शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

निगम कार्यकारी अध्यक्ष अधिकारीसमक्ष निरीह बनेका पर्यटनमन्त्री पाण्डे, आर्थिक चलखेलमा साझेदारीको आशंका

आन्तरिक उडान ठप्प, एउटा न्यारोबडी २४ दिनदेखि ग्राउन्डेड, मर्मत भएको इन्जिन १ सय ३ दिनदेखि इजरायलमा

images
मंगलबार, माघ १५ २०८१
images
images
निगम कार्यकारी अध्यक्ष अधिकारीसमक्ष निरीह बनेका पर्यटनमन्त्री पाण्डे, आर्थिक चलखेलमा साझेदारीको आशंका

मन्त्री बद्री पाण्डेको अस्वभाविक समर्थन देखिँदा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीको आर्थिक चलखेलमा उनीसमेत जोडिएको आशंका बढिरहेको छ।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले जिम्मेवारी लिएको साढे ६ महिना पूरा भइसकेको छ। यतिका समयसम्म पनि नेपाल वायुसेवा निगममा वित्तीय अराजकता मच्चाउने कार्यकारी अध्यक्ष युवराज अधिकारीसमक्ष मन्त्री पाण्डे निरीह बनिरहेका छन्। 

images
images
images

मन्त्री पाण्डेले केपी शर्मा ओली नेतृत्वको सरकारमा २०८१ असार ३१ गते सपथ लिएका थिए। कार्यकालको सुरुका दिनमा निगम कार्यकारी अध्यक्ष अधिकारीलाई केही विषयमा स्पष्टीकरण सोधेको भए पनि त्यसपछि मन्त्री पाण्डे चुपचाप छन्। अधिकारीको अराजकतामा पाण्डेको मौन समर्थन देखिएको छ। 

images
images

मन्त्री पाण्डे जिम्मेवारीमा आउँदै गर्दा निगमको आन्तरिक उडानमा रहेको एउटा ट्वीनअटर ग्राउन्डेड थियो भने अर्को ट्वीनअटर आवर सेभको नीतिमा उडिरहेको थियो। अहिले करिब ४० दिनदेखि निगमको आन्तरिक उडान पूर्णरुपमा ठप्प छ। जहाज उडानका लागि आवश्यक तीनवटा इन्जिन व्यवस्थापन भएको छैन।

images
images
images

निगमले गएको मंसिर २४ गते ६० दिनभित्र तीनवटा इन्जिन सट्टापट्टाका लागि भन्दै कम्पनी छनोट गरेको थियो। तर उक्त कम्पनीले ५० दिन भइसक्दा समेत इन्जिन दिन सकेको छैन। सम्झौता भएको कम्पनीले इन्जिन कहिले दिन्छ कुनै अत्तोपत्तो छैन। निगम व्यवस्थापनले 'बेट शेमेश इन्जिन लिमिटेड'सँग सम्झौता गरेको थियो। यो कम्पनीको नेपाल प्रतिनिधि मर्करी बिजनेस इन्टरनेशनल हो। कमिसनको लोभमा सेटिङमार्फत उक्त कम्पनीसँग सम्झौता भएको थियो। जसका कारण जहाज कहिलेबाट उडानमा आउँछ भन्ने यकिन छैन।

निगमलाई चार हजार घण्‍टा उडान क्षमता भएको इन्जिन उक्त कम्पनीले दिन र निगमले पुरानो इन्जिन कम्पनीलाई दिने सम्झौता भएको हो। निगम स्रोतका अनुसार सम्झौता भएको ४५ दिनपछि मात्रै कम्पनीले इन्जिनका लागि भन्दै एलसी खोलको छ। उक्त कम्पनीले इन्जिन समयमा दिनसक्ने अवस्था नरहेको स्रोतको दाबी छ।

निगमको आन्तरिक उडान नै ठप्प भएको विषयमा समेत मन्त्री पाण्डे मौन छन्। उनले कार्यकारी अध्यक्ष अधिकारीलाई केही निर्देशन दिन सकेका छैनन्। एउटा ट्वीनअटर ग्राउन्डेड भएको र अर्को पनि ग्राउन्डेड हुँदै छ भन्ने विषयमा जिम्मेवारी नसमाल्दै मन्त्री पाण्डेलाई जानकारी थियो। मन्त्रीसमक्ष कार्यकारी अध्यक्ष अधिकारीले इन्जिन सट्टापट्टाको प्रक्रिया सुरु भएको र आन्तरिक उडान नरोकिने प्रतिवद्धता गरेका थिए। तर गएको पुस ७ गतेदेखि उडान नै ठप्प भएको छ। निगमको दुईवटा ट्वीनअटरमध्ये एउटा त २०८१ जेठ २३ गतेबाट नै ग्राउन्डेड भएको थियो। 

कम्पनी छनोटमा लापरबाहीकै कारण २२ दिनदेखि न्यारोबडी एकेडब्लू ग्राउन्डेड

निगम कार्यकारी अध्यक्ष अधिकारी र उनको कमिनस कलेक्सनको काम गरिरहेका नायब महाप्रबन्धक डोलेश्वर कोइरालाको कारण निगमको न्यारोबडी जहाज २८ दिनदेखि ग्राउन्डेड छ। निगमको न्यारोबडी सी-चेकका लागि कम्पनी छनोटमा लापरबाही हुँदा ग्राउन्डेड भएको हो।

बारम्बार कम्पनी छनोटको टेन्डर रद्द गर्ने र पुन: टेन्डर गर्ने गर्दै प्रक्रिया लम्ब्याएर अधिकारीले अन्तत: जहाज नै ग्राउन्डेड हुने चरणमा पुर्‍याएका हुन्। अधिकारीको मनपरी तन्त्र चलिरहँदा पनि मन्त्री पाण्डे मौन छन्।

निगमको न्यारोबडी जहाज २०२४ भित्रै सी-चेकमा जाने विषय दुईवर्ष अगाडि नै थाहा थियो। तर कमिसनका लागि आफूनिकट कम्पनी छिराउनका लागि कम्पनी छनोट प्रक्रिया नै लम्बाउँदै लगिएको थियो। 

अन्तिम समयमा जहाज ग्राउन्डेड भएपछि चाइना साउथर्नलाई सी-चेकका लागि कम्पनी छनोट गर्ने निर्णय गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरिकबाट अनुमोदन नै नलिइ जहाज २०२५ को जनवरी १० मा हतार हतार लैजान अनुमति मागिएको थियो। तर प्रक्रिया पूरा नभएको भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेर जहाज लैजान केही दिन रोकेको थियो। 

अहिले प्राधिकरणबाट अनुमति भएपनि चाइना साउथर्नलाई जहाज सी-चेक नै गर्न नदिने गरी दुईपक्षीय सम्झौतामा विभिन्न सर्त राख्न अधिकारीले दबाब दिइरहेका छन्। जसका कारण दुईपक्षीय सम्झौता हुन सकेको छैन।

अधिकारीले सिधै कम्पनीलाई भुक्तानी नगरी एजेन्टलाई भुक्तानी गर्ने सर्त राख्न कर्मचारीलाई दबाब दिइरहेका छन्। जुन कानूनी रुपमा नै मिल्ने देखिँदैन। यो सबै खेलका पछाडि कि एजेन्टबाट केही कमिसन लिने वा ठेक्का नै रद्द गरेर दीपक रेग्मीको कम्पनीलाई दिने चाल अधिकारीले रचिरहेको देखिन्छ। यस्तोमा जहाज ग्राउन्डेड भएर दैनिक सवा १ करोड रुपैयाँ आम्दानी गुमिरहँदासमेत मन्त्री पाण्डेले कुनै चासो दिएका छैनन्। 

१६ महिनादेखि भाडाको इन्जिनमा न्यारोबडी उडान, मर्मत भएको इन्जिन १०३ दिनदेखि इजरायलमा 

नेपाल वायुसेवा निगम व्यवस्थापनको चरम लापरबाहीका कारण मर्मत भएको इन्जिन १ सय ३ दिन बितिसक्दा पनि नेपाल ल्याइएको छैन। मर्मत इन्जिन नल्याएको निगमले भाडाको इन्जिनमा भने दैनिक १० लाख रुपैयाँ खर्च गरिरहेको छ।

निगमले अन्तर्राष्ट्रिय उडानमा हवाई सेवा दिँदै आएको कलसाइन 'नाइन एन एकेएक्स' जहाजमा भाडाको इन्जिन प्रयोग भइरहेको छ।जहाजमा २०२३ को सेप्टेम्बर २८ देखि एउटा भाडाको इन्जिन छ। निगम व्यवस्थापनले २०२३ को नोभेम्बर ३० मा बिग्रिएको इन्जिन मर्मतका लागि २०२४ को अप्रिल २८ मा इजरायलको 'इजरायल एरोस्पेस इन्डस्ट्रिज'मा मर्मतका लागि छाडेको थियो। 

२०२४ को अप्रिलमा छोडिएको इन्जिन मर्मतमा कम्पनीले ढिलासुस्ती गरिरहेको थियो। ६५ दिनमा मर्मत गरेर दिने सर्तमा इन्जिन इजरायल पठाइएको थियो। कम्पनीले काममा ढिलासुस्ती गर्दै २०२४ को अक्टोबर २० मा इन्जिन मर्मत भएकोले लिन आउन भन्दै निगममा खबर गरेको थियो।

कम्पनीले इन्जिन मर्मत तथा इन्जिन भाडाबापतको रकम भुक्तनी गरेर निगमलाई इन्जिन लैजान र भाडामा उपलब्ध गराइएको इन्जिन फिर्ता गर्न सूचना पठाएको थियो। तर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भाडाको इन्जिन प्रयोग गर्दा त्यसमा कमिसन आइरहेको हुँदा मर्मत गरेको इन्जिन लिन जहाज नै पठाएका छैनन्। इन्जिन नल्याइ भाडाको इन्जिनबाट जहाज उडान गर्दा निगमले दैनिक १० लाख रुपैयाँ खर्च गरिरहेको छ।

निगमले जहाज उडे पनि नउडेपनि दैनिक २ हजार डलर तथा प्रतिघण्टा २ सय ७८ डलर साथै प्रतिसाइकल २ सय ३९ डलरमा भाडामा लिएको इन्जिनबाट जहाज उडाइरहेको छ। यसबाट निमगलाई दैनिक १० लाख रुपैयाँ आर्थिक भार थपिएको छ। यस्तो लापबारहीका विषयमा निगमकै कर्मचारीले मन्त्री पाण्डेलाई बाम्बार जानकारी गराउँदासमेत उनले कुनै चासो दिएका छैनन्। 

अधिकारीले वाइडबडी जहाजको सी-चेकमा समेत चरम लापबारही गरेका थिए। ३० दिनमा सी-चेक गरेर दिनुपर्ने दुईवटै वाइडबडी ८४ दिनमा आउँदासमेत मन्त्री पाण्डेले अधिकारीमाथि कुनै कारबाही गर्न सकेका छैनन्।

साथै कर्मचारीको लापरबाहीका कारण निगमको खाताबाट ह्याकरले लगेको भनिएको दुई करोड रुपैयाँ अझै फिर्ता आउन सकेको छैन। यस्तोमा मन्त्री पाण्डेको अस्वभाविक समर्थन देखिँदा निगम कार्यकारी अध्यक्ष अधिकारीको आर्थिक चलखेलमा उनीसमेत जोडिएको आशंका बढिरहेको छ।


प्रकाशित : मंगलबार, माघ १५ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend