शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

'एनसेल आइएसओ २७००१ र २७७०१ को मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी'

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २४ २०८१
'एनसेल आइएसओ २७००१ र २७७०१ को मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी'

काठमाडौं- प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को  मान्यता पाउन सफल भएको एनसेलले जनाएको छ। यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको र ग्राहकहरूको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको एनसेलको भनाइ छ।

यससँगै एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको एनसेलको भनाइ छ। जसले  ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको विज्ञप्तीमार्फत जनाएको छ। एनसेलका अनुसार विश्वसनियता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्ले यी मान्यताहरु प्राप्त गरेका हुन्।

'यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुङ्गा हो। यसले एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधै समर्पित रहेको स्पष्ट पार्दछ। सीइओका रुपमा, म यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड प्राप्त गर्ने परिवर्तनकारी अनुभव साझा गर्न पाएकोमा हर्षित छु। यसले टेलिकम उद्योगमा उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धतालाई उजागर गर्दछ। हाम्रो टिमको समर्पणमा म अत्यन्त गर्व गर्छु, र नवीन प्रविधि भित्राउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै सूचना सुरक्षा र डेटा गोपनीयताका उच्चतम मापदण्डहरू कायम राख्नेछौँ,' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

यी मान्यताहरु ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्मा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरुमा एनसेलले उच्चतम मापदण्डहरू पुरा गरेको प्रमाण भएको जनाएको छ। 'यसले ग्राहकहरूलाई उनीहरुका व्यक्तिगत र संवेदनशील जानकारीहरु एनसेलले उच्च जवाफदेहीताकासाथ ह्यान्डल गर्ने र डेटाहरु सुरक्षित रहने प्रत्याभुति प्रदान गर्दछ' विज्ञप्तीमा भनिएको छ।

ग्राहक र साझेदारहरुका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ। त्यसैगरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ।   

यस उपलब्धिसँगै, एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा एउटा नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ। ग्राहक र व्यवसायिक क्लाइन्टहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो नेतृत्वलाई थप सुदृढ पारेको एनसेलको भनाइ छ।


प्रकाशित : बुधबार, पुस २४ २०८११८:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend