काठमाडौं- पछिल्लो समय भिजिबिलिटी पर्याप्त नभएपछि अहिलेको प्रणालीबाट उडान अतवरण प्रभावित हुने देखिएपछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली लागु हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यसका लागि सूचना जारी गरेको छ। ४२ दिन अर्थात् माघ १० गतेदेखिमात्र यो प्रणाली प्रभावकारी हुनेछ। यसमा ८ सय मिटरको भिजिबिलिटीमा पनि अवतरण सम्भव हुनेछ। भूउपग्रहमा आधारित यो नयाँ प्रणालीबाट उडान र अवतरणको नियमन लागु हुँदा भिजिबिलिटीको अवरोध न्यून हुनेछ।
उपकरणको निर्देशनमा आधारित अवधारणामा विकास भएको आरएनपी एआर प्रणाली भीएफआरको विकल्प हो।
जटिल भौगोलिक अवस्था र चरम मौसमी घटना हुने ठाउँमा यस्तो प्रणाली प्रभावकारी मानिन्छ। यसका लागि नेपाली प्राविधिकले तालिम पनि लिइसकेका छन्।