मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

समस्याग्रस्त भएसँगै कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोकिने, राष्ट्र बैंकले नेप्सेमा पठायो पत्र

बुधबार, पुस १० २०८१
समस्याग्रस्त भएसँगै कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोकिने, राष्ट्र बैंकले नेप्सेमा पठायो पत्र

बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि सेयर बजारको लगानीकर्तालाई समेत असर गर्ने र उपभोक्ता हितविपरीत हुने भन्दै राष्ट्र बैंकले नेप्सेमा कारोबार रोक्का गर्न पत्र पठाएको राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दयाराम शर्माले बताए।

काठमाडौं- कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार भोलि बिहीबारबाटै रोकिने भएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले कर्णाली डेभलमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै कारोबार रोक्का गर्नका लागि नेपाल स्टक एक्सचेन्जमा पत्र पठाएको छ। 

राष्ट्र बैंकले मंसिर ११ गते कर्णाली बैंकमाथि शीघ्र सुधारात्मक कारबाही थालेको थियो। बैंकमा सुधारको संकेत देखा नपरेपछि बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो। 

बैंकमा समस्या देखिएपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस बैंकको सेयर ८३३ रुपैयाँ प्रतिकित्ता कारोबार भइरहेको छ। हिजो मंगलबारमात्रै यस बैंकको सेयर ३३ रुपैयाँले बढेको थियो। 

बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि सेयर बजारको लगानीकर्तालाई समेत असर गर्ने र उपभोक्ता हितविपरीत हुने भन्दै राष्ट्र बैंकले नेप्सेमा कारोबार रोक्का गर्न पत्र पठाएको राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दयाराम शर्माले बताए। 

'बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेपाल स्टक एक्सचेन्ज(नेप्से) लाई कारोबार रोक्का गर्न राष्ट्र बैंकले पत्र पठाइसकेको छ। भोलिबाटै कारोबार रोक्का हुन्छ' शर्माले भने।

राष्ट्र बैंक ऐनको दफा ८६ (ग) बमोजिम बैंकलाई नियन्त्रणमा लिएको हो। कर्णाली विकास बैंकको व्यवस्थापन सञ्चालनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्था नियमन विभागको उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ। 

वित्तीय संस्था सुपरिवेक्षण विभागका विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक किशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले पुस ११ बाट बैंकको जिम्मेवारी समाल्ने छ। 

व्यवस्थापन समूहले सर्वसाधारणको हित तथा अधिकारको संरक्षण गर्दै बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता राख्ने बताइएको छ।

यस्तै बैंकको 'डियु डेलिजेन्स' सम्पन्न गराउन आवश्यक कार्य गर्नुका साथै वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानूनी प्रकृयामा ल्याउने बताइएको छ। 

कर्णाली विकास बैंकले राष्ट्र बैंकले तोकेबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्न सकेको थिएन। बैंकको निष्कृय कर्जा बढेर ४०.८५ प्रतिशत पुगेका थियो। 

कर्णाली डेभलपमेन्ट बैंक सुधार नहुने तर यसलाई समस्याग्रस्त घोषणा नगर्दा बैंकिङ प्रणालीमा नै असर पर्ने देखिएपछि समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ।

कर्णाली विकास बैंक समस्याग्रस्त, राष्ट्र बैंकले गर्‍यो 'टेकओभर' कर्णाली विकास बैंक समस्याग्रस्त, राष्ट्र बैंकले गर्‍यो 'टेकओभर'


प्रकाशित : बुधबार, पुस १० २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend