काठमाडौं- सोमबार प्रतितोला १५ हजार ९ सय रूपैयाँले घटेको सुनको मूल्यमा मंगलबार पनि गिरावट आएको छ।
यो साता आइतबार प्रतितोला एक हजार सातसय रूपैयाँले बढेको सुनको मूल्यमा सोमबार भारी गिरावट आएको थियो। मंगलबार पनि सुन प्रतितोला दुई हजार ६ सय रूपैयाँले घेटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार सातसय रूपैयाँ तोकिएको छ।
सोमबार प्रतितोला एक हजार ८ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला एक हजार ८ सय २० रूपैयाँ कायम छ। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रूपैयाँले सस्तिएको हो।
गएको बिहीबारको मन्त्रिपरिषदको बैठकले सुन र चाँदीकोको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेको थियो। सरकारले भन्सार मूल्य घटाएसँगै दुई दिनमा सुन प्रतितोला १८ हजार पाँचसय रूपैयाँले घटेको छ।
यसअघि सुनको भन्सार २० प्रतिशत थियो भने चाँदीको पनि २० प्रतिशत नै थियो।
गएको कात्तिक १५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।