काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्ला वर्षमा निरन्तर बजार हिस्सा गुमाउँदै आएको छ। सन् २०२० मा २५ प्रतिशतसम्म पुगेको निगमको बजार हिस्सा सन् २०२४ मा आइपुग्दा ११.२८ मा झरेको छ। निगमको बजार हिस्सा पाँच वर्षमा नै १३.७१ प्रतिशत बिन्दुले खस्किएको हो।
विमानस्थल कार्यालयका अनुसार सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४९ लाख ६३ हजार ३ सय ६४ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। जसमा नेपाल एयरलाइन्समार्फत हवाई यात्रा गर्नेको संख्या ५ लाख ६० हजार १ सय ८ रहेको छ। यो संख्या कुल हवाई यात्रुको ११.२८ प्रतिशतमात्रै हो।
नेपाल एयरलाइन्सले सन् २०२४ मा ३ हजार १ सय ७८ वटा उडान तथा अवतरण गरेको छ। नेपाल एयरलाइन्स हुँदै विश्वका विभिन्न देश पुग्ने यात्रुको संख्या २ लाख ९१ हजार २ सय ४६ रहेको छ भने नेपाल भित्रिनेको संख्या २ लाख ६८ हजार ५ सय ६६ छ।
नेपाल एयरलाइन्सको बजार हिस्सा पछिल्लो तीन वर्षदेखि अस्वभाविक रुपमा घटिरहेको छ। निगमको नेतृत्वमा कार्यकारी अध्यक्ष युवराज अधिकारी आएसँगै उडान अस्तव्यस्त छ। जहाज उड्ने समयभन्दा ग्राउन्डेड समय बढी भएको छ।
२०२४ मा मात्रै निगमको दुईवटा वाइडबडी ३-३ महिनाभन्दा बढी लामो समय ग्राउन्डेड भएको थियो। समयमा नै जहाज मर्मतको काम नहुँदा उडान कम हुँदै आएको छ। जसका कारण बजार हिस्सा निरन्तर रुपमा घटिरहेको छ।
निगमको बजार हिस्सा २०२० मा २५ प्रतिशत पुगेको थियो। त्यसपछि २०२१ मा पाँच प्रतिशतले घटेर २० प्रतिशतमा झरेको थियो। जुनबेला विश्वव्यापी कोरोना महामारीका कारण उडान नै हुन सकेको थिए।
२०२० देखि भने हवाई यात्रुको संख्या बढिरहँदा नेपाल एयरलाइन्सको बजार हिस्सा भने घटेको घट्यै छ। निगमको बजार हिस्सा २०२२ मा १६.५६, २०२३ मा १४.२० प्रतिशतमा झरेको थियो। अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा दुई वर्षदेखि निरन्तर 'रेकर्ड ब्रेक' भइरहेको छ। यस्तोमा नेपाल एयरलाइन्सको बजार हिस्सा भने २०२४ मा ११.२८ मा झरेको छ।
सबैभन्दा बढी यात्रु बोक्नेमा कतार
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल हुँदै सबैभन्दा बढी अन्तर्राष्ट्रिय हवाई यात्रुलाई सेवा दिन एयरलाइन्स कतार एयर रहेको छ। कतारले सन् २०२४ मा ५ लाख ९६ हजार ६० जनालाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ। कतारले कुल २ हजार ३ सय ९८ वटा उडान तथा अवतरणबाट हवाई सेवा दिएको छ।
कतार एयर हुँदै नेपाल भित्रिने यात्रुको संख्या २ लाख ८८ हजार ७ सय २ रहेको छ भने बाहिरिनेको संख्या ३ लाख ७ हजार ३ सय ४८ रहेको छ।
सन् २०२४ मै हिमालय एयरलाइन्सले ३ हजार ७ सय ९२ उडान तथा अवतरणबाट ४ लाख ९९ हजार ३ सय ५ जनालाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ।
यसैगरी इन्डिगोले ४ लाख ६१ हजार १ सय ६७ जना र एयर इन्डियाले ४ लाख १ हजार १ सय २५ जनालाई हवाई सेवा दिएको छ।