काठमाडौं- सवारीसाधन आयात गर्नका लागि उत्पादक कम्पनी वा उसले तोकेको कम्पनीसँग आधिकारिक बिक्रेता नियुक्त हुनुपर्ने कानूनी व्यवस्था छ। जसका लागि एउटामात्र होइन विभिन्न तहको प्रक्रिया पूरा गर्नुपर्छ। सोही आधारमा नेपालमा सवारीसाधन आयात हुँदै आएको छ।
विगतको अनुभवबाट पाठ सिकेर सरकारले सवारी आयातका लागि कानूनी व्यवस्था बलियो बनाएको हो। सवारीसाधन खरिदका लागि विदेशी मुद्रा खर्चनु पर्ने भएकाले त्यसको दुरुपयोग नहोस्, अन्डर इनभोइस नहोस्, नागरिकले सवारीमा गरेको लगानी सुनिश्चित होस् र सवारी आयातकर्ताले बिक्रीपछिको सेवा र स्पेयरपार्ट्स पाउने अवस्थाको सुनिश्चितता होस् भनेर कसिलो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
सोहीअनुसार नेपालमा आयात हुने अधिकांश सवारीसाधन ब्रान्डहरू उत्पादकले तोकेको आधिकारिक बिक्रेतामार्फत नै आयात हुँदै आएका छन्। तर पछिल्लोपटक उत्पादक कम्पनीसँग कुनै साइनो/सम्बन्धै नभएको कम्पनीसँग नेपाली कम्पनीले आधिकारिक बिक्रेताको ‘किर्ते’ कागजात पेश गर्ने र नेपालमा एजेन्सी दर्ता गरेर अवैध कामलाई वैध बनाउने प्रयास भइरहेको छ।
यस्तो कार्य मौलाउँदा अन्डर इनभोइस गरेर विदेशी मुद्रा अपचलन हुने, किर्ते गर्नेहरूमा हौसला बढ्ने, प्रयोग भइसकेको (सेकेन्ड ह्यान्ड) गाडी आउने सम्भावना बढी हुने, उपभोक्ताको लगानी जोखिममा पर्ने र पाउनु पर्ने सेवाबाट उपभोक्ता बन्चित हुने सम्भावना अत्याधिक हुन्छ।
कसरी ल्याउँदै छ काइरोसले ल्यान्ड रोभर?
काइरोस इन्टरनेसनल प्रालि नामक कम्पनीले जेएलआरले उत्पादन गरेको ल्यान्ड रोभर 'रेन्ज रोभर स्पोर्ट्स' मोडलको कार आयातका लागि अनुमति पाइसकेको छ। उत्पादक कम्पनीले नचिन्ने यो कम्पनीले कहाँबाट र कोसँग ल्यान्ड रोभर कार किनेर नेपालमा आधिकारिक बिक्रेता बनेर ल्यायो भन्ने गम्भीर प्रश्न उठेको छ।
काइरोस इन्टरनेसनल प्रालिले हङकङमा दर्ता भएको साउथ चाइना एक्जिम लिमिटेडसँग आधिकारिक बिक्रेता सम्झौता गरेर उसैसँग ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स कार ल्याउन लागेको छ। साउथ चाइना एक्जिम लिमिटेड सुरुमा राकेश अडुकियाकै नाममा हङकङमा दर्ता भएको कम्पनी हो। साउथ चाइना एक्जिम लिमिटेड न त ज्यागुअर ल्यान्ड रोभरको हङकङका लागि आधिकारिक बिक्रेता हो न त त्यो कम्पनीले हङकङबाट तेस्रो मुलुकमा ल्यान्ड रोभरका कार बिक्री गर्ने अनुमति उत्पादक कम्पनीबाट पाएको छ।
राकेश अडुकिया संशयपूर्ण व्यापारमा उद्धत व्यक्ति हुन्। नेपालमा उनको आफ्नै नाममा कुनै पनि कम्पनी दर्ता छैन। यस्तै काम गर्न उनले सुरुमा श्रीमा डिस्ट्रिब्युसन प्रालि नामक कम्पनी बनाएर टेस्लाको विद्युतीय कार नेपाल भित्र्याएका थिए। उक्त कम्पनीले गैह्रकानूनी काम गरेको ठहरिएसँगै लफडा भएपछि उनले अरेत इन्टरनेसनल प्रालि नामक कम्पनी बनाएर आफै आधिकाकिर बिक्रेता भएको जिकिर गरेर टेस्लाका कार आयात गरिरहेका छन्। यसमा अदालतसम्म सेटिङको पहेली छ।
पछिल्लोपटक अर्को एउटा कम्पनीले पनि आफूलाई टेस्लाले आधिकारिक बिक्रतो नियुक्त गरेको दाबी गरेर प्रचार गरिरहेको छ। तर अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले संसारभर कसैलाई पनि आधिकारिक बिक्रेता दिँदैन। टेस्लाको बिक्री नीतिमा जुन देशमा आफ्नो कार बिक्री गर्ने हो त्यहाँ आफैँ उपस्थित भएर कम्पनी बनाइ कार बेच्ने हो। त्यसैले नेपालमा टेस्लाका कार जसले ल्याइरहेका छन् ती सबै ‘किर्ते’ कागजात बनाएरै ल्याइएको र ल्याउन लागिएको हो।
यसैगरी काइरोस इन्टरनेसनलले पनि हङकङमा दर्ता भएको कम्पनीसँग ल्यान्ड रोभरका कार किनेर आफू आधिकारिक बिक्रेता नियुक्त भएको किर्ते कागजात वाणिज्य विभागमा पेश गरी त्यहाँबाट एजेन्सी दर्ता गरेर कार ल्याउन लागेको छ।
किर्ते आधिकारिक बिक्रेताको कागजात, त्यसैको आधारमा वाणिज्य विभागले दिएको एजेन्सी दर्ता प्रमाणपत्रका अधारमा यातायात व्यवस्था विभागको आयात अनुमति लिने र यी कागजात देखाएर वाणिज्य बैंकबाट एलसी(लेटर अफ क्रेडिट) खोलेर गाडी आयातमा काइरोस इन्टरनेसनल लागेको छ।
मुख्यगरी आधिकारिक बिक्रेताले सवारी आयात गर्दा सुरुमै यातायात व्यवस्था विभागबाट अनुमति लिँदैनन्। उनीहरूसँग वाणिज्य बैंकले सुरुमै यातायातबाट आयात अनुमति माग्दैनन्। त्यसैले उनीहरूले गाडी भन्सारमा आइपुगेपछि यातायातबाट आयात अनुमति लिएर भन्सारमा लगेर पेश गर्छन्। तर किर्ते आधिकारिक बिक्रेताहरूले एलसी खोल्न जाँदा वाणिज्य बैंकहरूले पहिले नै यातायात व्यवस्था विभागबाट आयात अनुमति ल्याउनु पर्ने सर्त राख्दै आएका छन्। यसो गर्दा आफ्नो लगानी नफस्ने वाणिज्य बैंकहरूको बुझाइ रहेको छ।
काइरोस इन्टरनेसनलले सोही बाटोबाट ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स एसयूभी २९ सय ९६ सीसी इन्जिनयुक्त विलासी कार ल्याउन लागेको छ। पेट्रोल हाइब्रिड प्रविधियुक्त यो कार निक्कै विलासी र आकर्षक छ। यो कार कति मूल्यमा आइपुग्छ भन्नेबारे भने खुलेको छैन।
वाणिज्य विभागले नहेरेको पाटो
सरकारले नेपालमा आयात निर्यातको काम गर्नका लागि अनिवार्य रुपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एजेन्सी दर्ताको प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरेको छ। सयौँ मालवस्तु आयात गर्दा उत्पादक कम्पनी वा उसले तोकेको कम्पनीबाट आधिकारिक बिक्रेता नियुक्त भएको हुनुपर्छ। यही वर्गमा सवारीसाधन पनि पर्छ।
सवारीसाधन आयात गर्न अनिवार्य रुपमा आधिकारिक बिक्रेता नियुक्त भएको हुनुपर्ने भएपछि आधिकारिक बिक्रेता नभइ सवारी आयात गर्न पाइँदैन। आधिकारिक बिक्रेता नियुक्त नभएका कम्पनीलाई वाणिज्य विभागले एजेन्सी दिँदैन र सवारी आयात गर्न पाउँदैन।
त्यसैले काइरोस इन्टरनेसनलले ज्यागुअर ल्यान्ड रोभरले आधिकारिक बिक्रेता नदिने भएपछि हङकङमा दर्ता भएको साउथ चाइना एक्जिम लिमिटेडसँग आधिकारिक बिक्रेता नियुक्तिको सम्झौता गरेर त्यही कागजात वाणिज्य विभागमा पेश गरेको थियो। साउथ चाइना एक्जिमलाई ल्यान्ड रोभर उत्पादक कम्पनी ज्यागुअर ल्यान्ड रोभरले कुनै पनि सन्दर्भमा चिन्दैन र नचिन्ने कम्पनी कसरी आधिकारिक बिक्रेता? कहाँबाट तेस्रो मुलुकमा निर्यातको अनुमति?
काइरोसले जे कागजात वाणिज्यमा बुझायो त्यही आधारमा समान्य प्रश्नसमेत नसोधी, एउटा ई-मेल उत्पादक कम्पनीलाई नगरी त्यति ठूलो विलासी कार उत्पादकको आधिकारिक बिक्रेता प्रमाणित गरेर आयातका लागि एसेन्सी दर्ता गरिदिने वाणिज्य विभागको निर्णय खोटपूर्ण छ।
उत्पादक कम्पनीबाटै आधिकारिक बिक्रेता पाएका र नियमित सवारी आयात गर्दै आएका कम्पनीहरूमाथि भने वाणिज्य विभागले अनेकन प्रकारका उल्झन निकालेर झमेला गर्दै आएको छ। तर किर्ते आधिकारिक बिक्रेता ल्याउने कम्पनीले भने निर्वाध रुपमा काम गर्ने वातावरण वाणिज्य विभागले किन, कसरी र कसका लागि बनाइदिइरहेको छ?
नेपालको एउटा सामान्य कम्पनी जसले अटोमोबाइल व्यवसाय थालेको तीन वर्ष पनि भएको छैन, उसले तीनवटा विश्व चर्चित विलासी कार उत्पादकको आधिकारिक बिक्रेता हुँ भनेर वाणिज्यमा पेश भएको कागजातलाई विभागले के देखेर स्वीकृति दिइरहेको छ?
ज्यागुअर ल्यान्ड रोभर बिक्रेता छनोटकै क्रममा छ
विलासी कार निर्माता कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)को नेपालका लागि आधिकारिक बिक्रेता छनोट प्रक्रियामा छ।
जेएलआरको सिंगापुरस्थित एसिया प्यासिफिक कार्यालयले नेपालबाट गएका करिब एक दर्जन कम्पनीका आवेदनमध्येबाट छनोटको काम गरिरहेको छ। करिब डेढ वर्षअघिदेखि प्रक्रियामा रहेपनि हालसम्म जेएलआरले निर्णय भने गरेको छैन।
तर ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता नतोकिँदै ल्यान्ड रोभरका कार आयातको प्रक्रिया सुरु भएको पाइएको छ। जब कि विलासी कार उत्पादक कम्पनी ल्यान्ड रोभरले भने नेपालमा आधिकारिक बिक्रेता नियुक्त नै गरेको छैन।
ल्यान्ड रोभरको आधिकारिक बिक्रेताले नेपालमा स्टेट-अफ-द-आर्ट शोरुम र सोहीअनुसारको सर्भिस सेन्टर बनाउनु पर्ने सर्त कम्पनीको हुन्छ। त्यसका लागि नेपालको आधिकारिक बिक्रेताले करोडौँ रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ। तर किर्ते बाटोबाट सवारी ल्याउनेहरूले सर्भिसमा लगानी गरेका त हुँदैनन् नै ल्याएका सबै ब्रान्ड एकै ठाउँमा राख्ने गरेका छन्। यो उत्पादक कम्पनीको नीतिविपरीत हो।
कहिलेसम्म र कोसँग थियो आधिकारिक बिक्रेता
विगतमा आधिकारिक बिक्रेतामार्फत नै ल्यान्ड रोभर तथा ज्यागुअर ब्रान्डका कार नेपाली बजारमा बिक्री हुँदै आएको थियो। तर सन् २०१६ अगष्टयता भने नेपालमा जेएलआरको आधिकारिक बिक्रेता छैन।
यसअघिको आधिकारिक बिक्रेताले ज्यागुअर ल्यान्ड रोभर एसिया प्यासिफिकले भनेअनुसारको शोरुम तथा सर्मिसमा चासो नदिएपछि डिलरसिप नवीकरण नगरेको हो।
ज्यागुअर ल्यान्ड रोभरका अनुसार नेपालमा २०१६ अगस्ट (२०७३ भदौ १५) पछि आधिकारिक बिक्रेता छैन। त्यसअघि दिइएको आधिकारिक बिक्रेताको अवधि सकिएको र नयाँ नियुक्ति वा नवीकरण नभएको कम्पनीले ई-मेलमार्फत जानकारी गराएको छ।
नेपाली बजारमा सन् २०१६ अगस्टसम्म किशोर गेयर्स/युरो गेयर्स प्रालि ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता थियो। त्यसयता २०२० सम्म पनि किशोर गेयर्सले कानूनी छिद्रको सहायताले ल्यान्ड रोभरका कार ल्याएर बिक्री गरिरहेको थियो। तर त्यसरी हुने आयातमा सरकारले कडाइ गरेपछि २०२० यता ज्यागुअर ल्यान्ड रोभरका कार नेपाल आयात हुन सकेको छैन।
जेएलआरले नेपालमा आधिकारिक बिक्रेता नतोक्दै कसले ल्याउन लाग्यो ल्यान्ड रोभरका कार?