काठमाडौं- सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) आर्थिक संकटमा छ। निगमले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज खरिदका लागि लिएको ऋणको किस्ता र ब्याज तिर्न सकेको छैन। निगमले ऋणको किस्ता र ब्याज आंशिकमात्रै तिरिरहेको छ।
निगमको जहाज उडाएर गर्ने आम्दानी निरन्तर घटेको घट्यै छ। व्यापारसँगै बजार हिस्सा पनि २५ प्रतिशतबाट घटेर १२ प्रतिशतमा आइसकेको छ। जहाज मर्मतमा दुई वर्षदेखि लापरबाही भइरहेको छ। कमिसनको झालो फैलिएको छ।
यस्तो अवस्थामा निगमले वित्तीय व्यवस्थापन तथा ऋण तिर्नकै लागि ऋण दिने वित्तीय संस्थाको खोजी गरिरहेको छ। तर हालसम्म निगमलाई कुनै पनि संस्थाले पत्याएका छैनन्। निगमले तीन पटकसम्म जारी गरेको सूचनामा कसैले पनि नपत्याएपछि फेरि चौथोपटक सूचना जारी गरेको छ।
निगमले २०२५ को ३१ डिसेम्बर ३१ को समयसीमा राखेर ऋण तिर्नकै लागि ऋण खोज्दै सूचना जारी गरेको हो। पटक-पटकको सूचनामा पनि कसैले चासो नदेखाउँदा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी आफूले काम गरिरहेको देखाउन बारम्बार ऋण खोज्ने प्रस्तावको सूचना प्रकाशित गरिरहेका छन्। तेस्रो पटको सूचनामा पनि कसैले चासो नदेखाएपछि फेरि चौथो पटक उनले सूचना जारी गरेका हुन्।
अधिकारीले आर्थिक व्यवस्थापनका लागि काम गरिरहेको देखाउँदै सरकारलाई गुमराहमा राख्न दाताले नै चासो नदिएको बताउँदै बारम्बार सूचना प्रकाशन गरिरहेका छन्।
नेपाल एयरलाइन्सले सार्वजनिक गरेको पहिलो, दोस्रो र तेस्रो सूचनामा १ खर्ब ३५ अर्ब रूपैयाँ बराबरको ऋण दिने संस्थालाई आह्वान गरेको थियो। चौथो पटक पनि त्यसलाई नै निरन्तरता दिँदै सूचना जारी भएको छ।
अहिलेको ऋणको व्यवस्थापन तथा थप जहाज खरिदका लागि वित्तीय स्रोतको आवश्यकता भएको भन्दै एयरलाइन्सले ऋण दिने संस्थाको खोजी गरेको हो।
स्वदेशी तथा विदेशी सरकारी संस्था, गैरसरकारी वित्तीय संस्थाले यो टेन्डरमा प्रस्ताव गर्नसक्ने जनाइएको छ। नेपाल एयरलाइन्सले कुल १ खर्ब ३५ अर्ब ऋण आवश्यक भएको जानकारी दिएको छ। यसरी प्राप्त हुने ऋण ५५ अर्ब अहिलेको ऋण व्यवस्थापनमा प्रयोग हुने र त्यसपछि ७५ अर्ब नयाँ जहाज खरिदका लागि प्रयोग गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै ५ अर्ब ह्यांगर बनाउनका लागि उपयोग गर्ने उल्लेख गरेको छ। तेस्रोपटकसम्म आएको सूचनामा केही पनि परिमार्जन भएको छैन। २५ अर्ब रुपैयाँका लागि परिवर्तन नहुने ब्याजदरमा यस्तो ऋण दिनुपर्ने सर्त राखिएको छ। यद्यपि ब्याजदर तथा विदेशी मुद्राको सटहीदर सरकारले स्वीकृत गरेअनुसार हुने उल्लेख गरिएको छ।
ऋणको सुरक्षणका रुपमा नेपाल एयरलाइन्सले आफ्नो जहाज तथा परियोजना र भौतिक सम्पत्ति राख्न सकिने वा ऋणदाताले माग गरेअनुसारको हुने उल्लेख गरेको छ।
नेपाल एयरलाइन्ससँग हाल दुईवटा एयरबस ३३० र दुईवटा ३२० जहाज छन्। १० गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सले २ वटा जहाजबाट आन्तरिक उडान गर्दै आएको छ। तर आन्तरिक उडानमा रहेको एउटा ट्वीनअटर जेठ २३ गते ग्राउन्डेड छ।
एयरबसका चारवटा जहाज खरिद गर्दा नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋण भुक्तानीमा समेत निरन्तर समस्या भइरहेको छ। नेपाल एयरलाइन्सलाई सरकारी स्वामित्वका यी संस्थाले ऋण दिन नसक्ने बताइरहेको समयमा अहिले विदेशी संस्थाबाट ऋण लिन खोजेको हो। यता निगमको आम्दानी पनि घट्दो छ। ऋणमात्रै ५४ अर्ब रुपैयाँ हाराहारीमा पुगेको छ।