बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दमकका मेयरले भने - भ्यूटावरको नक्सापास गर्न २८ लाख लाग्छ, हामीलाई दिए राम्ररी चलाउँथ्यौँ

आइतबार, पुस १४ २०८१
दमकका मेयरले भने - भ्यूटावरको नक्सापास गर्न २८ लाख लाग्छ, हामीलाई दिए राम्ररी चलाउँथ्यौँ

दमक नगरपालिकाको वडा नम्बर ३, टुकुरेमा एक अर्ब ५६ करोड १४ लाखमा १८ तले भ्यूटावर निर्माण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको टावरलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न लागिएको हो।

इटहरी- दमक नगरपालिकाका मेयर रामकुमार थापाले भ्यूटावरको विषयमा असन्तुष्टि जनाएका छन्। गएको मंसिर २३ गते प्रधानमन्त्रीले उद्घाटन गरेको टावरको जग्गा दमक नगरपालिकाको नाममा रहे पनि कुनै सरसल्लाह नभएको उनको गुनासो छ।

पुस ७ गतेको कार्यपालिका बैठकमा भ्यूटावरको नक्सा पासको लागि आग्रह गर्ने निर्णय भएको मेयर थापाले बताए। उनले भने, ‘टावरको नक्सा पास भएको छैन। नक्सा पासको लागिमात्र २८ लाख रुपैयाँ लाग्छ। सरकारले कुनैपनि सल्लाह वा छलफल गरेको छैन। कुन निकायले कसरी सञ्चालन गर्छ भन्नेबारे यकिन भएको छैन। हामीलाई दिने हो भने राम्ररी चलाउँथ्यौँ।’

उद्घाटन भएपनि चल्छ कि चल्दैन भन्नेका उनले संशय व्यक्त गरेका छन्। बिजनेस न्युजसँग कुरा गर्दै थापाले भने, ‘हामीलाई चलाउन दिएको भए विधि प्रक्रिया पुर्‍याएर गर्ने थियौँ। दमकवासीले अपनत्व महसुस गर्नेगरी काम गर्नुपर्छ।’ भ्यूटावर छेउछाउमा सुकुम्बासी बस्ती भएकाले स्थानीयले रोजगारीको अवसर पाउनुपर्ने उनको माग छ। 

दमक नगरपालिकाको वडा नम्बर ३, टुकुरेमा एक अर्ब ५६ करोड १४ लाख रुपैयाँमा १८ तले भ्यूटावरको निर्माण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको टावरलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न लागिएको हो। 

दमक नगरपालिकाले निर्माण गरेका कम्प्लेक्सहरू अलपत्र रहेको विषयमा मेयर थापाले भने, ‘एउटा कम्प्लेक्स बजारको माझमा सब्जी लाइनलाई आधार मानेर बनाएको तर व्यापारिक हिसाबको नभएकाले प्रयोगमा आएन। हामीले अर्को कम्प्लेक्स साढे १० कट्ठामा बनाउन लागेका छौँ। ५ तले कम्प्लेक्स पूर्णरूपमा चलाउँछौँ। त्यसलाई हामी फाइदामा लान्छौँ।’ 

ramkumar thapa - damak nagar pramukh.jpg
दमक नगरपालिकाका मेयर रामकुमार थापा।

वडा नम्बर ६ मा जिल्ला समन्वय समितिले दिएको एक करोडमा नगरपालिकाले दुई करोड ९२ लाख २५ हजार थपेर कम्प्लेक्स निर्माण भएको छ। तीन करोड ९२ लाख २५ हजारमा निर्माण सम्पन्न भएको कम्प्लेक्स भाडामा नलागेपछि एउटा तलामा वडा कार्यालय सञ्चालनमा छ भने बाँकी तला खाली छन्।

पुनः अर्को कम्प्लेक्स निर्माणको अन्तिम तयारी पूरा भएको छ। वडा नम्बर ७ स्थित हाट खोलामा पाँच तले सपिङ कम्प्लेक्स निर्माणका लागि २०७८ चैतमा ४२ करोड ८० लाख ऋण सम्झौता भएको थियो। ७० प्रतिशत नगर विकास कोषले ऋण उपलब्ध गराउने र ३० प्रतिशत नगरपालिकाले बेहोर्ने गरी कम्प्लेक्सको डीपीआर तयार भएको छ। ६१ करोड १४ लाख ३४ हजारमा निर्माण हुन लागेको कम्प्लेक्सले दमकलाई चलायमान बनाउने मेयर थापाको दाबी छ।

damak tower.jpg

बीआरआई परियोजनामा समेटिएको दमक औद्योगिक पार्कमा भने उनी आशावादी देखिएका छन्। रोजगारी र दमकको समृद्धिमा औद्योगिक पार्क फलदायी हुने उनको बुझाइ छ। धेरै सम्भावना भएको क्षेत्र भएपनि सुरुवातदेखि नै मुआब्जालगायत विषय विवादित बनेको थापाले बताए। 

‘दमक नगरपालिका १० नम्बर वडामा चित्तबुझ्दो मुआब्जा वितरण भएको छैन। स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। यस विषयमा सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने, ‘तर हामी आशावादी छौँ। यसले दमकको रूपरेखा बदल्न सक्छ।’

व्यापारिक कम्प्लेक्स नचल्ने दमकमा ‘भ्यू टावर’को बोझ व्यापारिक कम्प्लेक्स नचल्ने दमकमा ‘भ्यू टावर’को बोझ


प्रकाशित : आइतबार, पुस १४ २०८११६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend