपभोग गर्न पाइँदैनथ्यो, एउटा पर्यटक घुम्ने मात्र भइ यहाँ प्राकृतिक वस्तुको अध्ययन अवलोकन गर्ने, प्रकृतिको संरक्षण गर्ने थलो बनेको पौडेल बताउँछन्।

images
images
images

'अवलोकन गर्न लायकको नमूना बनेको छ, आफ्नै जीवनकालमा नांगो डाँडोको रुपमा देखेको वन अहिले यति धेरै परिवर्तन देख्न पाउँदा म एउटा भाग्यमानी उपभोक्ता हुँ भन्ने आफैँलाई गर्व महसुस भएको छ', उनले भने, '२०३९ सालमा उजाडिएको नांगो डाँडोमात्रै थियो, रुख बिरुवा लगाएर यसलाई हराभरा बनाएर भविष्यमा एउटा नमूना वन बनाउन सकिन्छ भनेर स्थानीय बासिन्दा लागेपछि अहिले आफ्नै जीवनकालमा परिवर्तन देख्दा गरे के नहुने रहेछ र?', उनले भने।

स्थानीयको सक्रियतामा २०३९ सालदेखि वन संरक्षणको प्रयास थालिएको हो। त्यस समय वनको संरक्षणका लागि पञ्चायत समितिमा रहेर काम गर्नुभएका पौडेलले सामुदायिक वनको रुपमा दर्ता भएपछि समिति, उपाध्यक्ष, अध्यक्ष पदमा विभिन्न समयमा सक्रियताका साथ सेवा गरे। स्थानीयले संरक्षण नगरेको भए यो वन नांगै डाँडा रहन्थ्यो। उनी भन्छन्, 'चरिचरन गर्न जंगलतिर गएका पशु नांगो डाँडोमा छर्लङ्ग देखिन्थे, गाईबाख्रा माथितिर पठाएर हामी तल फाँटमै बसेर हेरिन्थ्यो, अहिले भने घनाघोर, हराभरा, पर्यापर्यटनको रुपमा वन विकास भएको छ, संरक्षणमा उपभोक्ता सबै सचेत छन्।' 

करिब एकसय दुई हेक्टर क्षेत्रफलमध्ये पाँच हेक्टर क्षेत्रफल पर्या-पर्यटन क्षेत्र छुट्टाएर पर्यटकीय पूर्वाधार विकासका कार्यहरु गरिरहेको वन उपभोक्ता समूहका अध्यक्ष दयाराम गैरेले बताए। जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा दृश्यावलोकन (भ्युटावर) स्तम्भ, वनभोज गर्ने स्थान, शौचालय, रुखघर, झुला, पानीको फोहोरा, रामसीता र हनुमानको मूर्ति, प्रतीक्षालय, खानेपानीको सुविधा, पक्की पैदलमार्ग, फूलबारी तयार पारिएको अध्यक्ष गैरेले बताए।

करिब तीनसय ५० जना अट्ने क्षमताको सभाहल रहेको छ। यहाँ विभिन्न संघसंस्थाको सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रम हुने गरेको छ। उनका अनुसार पर्यटकीय क्षेत्रमा दिनमा एक सयभन्दा बढी अवलोकन गर्न आउने गर्छन्। शनिबार र बिदाको दिन धेरै भीड हुने गर्दछ। हाल भ्युटावर क्षेत्र प्रवेश र पर्या-पर्यटन क्षेत्र रेखदेखका लागि वन समूहबाट हेरालु राखिएको छ। 'रामपुरको बजार नजिकै भएकाले यस क्षेत्रमा पछिल्लो समय धेरै टाढाबाट घुमघाम तथा वनभोज गर्न आउने क्रम बाक्लिँदै गएको छ, तल बाक्लो बस्ती भएकाले दिउँसो र साँझको समय वनको शीतलता खोज्न आउनुहुन्छ', अध्यक्ष गैरेले भने।

बेझाड बजारदेखि सजिलै साना तथा ठूला गाडीमा पुग्न सकिने भएकाले अहिले राम्चेवन धेरैको रोजाइमा पर्छ। यहाँको प्राकृतिक वातावरणमा घुमेर मनलाई आनन्दित पार्न युवा समूहको आकर्षण अझ बढ्दो पाइन्छ। रामपुरको मुख्य बजार बेझाड बजारदेखि करिब दुईसय ५० मिटर माथि पर्छ। गत वर्ष वनको स्रोतबाट दुईवटा झुला, रुखघर, रामसीता र हनुमानको मूर्ति निर्माण कार्य गएिको छ।

वनभित्र साल, चिलाउने, साज, साज, जामुनो, अमला, सर्पगन्ध, हर्रोबर्रोजस्ता प्रमुख प्रजाति छन्। यहाँ मृग, कालिज, कुखुरा, बाघजस्ता वन्यजन्तु छन्। प्रत्येक उपभोक्ताबाट वनको हेरचाह, रेखदेख भइरहेको छ। वन समूहमा हाल तीन सय २१ घरधुरी संख्या रहेको छ। सरकारले पर्यावरण र पर्यटन प्रवर्द्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोही अनुरुप यस राम्चे सामुदायिक वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएको छ। 

विसं २०५४ देखि वनभोजस्थलका रुपमा विकास गर्न थालियो। वनमा पर्यापर्यटनको उद्देश्यले २०६५/६६ देखि वनभोजका रुपमा निकै चहलपहल हुँदै गयो। २०७२ मा दृश्यावलोकन स्तम्भ सञ्चालनमा आएपछि पर्यटकको थप आकर्षण बढ्दै जान थाल्यो। रामपुर उपत्यका, स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ्ग क्षेत्रलगायतका विभिन्न कालीगण्डकी बेँसीको उपत्यकाको वारिपारिको दृश्य यहाँको पाँच तलाको दृश्यावलोकन स्तम्भबाट छर्लङ्ग देख्न सकिन्छ। 

विसं २०१३ मा वनहरु सरकारीकरण भएपछि वन मासेर जग्गा बनाउने काम भएकाले २०४७ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि नयाँ वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार सामुदायिक वन दिने भनी व्यवस्था भएअनुरुप वनलाई विधिवत रुपमा समुदायमा हस्तान्तरण गरी संरक्षण र उपभोग गर्न पाउने नीतिका साथमा उपभोक्ता समूह दर्ता भएको हो। विसं २०३०/३२ देखि राम्चे वनको अवधारणा आएको हो।

तत्कालीन रामपुर गाउँ पञ्चायतले राम्चे वनलाई संरक्षण गर्नुपर्छ भन्ने धारणा ल्याएर वडाको कार्यालय सहयोगी खटाएर वनको रेखदेख गर्न थालियो। विसं २०४७ मा सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएपछि धेरै सुधार हुँदै हराभरा बन्न सकेको छ।

जंगली जनावरको डर, त्रास, आक्रमण सहेर आफूले दैनिक सेवा गरेर हुकाइएको वनमा हिजोआज वनभोज, घुमघामका लागि पर्यटक भित्रिँदा रमाइलो अनुभूति गर्छिन्, ८० वर्षीय चन्द्रकला नेपाली। जीवनको धेरै समय उनले वनको रेखदेखको जिम्मेवारी लिएर बिताइन्।

साना बिरुवा अहिले बढेर ठूला भएको देख्दा आफूले जन्माएको सन्तान हुर्काए सरह नै वनप्रति माया बसेको उनले सुनाइन्। 'बिहान ४ बजे उठेर वनको रेखदेख गर्न जान्थेँ, जंगली जनावरको डर हुन्थ्यो। चितुवा, बाँदरलगायतका जनावरको आक्रमणबाट बचेर घर फर्केका दिन धेरै छन्, दैनिक सबै वन हेरेर घर फर्कदा साँझ रात पर्थ्यो, निकै दुःख गरेर हुर्काएको वन अहिले यति धेरै परिवर्तन र ठूलो वन बनेको देख्दा खुशी लागेको छ', उनले भनिन्। 

वन समूहको आयस्रोत

वनमा उत्पादन भएका दाउरा, काठपात बिक्री नै आयस्रोत रहेको छ। साथै पर्या-पर्यटनबाट पनि वनले आयआर्जन गरिरहेको छ। काठपात, दाउराबाट वन समूहले वार्षिक रुपमा सरदरमा ६ लाख रूपैयाँ बराबरको आयआर्जन हुने गरेको छ। गतवर्ष मात्रै काठपात, दाउरा बिक्री गरेर नौ लाख रूपैयाँ आम्दानी गरेको जनाइएको छ। वार्षिक रुपमा पर्या-पर्यटन, सभाहल, वनभोजबाट करिब एक लाख रूपैयाँ आम्दानी हुने गरेको छ।

विपन्न वर्गको आयस्तर उकास्न करिब दुई हेक्टर क्षेत्रफलमा अम्रिसो, घाँसपात लगाइएको छ। यसबाट विपन्न व्यक्तिले आयआर्जन गरिरहेका छन्। नयाँ उपभोक्ता सदस्य बन्न चाहनेको हकमा उपभोक्ता समितिले निश्चित मापदण्ड तोकेको छ। एकाघर परिवारबाट छुट्टाभिन्न भएका सदस्यलाई सामान्य शुल्क तीनसय रूपैयाँ तोकिएको छ भने नयाँ उपभोक्ता बन्नेलाई हाल २५ हजार रूपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ।

हाल वनको अवस्था

उपभोक्ता समितिले संरक्षण गरेका सालका रुख हर्लक्कै हुर्केका छन्। सालका रुखको उमेर ३५ वर्षको भयो। सरदरमा ४० इन्च गोलाइका रुखहरु तयार भएका छन्। दशवटा ब्लक विभाजन गरेर वनको संवद्र्धन भइरहेको छ। प्रत्येक वर्ष झाडी सुधारबाट निस्केको काठपात, दाउरा उपभोक्तालाई निःशुल्क वितरण गरिन्छ। उपभोक्तालाई सुलभ मुल्यमा काठ, दाउरा उपलब्ध गराइन्छ। प्राकृतिक रुपमा निस्केका बिरुवालाई संरक्षण गरिदै अहिले वनले पर्यटकीय क्षेत्रको रुपधारण गरेको छ। उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्व तथा विभिन्न समय समयमा घाँस, दाउरा, स्याउला उपलब्ध गराइएको छ। 

प्राकृतिक विपत्तिमा उपभोक्तालाई निःशुल्क काठ, दाउरा निःशुल्क वितरण गरिनेछ। धार्मिक, सामाजिक कार्यका लागि उपभोक्ताको निवेदनको आधारमा काठदाउरा उपलब्ध छ। वन समूहले आर्जन गरेको आम्दानीबाट २५ प्रतिशत रकम विपन्न वर्गको हितमा खर्चिइएको छ भने २५ प्रतिशत वन सम्बद्र्धनमा लगानी र बाँकी रकम सडक, पँधेराजस्ता सामाजिक क्षेत्रमा खर्चिने गरिएको छ। 

बिरुवा हुर्काउन लौरेपालो

बिरुवा हुर्काउन वन समूहले उपभोक्ताबाट लौरेपालो सुरु गर्‍यो। प्रत्येक घरधुरीबाट दैनिक दुई जनाको पालो कायम गरेर वनको रेखदेख गरिन थालियो। यो कार्य करिव एक दशक चल्यो। बिरुवा बढ्दै जान थालेपछि वन समूहले लौरेपालो छाडेर उपभोक्ताभित्रबाट निश्चित पारिश्रमिक दिने गरी एकजना हेरालु राखेको जनाइएको छ। लौरेपालो टोलअनुसार विभाजन गरेर गरिन्थ्यो। यो निरन्तर चलिरहन्थ्यो।

बिहानदेखि साँझसम्म दैनिक दुई जना उपभोक्ताले वन घुमेर रेखदेख गर्नु पर्दथ्यो। वनबाट फर्केपछि साँझ पालोअनुसार अर्को उपभोक्ताको घरमा लैरो बुझाउनुपर्ने चलन थियो। भोलिपल्ट सो लौरो लिएर जानुपर्ने नियम अनुसार सबै उपभोक्ताले अनिवार्य वन रेखदेख गर्नुपर्थ्यो। 

नयाँ योजना यस्ता छन्

यहाँ आउने पर्यटकलाई लक्षित गरेर मिनि चिडियाखाना निर्माण गरिने वन समूहको योजना छ। त्यसको लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएको छ। बेलखोल्सीमा बाँध बाँधेर पोखरी निर्माण गरी सिमसार क्षेत्र बनाइनेछ।

पानी सञ्चित गर्न, वन व्यवस्थापन र वनभित्र रहेका पानीका मूल संरक्षणका लागि सिमसार क्षेत्र बनाउने तयारी छ। यस क्षेत्रमा पर्यटक लक्षित सिमसार क्षेत्रको माथि वारपार गर्न काठको झोलुंगे पुल, वन समूहको कार्यालय भवन परिसरमा उद्यानसहितको बृहत् पार्क निर्माण गरिने योजना रहेको जनाइएको छ। रासस


प्रकाशित : बुधबार, माघ १६ २०८११२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend