काठमाडौं- अमेरिकन डलरको तुलनामा नेपाली रुपैयाँ आज शुक्रबार हालसम्मकै कमजोर बिन्दुमा पुगेको छ। आज शुक्रबार १ अमेरिकी डलरको बिक्री दर हालसम्मकै उच्च १३६.७६ रुपैयाँ पुगेको छ। बिक्री दर १३६.१३ रुपैयाँ छ। यो हालसम्मकै उच्च विनिमय दर हो।
अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचन डोनाल्ड ट्रम्पले जितेपछि अमेरिकी स्वामित्व र प्रभाव भएका सम्पत्तिको मूल्यांकनमा उछाल आउनेक्रम जारी छ। डलरदेखि क्रिप्टोसम्मका मूल्य सूचकमा उछाल आइरहेको छ।
ट्रम्पले चरम संरक्षणवाद लागु गरेर अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने पैरवी गरेकाले पनि डलर बलियो बन्दै गएको छ। डलर बलियोमात्र होइन अझै बलियो बन्ने सम्भावना देखिएको छ।
भारतीय रुपैयाँ कमजोर बन्द त्यसको सिधा प्रभाव नेपाली रूपैयाँमा देखिन्छ। भारतीय मुद्रा पनि दिन प्रतिदिन कमजोर हुँदै आएको छ।
विदेशी विनिमयका लागि नेपाली रुपैयाँ भारुसँग पेग छ। पछिल्ला दिनमा भारुको अवमूल्यन तीव्र छ। यही कारणले गर्दा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। भारतीय मुद्रा अमेरिकी डलरसँगको तुलनामा निरन्तर कमजोर हुँदै आएको छ। यो समस्या भारूको मात्र होइन संसारका धेरै मुद्राको तुलनामा डलर बलियो भइरहेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी विनिमय दरअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको बिक्री दर बिक्रीदर उच्च १३६.७६ रुपैयाँ पुगेको छ। बिक्री दर १३६.१३ रुपैयाँ छ। यो हालसम्मकै उच्च विनिमय दर हो।
नेपाली रुपैयाँ कमजोर हुँदा नेपालमा मूल्यवृद्धि झनै बढ्छ। अधिकांश उपभोग्य वस्तुको आयात हुने भएकाले डलर महँगो हुँदा मूल्य बढ्ने, व्यापार घाटा विस्तार हुने हुन्छ। यसको असर चालुखाता घाटासम्म पुग्ने गरेको छ।
निर्यात नगन्य भएकाले डलरको मूल्य बढ्दा रेमिट्यान्सबाहेक अरु कुनै पनि लाभ हुँदैन। डलरको भाउ बढ्दा यसको असर आयातमा देखिन्छ। आयातमा प्रतियुनिट मूल्यमा अत्याधिक वृद्धि हुन्छ। भारतबाटै धेरै आयात गर्ने भएपनि भारतसँगको कारोबारमा भारु नै प्रयोग गरेपनि डलर तिरेर नै डलर खरिद गर्नुपर्छ।
त्यस्तै यसको अर्को असर भनेको विदेश पढ्न जाने नेपाली, घुम्न तथा उपचारका लागि जानेहरूका लागि खर्च अझै बढ्छ। सरकारले ऋणको साँवा तथा ब्याज भुक्तानी गर्दा पनि भार थपिन्छ। यद्यपि ऋणको बोझ धेरै नभएकाले यसको असर धेरै छैन।
नेपालका लागि यसको लाभ भनेको रेमिट्यान्स हो। रेमिट्यान्स पाउने परिवारले बढी नेपाली रुपैयाँ पाउँछन्। डलरको भाउमा भएको वृद्धिअनुसार उनीहरूले यहाँ नेपाली रुपैयाँमा धेरै भुक्तानी पाउँछन्। योबाहेक लाभभन्दा हानी धेरै रहेको छ।
भारतीय अर्थतन्त्र यसको ठूलो दबाबमा परेको छ। ठूलो मात्रामा ऊर्जा आयात गर्ने भारतका लागि पुँजी पलायन अर्को टाउको दु:खाइ बनेर थपिएको छ। पछिल्लो अवस्थासँग जुध्नका लागि भारतीय केन्द्रीय बैंकले केही नीति अघि सारेको छ।
नेपालले वैदेशिक ऋणको भुक्तानीको दायित्वमा केही वृद्धि भएपनि समग्रमा आयात घट्ने र रेमिट्यान्स बढ्ने हुँदा डलरको आकासिँदो मूल्यवृद्धिको प्रभाव त्यति धेरै छैन। आम्दानीको स्रोत रेमिट्यान्स मासिक रुपमा उच्च आइरहेको छ भने भुक्तानी गर्नुपर्ने आयात घटिरहेको छ। यसले गर्दा डलर बलियो हुँदा पहिलेजस्तो असर नपर्ने अधिकारीहरूको भनाइ छ।