शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्लोबल आईएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

शनिबार, मंसिर १५ २०८१
ग्लोबल आईएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ।

काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे।

ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। 

बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको जनाएको छ। 'बैंकले खेलकुदलाई अझ उचाइमा पुर्‍याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौँ,' उक्त कार्यक्रममा पोखरेलले भने।

शाहले रोयल्सको एनपीएल यात्रामा सहकार्य गर्ने उद्देश्यले ग्लोबल आईएमई बैंक जोडिएकोमा बैंकलाई धन्यवाद व्यक्त गरे। 'हाम्रो उपाधि जित्ने लक्ष्यमा ग्लोबल आईएमई बैंकको साथले थप बल पुगेको महसुस हामीले गरेका छौँ। आशा छ हामीले उपाधि जितेर थप खुशी दिनेछौँ,' शाहले भने।

क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुनेछ। सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन्। सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ।

सुदूरपश्चिमको टिममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाष बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन्।


प्रकाशित : शनिबार, मंसिर १५ २०८११४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend