काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागु गर्न दुई संस्थाबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापश्चात प्रभु महालक्ष्मी इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन्।
यसअन्तर्गत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनसीएचएल-आईपीएस र आरपीएस प्रणालीमार्फत आफ्ना प्रिमियम भुक्तानीलगायतका विभिन्न संकलनका करोबारहरु तथा एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछन्।
सेवा लाइभ भएसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरुलाई ऋण भुक्तानी गर्न थालिसकेको छ र भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागु हुने योजना रहेको बताइएको छ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका १ सय १० भन्दा बढी गैर-बैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्। यसमार्फत सदस्यहरुले संस्थाहरुको एनसीएचएल-आपीएस र आरपीएस प्रणालीहरुको प्रयोग गर्न सक्नेछन्।
प्रभु महालक्ष्मी इन्स्योरेन्स लाइफले देशभर रहेका आफ्ना शाखामार्फत ग्राहकहरुलाई बीमा सेवाहरु प्रदान गर्दै आइरहेको छ। नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले इन्स्योरेन्सको डिजिटल यात्रामा विशेष सहयोग हुने अपेक्षा गरिएको छ।