काठमाडौं- नेपाल टेलिकमको फोरजी नेटवर्कको गुणस्तरलाई खस्काउने काम गरेको हुवावेलाई फेरि बिलिङ प्रणालीको प्रविधिमा छिराउनका लागि चोख्याउने चलखेल भइरहेको छ।
कोर र र्यानमा यसअघि नै हुवावेको प्रविधि रहेको नेपाल टेलिकममा बिलिङमा पनि छिराउनका लागि फोरजीको बद्मासीबाट द्रुतमार्गबाट उन्मुक्ति दिने तयारी जोडतोडका साथ चलिरहेको छ। नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक आएपछि यसले तीव्रता पाएको हो।
यसअघि भएको टेन्डरमा एउटामात्र कम्पनीको प्रस्ताव परेको भन्दै रद्द गरेको टेलिकमले नयाँ टेन्डरका लागि फेरि अध्ययन समिति बनाएर लम्ब्याउन खोजेको छ भने अर्कोतिर हुवावेलाई यही बीचमा चोख्याउने खेल भइरहेको छ।
नेपाल टेलिकमको फोरजी नेटवर्कका लागि पूरै काम नगरी परियोजना क्लियरेन्सको प्रमाण नलिँदासम्म हुवावेका लागि बिलिङमा प्रतिस्पर्धी हुने सम्भावना न्यून भएपछि त्यसअघि नै चोख्याउनका लागि अहिले समिति बनाइएको छ।
फोरजी नेटवर्कको कभरेज बढाउनका लागि आवश्यक पर्ने स्मल सेल जडान नगरेकोमात्र होइन गर्न नसक्ने भन्दै हुवावेले पन्छिनका लागि प्रयत्न गर्दै आएको थियो। राजनीतिक तहबाटै दबाब बढाएपनि अख्तियारको डरले यसअघि निर्णय भएको थिएन। तर अब सबैतिरबाट संरक्षण हुने आश्वासन पाएपछि टेलिकमले हुवावेलाई स्मल सेल जडान नगरी परियोजना सम्पन्नताको प्रमाण दिने तयारी अघि बढाएको छ।
स्मल सेल जडान नगरे पनि हुने भन्ने खालको सुझाव दिनका लागि भन्दै कर्मकान्डी अध्ययन समिति बनाएर यो काम गर्न लागिएको छ। ‘यो सबै बिलिङमा हुवावेलाई योग्य बनाउनका लागि खेल हुँदैछ’ टेलिकमनिकट स्रोतले भन्यो।
टेलिकमको फोरजीको गुणस्तरमा सम्झौता गर्ने कम्पनीलाई उन्मुक्ति दिएर बिलिङमा छिराएर पूर्णरुपमा भेन्डर लक गराउने खेलमा अहिलेको व्यवस्थापन लागिरहेको छ।
नेपाल टेलिकमको फोरजी विस्तारमा हुवावे मुख्य कम्पनी रहेको सीसीएसआईको मुख्य बद्मासी हो। कम्पनीले ६ हजार स्मल सेल उपकरण जडान गर्नुपर्ने गरी सम्झौता गरेको थियो। जसमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको काम नगरेको हो। जुन उपकरण जडान नहुँदा टेलिकमको फोरजी सेवाको गुणस्तर नै खस्किएको छ।
ठूला टावरको अन्डर ग्राउन्ड तथा पुछारको तलामा फोरजी सेवाले काम गरेको छैन। सम्झौतामा फोरजी पूर्वाधार तथा अन्य काम सकिएपछि कभरेज क्षमताको अध्ययन गरी स्मल सेल जडान गर्नु पर्ने विषय थियो। टेन्डर गर्दा नै ६ हजारको हाराहारीमा स्मल सेल जडान गर्नु पर्ने अवस्था रहेको प्रारम्भिक अध्ययनबाट देखाएपछि सोहीअनुसार सम्झौता भएको थियो।
टेलिकमले फोरजीका लागि १८ सय र २३ सय मेघाहर्ज ब्यान्डबाट फ्रिक्वेन्सी पाएको छ। स्मल सेल जडान गर्नुपर्ने २३ सय मेगाहर्ज ब्यान्डका लागि हो। टेलिकमले उक्त काम फत्ते नभएको भन्दै फोरजी विस्तारको अरु सबै काम सकिए पनि क्लियरेन्स दिएको छैन। टेलिकमले १९ अर्ब रुपैयाँभित्रबाट ६ सय ४० वटा बीटीएस टावर निर्मााणदेखि करिब ६ हजार वटा स्मल सेल जडान गर्नेगरी सम्झौता गरेको थियो।
टेलिकम कम्पनीमा मुख्यगरी दुई भाग हुन्छन्। लाइन एक्सिन नेटवर्क (जसमा कोर प्रणालीसँगै पावर, प्रसारण हुन्छन्) र रेडियो एक्सिस नेटवर्क हुन्छन्। कोर प्रणाली भनेको हरेक गतिविधिको व्यवस्थापन र भण्डारणको काम हुन्छ भने नेटवर्कबाट फ्रिक्वेन्सी प्रसार हुन्छ।
यी दुईवटै प्रणालीमा हुवावेकै प्रविधिको वर्चश्व रहेको छ। नेपाल टेलिकमको फोरजीको कोर नेटवर्क प्रणालीबाहेक हुवावेकै प्रविधि रहेको छ। फोरजीको कोरमा भने चिनियाँ कम्पनी जेटटीईको रहेको छ।
बिलिङसमेत हुवावेले लियो भने नेपाल टेलिकमको पूर्ण प्रणाली हुवावेको कब्जामा जाने निश्चित देखिएको छ। यसअघि डिल्लिराम अधिकारी प्रबन्ध निर्देशक हुँदा बिलिङ प्रणाली अघि बढाउन खोज्दा यसअघि कम्पनीको अरु प्रविधिमा भाग लिएको कम्पनीले बिलिङमा भाग लिन नपाउने व्यवस्थासहित टेन्डर गर्न दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको थियो। उक्त व्यवस्था हटाउन हुवावेका प्रतिनिधिले प्राधिकरणलाई दबाब दिएका थिए।
एउटा कम्पनीको प्रविधिको वर्चश्वले गर्दा एकातिर कम्पनीको व्यापारिक रणनीति पूर्णतया असफल भएको देखिन्छ भने अर्कोतिर चरम जोखिमपूर्ण हुने व्यवसायीहरू बताउँछन्। जब कि निजी कम्पनीहरूले भने प्रविधिमा 'मिक्स' गरेका छन्।
नेपाल टेलिकमको फोरजीको गुणस्तरमा खेलबाड गर्ने हुवावेलाई उन्मुक्ति दिने तयारी