बिहीबार , असोज ३ गते २०८१    
images
images

व्यापारिक कम्प्लेक्स नचल्ने दमकमा ‘भ्यू टावर’को बोझ

स्थानीय व्यापारीमा छैन उत्साह, जग्गा कारोबारीलाई मात्र फाइदा

images
बिहीबार , साउन ३१ २०८१
images
images
व्यापारिक कम्प्लेक्स नचल्ने दमकमा ‘भ्यू टावर’को बोझ

भ्यू टावर उद्घाटनको तयारी भइसक्दासमेत वातावरणीय प्रभाव मूल्यांकन भएको छैन। केही महिनाअगाडि निर्माण सम्पन्न भएको टावरको सहरी विकास मन्त्रालयले ईआईए रिपोर्टका लागि कागजात नै पेस नगरेको पाइएको छ।

images
images

इटहरी- झापाको दमक बजार क्षेत्रमा ‘दमक कमर्सियल भवन’ निर्माण भएको तीन वर्ष पूरा भयो। आन्तरिक आम्दानी बढाउने प्रयोजनमा निर्माण भएको भवन अलपत्र अवस्थामा छ। केही तला भाडामा लागेपनि पूर्ण क्षमतामा प्रयोग हुन सकेको छैन। 

images
images
images

दमक नगरपालिका वडा नम्बर ६ को लागि छुट्याइएको एक करोड रुपैयाँ बजेटमा थप गरेर कम्प्लेक्स बनाइएको हो। जिल्ला समन्वय समितिले दिएको एक करोड रुपैयाँमा नगरपालिकाको २ करोड ९२ लाख २५ हजार रुपैयाँ थप भएको छ। ३ करोड ९२ लाख २५ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको कम्प्लेक्स भाडामा नलागेपछि खण्डहर बन्ने अवस्थामा पुगेको छ। 

नगरपालिकाले एक तलाको मासिक ५० हजार रुपैयाँ भाडादर कायम गर्ने निर्णय गरेको छ। २०७८ माघमा कार्यपालिकाबाट भाडदरको निर्णय भएपछि सोही फागुनमा नगरपालिकाले भाडाको आह्वान गरेको थियो तर कुनै व्यापारिक संस्थाले इच्छा व्यक्त गरेनन्। 

भवन खाली भएपछि २०७९ असोजमा मेची आँखा अस्पताल संघलाई पहिलो तला ४० हजार रुपैयाँमै भाडामा दिइएको छ। बाँकी तलाहरू भने कुनै पनि व्यापारिक प्रयोजनमा प्रयोग भएको छैनन्। एउटा असफल अभ्यासपछि पुनः अर्को कम्प्लेक्सको तयारीमा छ नगरपालिका। 

images
complex damak.jpg
चल्न नसकेको ‘दमक कमर्सियल भवन’

वडा नम्बर ७ स्थित हाट खोलामा पाँचतले सपिङ कम्प्लेक्स निर्माणका लागि दमक नगरपालिकाले पूर्वमेयर रोमनाथ ओलीले २०७८ चैतमा ४२ करोड ८० लाख रुपैयाँ ऋण सम्झौता गरेका थिए।

सम्झौताअनुसार उक्त ऋणको आठ प्रतिशत ब्याज नगरपालिकाले तिर्नुपर्ने भएको छ। वार्षिक ८ करोड ३० लाख आम्दानी हुने नगरपालिकाले अनुमान गरेपनि त्यो सम्भव देखिएको छैन। 

आठ कट्ठा जमिनमा ६१ करोड १४ लाख ३४ हजार रुपैयाँमा सपिङ कम्प्लेक्स बनाउने योजना उनै ओलीले अगाडि सारेका हुन्। ७० प्रतिशत नगर विकास कोषले ऋण उपलब्ध गराउने र ३० प्रतिशत नगरपालिकाले ब्यहोर्ने गरी कम्प्लेक्सको डीपीआर तयार भएको थियो। 

काठमाडौंको नवसृजनशील बंगलामुखी जेभीले पाएको कम्प्लेक्स निर्माणको काम आगामी महिनाबाट सुरु हुने प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए। उनका अनुसार ४३ करोड २४ लाखमा ठेक्का सम्झौता भइसकेको छ र केही दिनमै काम सुरु हुने गरी प्रक्रिया अगाडि बढेको छ।  

हालका मेयर रामकुमार थापा भने निर्माणको प्रक्रिया रोक्न नसकेकोप्रति निरीहता प्रकट गर्छन्। कम्प्लेक्सभन्दा पहिलो प्राथमिकता जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताउँदै उनले अघिल्लो कार्यकालमा भएका निर्णयको बोझ यसपटक बोक्नु परेको स्वीकारे।

complex jagga damakj.jpg
पाँचतले सपिङ कम्प्लेक्स निर्माण गरिने भनिएको हाट खोलाको जग्गा। 

भ्यू टावरको नाममा जग्गाको कारोबार 

यस्तोमा नगरपालिकाले मुख्य बजार क्षेत्रमा निर्माण गरेको कम्प्लेक्स नचलिरहेको अवस्थामा 'भ्यू टावर'को बोझ दमकले धान्नुपर्ने अवस्था आएको छ। दमक नगरपालिका-३ टुकुरेमा १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँमा बनेको १८ तले भ्यू टावरको सर्वाधिक फाइदा जग्गा व्यापारीले उठाएका छन्। 

लामो समयदेखि जग्गा कारोबारमा संलग्न केवलप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईँ त्यसका मुख्य हिस्सेदार हुन्। ‘माँ पञ्चकन्या हाउजिङ प्रालि’ कम्पनीमार्फत उनीहरूले जग्गाको विज्ञापन गरिरहेका छन्।

कृषि तथा पर्यटन प्रवर्द्धनको नाममा स्थानीयसँग सस्तोमा जग्गा लिएको कम्पनीले अहिले महँगो मूल्यमा जग्गा बिक्री गर्ने गरेका छन्। उनीहरूले ३ लाख रुपैयाँ कट्ठा किनेको जग्गा अहिले ५ लाख रुपैयाँ धुरमा बिक्री भइरहेको छ। 

कम्पनीबाट भ्यू टावरलाई २०७३ मा ४ विगाह १८ कट्ठा जग्गा प्राप्त भएको थियो। जहाँ थोरै जग्गा दिएर धेरै जग्गाको भाउ बढाउने उपायको भरपुर प्रयोग भएको छ। कम्पनीले स्थानीयको करिब १२ बिगाहा जग्गा सस्तोमा खरिद गरेका थियो। नगरपालिकासँगको सहमतिअनुसार टावरका लागि उपयोग नभएको दुई बिगाहा जग्गा पनि कम्पनीले फिर्ता पाइसकेको छ।

माँ पञ्चकन्या हाउजिङका सञ्चालक टंकप्रसाद सिटौला पर्यटकीय प्रयोजनको लागि खरिद गरेको जग्गा पछि स्थानीय सरकारकै अधिकारीहरूबाट प्रस्ताव आएपछि टावरलाई प्रदान गरेको बताउँछन्। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली (हालका समेत प्रधानमन्त्री) ले दमकमा भ्यू टावर बनाउने उद्घोष गरेपछि जग्गाको खोजी सुरु भएको थियो। ओलीका विश्वासपात्र रोमनाथ ओली मेयर भएको बखत नगरपालिकाकै पहलमा जग्गा खोज्ने काम भयो।

कम्पनीका सञ्चालक र मेयर लामो समयदेखिका साझेदार भएको कारण पनि जग्गामा सेटिङको माहौल बनेको देखिन्छ। कम्पनीले त्यसअघि नै खरिद गरिसकेको दमक-३ को टुकुरे क्षेत्र भ्यू टावर निर्माणको लागि उपयुक्त ठहर्‍याइएपछि सोहीअनुसार काम भएको हो। 

दोस्रोपटक ओली प्रधानमन्त्री भएपछि भ्यू टावर निर्माण प्रक्रिया अघि बढ्यो। ओली पहिलोपटक २०७२ असोज २४ गते देशको प्रधानमन्त्री भएका थिए। त्यसैगरी दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए।

प्रधानमन्त्री ओलीले अहिलेको कार्यकालमा भ्यू टावरको उद्घाटन गर्ने योजनासहित प्रक्रिया अगाडि बढाइरहेका छन्।

टावरले धेरै स्थानीय मजदूर तथा व्यापारीलाई फाइदा दिएको प्रधानमन्त्रीले तर्क गर्दै आएका छन्। अरूलाई त के कति फाइदा भयो देखिँदैन, जति पनि फाइदा छ त्यसमा जग्गा कारोबारीले नै मनग्य कमाइरहेको स्थानीय बताउँछन्।  

damak tower.png

स्थानीय व्यापारीमा छैन उत्साह 

दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोकुल श्रेष्ठ राज्यले व्यापार गर्नेभन्दा पनि व्यापारको वातावरण सृजना गर्नुपर्ने बताउँछन्। टावरको उद्देश्य जे भए पनि यसले दमकको बजारलाई दीर्घकालीन रूपमा फाइदा गर्न नसक्ने उनको तर्क छ। दमकको लागि टावर बोझको रूपमा देखिन सक्ने उनले बताए। 

स्थानीय व्यवसायी सुमन आचार्य टावर निर्माणले दमकलगायत आसपासको बजारको अर्थ-सामाजिक अवस्थामा कुनै फाइदा नपुग्ने बताउँछन्।

समाजको चरित्र बुझेर लगानी गर्नुपर्ने बताउँदै उनले सरकारले भवन बनाउने र बिजनेस गर्नेभन्दा पनि त्यसको वातावरण निर्माण गर्नुपर्ने तर्क गरे।

लोकतान्त्रिक उदारवादको विरुद्धमा सरकार आफै व्यापारी बनेको आचार्यले टिप्पणी गरेका छन्। ठूलो जनसंख्या नभएको क्षेत्रमा टावरलगायत यस्ता सरकारी कम्प्लेक्सका कारण जग्गा कारोबारीलाई मात्र फाइदा पुग्ने उनले बताए। 

कानूनी समस्या 

टावर उद्घाटनको तयारी भइसक्दासमेत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भएको छैन। केही महिनाअगाडि निर्माण सम्पन्न भएको टावरको सहरी विकास मन्त्रालयले ईआईए रिपोर्टका लागि कागजात नै पेस नगरेको पाइएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका प्रमुख सुदीप पौडेलले रिपोर्ट तयार नभएको स्वीकार गरेका छन्। 

उनका अनुसार टावर निर्माण सुरु हुनेबित्तिकै वन मन्त्रालयमा रिपोर्टको लागि पठाएको भए पनि अहिलेसम्म उपलब्धि हात परेको छैन। रिपोर्ट तयार नगरी निर्माण भएपछि वन विभागले निरीक्षण गरेर पत्र पनि काटिसकेको छ।

वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टमात्र होइन अरु कानूनी समस्या पनि त्यत्तिकै छ। टावर प्रयोगको प्रयोजन र सञ्चालनसम्बन्धी कार्यविधि नहुँदा कसरी उपयोग गर्ने भन्ने अन्योल देखिएको छ।

बिनातयारी निर्माण भएको टावर सञ्चालनको कार्यविधि नहुँदा उद्घाटनमा मात्र होइन त्यसपछि सञ्चालनमा समेत समस्या आउने प्रस्ट छ। मन्त्रालयमा सञ्चालन कार्यविधि ड्राफ्ट भइरहेको बताउँदै पौडेलले मन्त्रालयहरूबीच समन्वय भइरहेको जानकारी दिए।  


प्रकाशित : बिहीबार , साउन ३१ २०८११०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend