सोमबार, मंसिर १० गते २०८१    
images
images

आन्तरिक विमानस्थल विकास र स्तरोन्नतिका लागि २ अर्ब १२ करोड, कुन विमानस्थलमा कस्ता संरचना निर्माणमा कति बजेट?

images
सोमबार, मंसिर १० २०८१
images
images
आन्तरिक विमानस्थल विकास र स्तरोन्नतिका लागि २ अर्ब १२ करोड, कुन विमानस्थलमा कस्ता संरचना निर्माणमा कति बजेट?
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आवको बजेटमार्फत देशभरका आन्तरिक विमानस्थलको स्तरोन्नति तथा विकासका लागि एरोड्रोम इन्जिनियरिङ विभागमार्फत खर्च गर्नेगरी २ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ।

images
images
images

प्राधिकणले विभागमार्फत रन-वे, ट्याक्सी-वे तथा एप्रोन निर्माण र भवन निर्माणका रकम विनियोजन गरेको हो।

images

यसैगरी प्राधिकरणले विभागमार्फत नै परामर्श तथा सल्लाहका लागि १  करोड ४१ लाख ५९ हजार र भवत तथा सडक मर्मत सम्भारका लागि ६६ लाख ३७ हजार रुपैयाँ चालु आवको रकमबाट छुट्याएको छ।

images

उक्त रकममा राष्ट्रिय गौरवअन्तर्गत रहेका पोखरा, गौतम बुद्ध र निजगढ विमानस्थल समावेश रहेका छैनन्। समग्रमा आन्तरिक विमानस्थलको विकास तथा स्तरोन्नतिका लागि एरोड्रोम इन्जिनियरिङ विभागमार्फत खर्च हुनेगरी २ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको छ।

प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को लागि ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँ बजेट तथा कार्यक्रमलाई स्वीकृति प्रदान गरेको थियो।  

स्वीकृत बजेटमा कुल व्यय ३४ अर्ब १२ करोड १६ लाखमध्ये पुँजीगततर्फ ११ अर्ब ५२ करोड २५ लाख, कार्य सञ्चालनतर्फ ६ अर्ब ५२ करोड ७१ लाख र मुअकर तथा अन्य वित्तीय व्यवस्थासमेत गरी १६ अर्ब ७ करोड २० लाख व्यवस्था भएको छ।

जसअनुसार पुँजीगत तर्फ ३३.७७ प्रतिशत, कार्य सञ्चालनतर्फ १९.१३ प्रतिशत र मुअकर तथा अन्य व्यवस्थाको लागि ४७.१० प्रतिशत छुट्याइएको छ।

कुन विमानस्थललाई कति बजेट?

प्राधिकरणअन्तर्गतको एरोड्रोम इन्जिनियरिङमार्फत चालु आवको बजेटमा सिमरा विमानस्थलमा एक्सेस रोड तथा धानवमार्ग, ट्याक्सीवे ओभरले (बहुवर्षीय आयोजना) का लागि १ करोड ८४ लाख ८४ हजार ७ सय ७८ रुपैयाँ छुट्याइएको छ।

उक्त काम आर्थिक वर्ष २०७९/०८० बाट नै सुरु भएको हो। प्राधिकरणले ७ करोड ९५ लाख ९९ हजार ९ सय ५९ रुपैयाँ (भ्याटबाहेक) मा काम गर्नेगरी कम्पनी छनोट गरेको थियो।

प्राधिकरणले रारा विमानस्थलमा धावन मार्ग विस्तार, ट्याक्सीवे सुधारका लागि बहुवर्षीय आयोजनाअन्तर्गत काम गरिरहेको छ।

उक्त काममा लागि प्राधिकरणले चालु आवको बजेटमार्फत ४ करोड ४४ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको छ। २०७७/०७८ देखि काम भइरहेको र २२ करोड २५ लाख ४८ हजार रुपैयाँका काम सम्पन्न गर्ने गरी कम्पनी छनोट भएको थियो।

प्राधिकरणले यसैगरी विराटनगर विमानस्थलमा धावनमार्ग विस्तार र ट्याक्सीवे सुधारका लागि पनि चालु आवको बजेटमार्फत ४ करोड ४० लाख १९ हजार रुपैयाँ विनियोजन गरेको छ। यसमा २०७९/८० मा नै १४ करोड ९६ लाख ३३ हजार रुपैयाँका काम गर्ने गरी कम्पनी छनोट गरेको थियो।

प्राधिकरणले डोल्पाको जुफाल विमानस्थल स्तरोनन्नतिको कामसमेत गरिरहेको छ। विमानस्थल स्तरोन्नतिका लागि २०७९/०८० मा नै ५ करोड ७७ लाख ८४ हजार रुपैयाँमा कम्पनी छनोट गरेर काम गरिरहेको छ। यसका लागि चालु आवमा २६ लाख ५४ हजार रुपैयाँ बजेट प्राधिकरणले विनियोजन गरेको छ।

यसैगरी प्राधिकरणले उदयपुरको सगरमाथा विमानस्थल निर्माणका लागि पनि ४४ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको छ। तर नेपाल सरकारबाट विमानस्थल निर्माणको निर्णय हुन भने बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सुर्खेत विमानस्थलमा ट्याक्सीवे मर्मतका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी प्राधिकरणले महेन्द्ननगर विमानस्थल सुदृढीकरणका लागि ५ करोड ८ लाख ८४ हजार रुपैयाँ विनियोजन गरेको छ। महेन्द्रनगर विमानस्थल सुदृढीकरणका लागि संघीय सरकारबाट १० करोड, सुदूरपश्चिम सरकारबाट ८ करोड ७५ लाख र नगरपालिकाबाट ८ करोड ७५ लाखको बजेटमा काम गर्ने समझदारीसमेत भइसकेको छ। २०७७/०७८ देखि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा काम गर्ने गरी कम्पनी छनोट भएर काम भइरहेको छ।

यसैगरी भरतपुर विमानस्थल सुदृढीकरणका लागिसमेत प्राधिकरणले ३९ करोड ८२ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ। जुन रकम नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थान्तरणसम्बन्धी स्रोत व्यवस्था प्रतिवद्धतासमेतका लागि भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले चालु आवकै बजेटमार्फत महेन्द्रनगर विमानस्थलको चेनलिङ फेंसिङका लागि ८ लाख रुपैयाँ विनियोजन गरेको छ।

विभागअन्तर्गत नै काम गर्नेगरी प्राधिकरणले रोल्पा बडाचौर विमानस्थल स्तरोन्नति कार्यका लागि ८ करोड ८४ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ। तर त्यसका लागि नेपाल सरकारको निर्णय आवश्यक पर्ने प्राधिकरणले जनाएको छ।

यसैगरी सिमिकोट विमानस्थलको एप्रोन विस्तारका लागि २ करोड २१ लाख २३ हजार र खिजी चण्डेश्वरी विमानस्थल सुदृढीकरणका लागि समेत १० लाख रुपैयाँ प्राधिकरणले चालु आवको बजेटमार्फत विनियोजन गरेको छ।

साथै प्राधिकरणले रनवे सेक्युरेटी फेंसिङ रुकुम सल्ले विमानस्थललाई ७६ लाख ६७ हजार, भरतपुर विमानस्थलको चेनलिङ फेंसिङ निर्माणका लागि ५५ लाख २० हजार, भोजपुर विमानस्थलको चेनलिंक फेंसिङ निर्माणका लाग ११ लाख ८९ हजार रुपैयाँ र तुम्लिङटार विमानस्थलको पनि चेनलिंक फेंसिङ निर्माणलगायतका काममा लागि ५२ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले १६ वटा शीर्षकमा आन्तरिक विमानस्थको रनवे, ट्याक्सीवे तथा एप्रोनलगायतको कामका लागि चालु आवको बजेटमार्फत ६९ करोड ९६ लाख ७६ हजार ६ सय ७७ रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी प्राधिकरणले भवन निर्माणतर्फ आन्तरिक विमानस्थलहरूका लागि १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले चालु आवको बजेटमार्फत रारा विमानस्थलको टर्मिनल भवन निर्माणका लागि ४४ लाख २४ हजार ७ सय ७८ रुपैयाँ विनियोजन गरेको छ। रारा विमानस्थलमा टर्मिलन भवन निर्माणको काम जारी छ। भवन निर्माणका लागि ८ करोड ६५ लाख ९ हजार रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भइ २०७५/०७६ देखि काम भइरहेको छ।

यसैगरी प्राधिकरणले चितवनको भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणका लागि २६ करोड ५४ लाख ८६ हजार रुपैयाँ विनियोजन गरेको छ। बहुवर्षीय आयोजनाअन्तर्गत भरतपुर विमानस्थलमा आधुनिक सुविधासम्पन्न टर्मिनल भवन निर्माणको काम जारी छ। भवन निर्माणका लागि १ अर्ब ९२ करोड ७० लाख रुपैयाँका निर्माण कम्पनीसँग सम्झौता भइ काम भइरहेको छ।

प्राधिकरणले विराटनगर विमानस्थलमा समेत आधुनिक सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिरहेको छ। ३ अर्ब १२ करोड ९९ लाख रुपैयाँमा भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भइ काम भइरहेको छ। उक्त कामका लागि पनि प्राधिकरणले चालु आवको बजेटमार्फत ४४ करोड २४ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ।

आन्तरिक स्रोतबाट नै नेपालगञ्ज विमानस्थलमा पनि आधुनिक टर्मिनल भवन निर्माणको काम भइरहेको छ। ३ अर्ब ९ करोड रुपैयाँ खर्चेर नेपालगञ्ज विमानस्थलमा टर्मिनल भवन निर्माणको काम भइरहेको छ। उक्त कामका लागिसमेत प्राधिकरणले चालु आवको बजेटमार्फत ४६ करोड ७४ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले यसैगरी डोटी विमानस्थलको टर्मिनल भवन निर्माणका लागि ८ लाख ८४ हजार, भोजपुर विमानस्थलको टर्मिनल तथा टावर भवन निर्माणका लागि ४४ लाख २४ हजार रुपैयाँ चालु आवको बजेटमार्फत विनियोजन गरेको छ।

प्राधिकरणले केन्द्रीय कार्यलयको थप संरचना निर्माणका लागि १ करोड १४ लाख ९६ हजार, सिमिकोट विमानस्थलका लागि ३० लाख ९९ हजार र नलिनचोक हेलीपोर्डका यात्रु सहजताका लागि संरचना निर्माणका लागि १० लाख ६७ हजार रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले सुर्खेत विमानस्थलमा भीआईपी र एयरलाइन्स कार्गो अफिस निर्माणका लागि १ करोड ३२ लाख ७४ हजार रुपैयाँ चालु आवको बजेटमार्फत विनियोजन गरेको छ।

प्राधिकरणले केन्द्रीय कार्यालयमा फायर बिल्डिङ तथा बाथरुमलगायतको संरचना निर्माणका लागि १४ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ।

प्राधिकरणले नलिनचोक हेलिपोर्डमा प्रहरी आवास निर्माणका लागि ४४ लाख २४ हजार, सानोठिमीमा रहेको प्राधिकरणको अफिसमा आवश्यक संरचना निर्माणका लागि ७१ लाख ९० हजार रुपैयाँ, सिनामंगलमा रहेको अफिसमा संरचना निर्माणका लागि १ करोड ३२ लाख ७४ हजार र प्राधिकरणको बहरमहलमा प्रस्तावित नयाँ संगठनका लागि संरचना निर्माणका लागि ५० लाख रुपैयाँसमेत प्राधिकरणले चालु आवको बजेटमार्फत गर्नेगरी विनियोजन गरेको छ। 

यसैगरी प्राधिकरणले चालु आवको बजेटमार्फत नै सानोठिमीमा होस्टेल निर्माणका लागि १० लाख, राजविराज विमानस्थलमा यात्रु प्रतिक्षालय भवन तथा चमेनागृह निर्माणका लागि १२ लाख ५१ हजार र सुर्खेत विमानस्थलमा फायर फाइटिङ सर्भिसका लागि आवश्यक संरचना निर्माणका लागि २ करोड  २५ लाख रुपैयाँ विनियोजन गरेको छ।

यसैगरी लुक्ला विमानस्थलमा शौचालयलगायतका संरचना निर्माणका लागि ८८ लाख ४९ हजार र बाजुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ।


प्रकाशित : सोमबार, मंसिर १० २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend