शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुमारी बैंक र एनसीएचएलबीच अलिपे-प्लसमार्फत नेपाल-पे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २६ २०८१
कुमारी बैंक र एनसीएचएलबीच अलिपे-प्लसमार्फत नेपाल-पे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य

काठमाडौं- कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा अलिपेप्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपाल-पे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ।

यो सेवामार्फत अलिपेप्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपाल-पे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्। 

अलिपेप्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस-बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ। यस सम्झौतासँगै, नेपालमा उपलब्ध नेपाल-पे क्यूआर र यसको इन्टेरोपेरेबल क्यूआरलाई अलिपेप्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन्। 

यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपाल-पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने, नेपाल-पे क्यूआर मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई-वलेट र मोबाइल बैंकिङ एप्स जस्तै अलिपे, अलिपेएचके, टीनाबा, एमपे, टचएन गो वालेट, माइपीबी, हाइपे, जीक्यास, ओसीबीसी डिजिटल, काकाओपे, नाभेरपे, टस पे र ट्रू मनिबाट भुक्तानी स्वीकार गर्न सक्नेछन्। 

साथै बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।


प्रकाशित : शुक्रबार, पुस २६ २०८११६:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend