मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सरकारको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यमा धक्का, पहिलो त्रैमासमा ३.४ प्रतिशतको आर्थिक वृद्धि

मंगलबार, पुस २३ २०८१
सरकारको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यमा धक्का, पहिलो त्रैमासमा ३.४ प्रतिशतको आर्थिक वृद्धि

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि लक्ष्यअनुसारको वृद्धिदर हासिल गर्न कठिन हुने प्रारम्भिक संकेत देखा परेको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै ३.४ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा भने आर्थिक वृद्धिदर ०.२ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा कार्यालयले ३.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो। 

पहिलो त्रैमासमा विशेष गरी कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि र पर्यटन आवागमन तथा होटल क्षेत्रमा भएको वृद्धिका कारण ३.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको हो।

यसका अतिरिक्त यातायात, स्वास्थ्य, सार्वजनिक प्रशासनमा भएको वृद्धिले अर्थतन्त्र सकारात्मक लयबाट अगाडि बढेको कार्यालयले बताएको छ। 

अझै पनि अर्थतन्त्रका कुल १८ क्षेत्रमध्ये ६ क्षेत्र ऋणात्मक रहेकाले झिनो अंकको मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण कार्यालयले गरेको छ।

निर्माण क्षेत्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि ऋणात्मक नै देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा ८.७ प्रतिशतले ऋणात्मक रहेको निर्माण क्षेत्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ०.३ प्रतिशतले ऋणात्मक रहेको अनुमान गरिएको छ। गत वर्षको पहिलो त्रैमासमा भने निर्माण क्षेत्र ६.९ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि क्षेत्र ३ प्रतिशत, खनिज ०.४ प्रतिशत, उत्पादनमूलक २.३ प्रतिशत, जलविद्युत २१.४, खानेपानी तथा सरसफाइ १ प्रतिशत, थोक तथा खुद्रा ०.५ प्रतिशत, यातायात ६.७, सेवा क्षेत्र ६.३, सूचना प्रविधि २.२ प्रतिशत, वित्तीय क्षेत्र ५.७ प्रतिशत, रियल स्टेट ३.१ प्रतिशत, पेसागत क्षेत्र ५.१ प्रतिशत, प्रशासनिक क्षेत्र ५.४ प्रतिशत, सार्वजनिक सेवा ५.४, शिक्षा ३ प्रतिशत, स्वास्थ्य ०.४ प्रतिशत र अन्य क्षेत्र ०.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, पुस २३ २०८११८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend